मूल्यवृद्धि पाँच प्रतिशत, विदेशी मुद्रा थपिएको थपियै
माघमा मूल्यवृद्धि दर पाँच प्रतिशतमा सीमित भएको छ।
नेपाल राष्ट्र ब्यांकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार मूल्यवृद्धि विगतका तुलनामा घटेको छ। गत वर्षको यही अवधिमा मूल्यवृद्धि दर ७.८८ प्रतिशत थियो।
गत पुसमा मूल्यवृद्धि दर ५.२६ प्रतिशत थियो। गत आर्थिक वर्षभरि उच्च रहेको मूल्यवृद्धि दर गत कात्तिकयता पाँच प्रतिशत हाराहारीमा छ।
सरदर मूल्यवृद्धि दर घटेको देखिए पनि दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धि भने उच्च नै छ। राष्ट्र ब्यांकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मूल्य एक वर्षअघिको तुलनामा ६.५१ प्रतिशतले बढेको छ। यद्यपि गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत मात्रै छ। खाद्यवस्तुको मूल्यवृद्धि उच्च हुँदा न्यून आय हुने र आम्दानीको अधिकांश हिस्सा खानामा खर्च गर्नुपर्ने समूह बढी मर्कामा पर्छन्।
माघमा मरमसलाको मूल्य ३२.११ प्रतिशतले बढेको छ। त्यस्तै, दाल तथा गेडागुडीको मूल्य ११.१५ प्रतिशत, दूध र अन्डाको मूल्य १०.७८ प्रतिशत र तरकारीको मूल्य ७.५८ प्रतिशतले बढेको छ। तर घ्यू तथा तेलको मूल्य १२.३३ प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृतिको मूल्य १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको मूल्य ९.१५ प्रतिशत र शिक्षाको मूल्य ७.३१ प्रतिशतले बढेको छ। तर यस अवधिमा यातायातको मूल्य १.४१ प्रतिशतले घटेको छ।
माघ महीनामा तलब तथा ज्यालादर अघिल्लो वर्षको तुलनामा ५.५६ प्रतिशतले बढेको छ।
राष्ट्र ब्यांकका अनुसार रेमिटेन्स लगातार बढिरहेका कारण देशको अर्थतन्त्रको एउटा हिस्सा बलियो अवस्थामा पुगेको देखिएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स माघमा २१.६ प्रतिशतले बढेर आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यस वर्षको माघसम्म थप चार लाख पाँच हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
रेमिटेन्स पर्याप्त थपिएका कारण देशमा वैदेशिक मुद्राको सञ्चिति पनि बढेको छ। माघसम्म १३ अर्ब ८९ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ। यो गत असार महीनाको तुलनामा १८.६ प्रतिशत धेरै हो। यो सञ्चितिले एक वर्षभन्दा पनि बढी अवधिको आयात धान्न पुग्छ। यसले देशमा विदेशी मुद्रा पर्याप्त जम्मा भइरहेको संकेत गर्छ।
केन्द्रीय ब्यांकका अनुसार देशको वैदेशिक कारोबारलाई देखाउने चालू र शोधनान्तर दुवै खाता माघसम्म बचतको अवस्थामा छन्। यसले देशमा बाहिरिनेभन्दा भित्रिने रकम धेरै भइरहेको बुझाउँछ। माघमा देशको चालू खाता एक खर्ब ६१ अर्ब रुपैयाँले बचतमा छ। त्यसैगरी, शोधनान्तर खाता दुई खर्ब ९७ अर्ब रुपैयाँले बचतमा छ।
माघसम्म नेपालले ८६ अर्ब ८३ करोड रुपैयाँ मूल्यको वस्तु निर्यात गरी आठ खर्ब ९८ अर्ब रुपैयाँ मूल्यको वस्तु आयात गरेको छ। गत वर्षदेखि नै आयात र निर्यात दुवै शिथिल छ।