‘औद्योगिकीकरणका लागि भूमिको व्यवस्थापन जरुरी’
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले औद्योगिकीकरणका लागि भूमिको व्यवस्थापन जरुरी भएको बताएका छन्।
गत फागुन १६ गते माधवप्रसाद बरालको कृति भूमि चिन्तनमाथि चर्चा गर्दै भट्टराईले यस्तो बताएका हुन्। कृषि र उद्योग समानान्तर रूपमा रहने हुँदा दुवैको विकासका लागि भूमि नीतिको सुनिश्चितता गर्नुपर्ने उनको धारणा थियो।
राज्यले उत्कृष्ट भूमि नीति तयार गर्नुपर्ने बताउँदै भट्टराईले नेपाल कृषि क्रान्तिबाट मात्र समृद्ध हुन सक्ने बताए। यसका लागि भूमि व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। भट्टराईले भूमि व्यवस्थापनका लागि कानून र संविधान समेत संशोधन गर्नुपर्ने विचार व्यक्त गरे।
यस ‘पुस्तक परिचर्चा कार्यक्रम’ मा नेपाल सरकारका पूर्व सचिवद्वय कृष्णचन्द्र पौडेल र किशोर थापाले पनि पुस्तकको विवेचना गरेका थिए।
नेपाल सरकारका निवृत्त वन संरक्षणकर्मी तथा अनुसन्धाता बरालले यस कृतिबाट राष्ट्रलाई ठूलो योगदान दिएको सचिव पौडेलले बताएका थिए। यस्तै, थापाले पुस्तकमा उठाएको भूमिको स्वामित्वबारेको प्रश्न जायज रहेको र सो प्रश्नको उत्तर खोज्नु अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।