बदलिएको परिस्थिति अनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको परिस्थितिमाझ ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले सरकारको न्यूनतम नीति तथा कार्यक्रम अनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए। “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिंगो कर्मचारितन्त्रलाई ‘गाइडलाइन’ हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “विगतको कार्यक्रमकै वरिपरि हुने गरी चाँडै कार्यक्रम आउनेछ। सोही अनुसार काम गर्नुपर्नेछ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको लक्ष्य अनुसारको कार्यसम्पादन प्रगति सम्बन्धमा मासिक रूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो। राष्ट्रिय गौरवका आयोजना नियमित गर्न कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए।
समग्र कर्मचारितन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिंदै दाहालले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने बताए। “तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ। त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री दाहालले भने, “यो कार्यालय अनुगमन गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील हुन जरुरी छ।”
आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयलाई आफ्नो कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा कम्तीमा ८० प्रतिशतसम्म प्रगति हुने गरी काम गर्न निर्देशन दिए। -रासस