राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता
संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यस लगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि फागुन २९ गते निर्वाचन हुँदै छ।
यसअघि नेकपा (एमाले)का सांसद गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ।
अध्यक्ष तिमिल्सिनासँगै १९ जना सांसदको पदावधि पनि सकिएको थियो। रिक्त स्थानमा नयाँ सांसद निर्वाचित भएर आइसकेका छन्।
अहिले राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी (जसपा)का तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक जना सांसदको मनोनयन हुन बाँकी छ। यसअघि मनोनीत सांसद विमला पौड्याल राईको पदावधि सकिएको थियो।
सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ। त्यस्तै, कांग्रेसले पनि उम्मेदवारी दिने निर्णय गरेको छ। दुवैतर्फ उम्मेदवारको तय हुन भने बाँकी नै छ।