करफोकमा नेपथ्य गुन्जिने
लोकरक ब्यान्ड नेपथ्यले इलामको करफोकस्थित करफोक विद्यामन्दिर परिसरको रमणीय पाखामा चैत ३ गते कन्सर्ट गर्ने भएको छ।
सूर्योदय नगरपालिकास्थित करफोक साहित्य-कलाको हिसाबले ऐतिहासिक थलो हो। काठमाडौं उपत्यका बाहिर ठूला साहित्यिक कार्यक्रम विरलै हुने समयमा २००९ सालमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछाने लगायतका साहित्यकारहरू भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ भएको इतिहास छ।
करफोक विद्यामन्दिर अर्को ऐतिहासिक महत्त्व राख्ने ठाउँ हो। कुनै समय आयामेली लेखक इन्द्रबहादुर राई, प्रखर कला समीक्षक नारायणबहादुर सिंह जस्ता हस्तीहरू प्रधानाध्यापक रहेको तथा अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको उक्त विद्यालयको शिलान्यास २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए।
मेची राजमार्गसँगै जोडिएको उक्त विद्यालय फिक्कल भएर इलाम बजारतर्फ जाँदा बाटैमा पर्छ। नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ राजमार्ग भएर यात्रा गर्दा चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको उक्त पाखामा एक पटक कन्सर्ट गर्ने धेरै पहिलेदेखिको इच्छा पूरा गर्ने मेसो इलामका साथीहरूले मिलाएकोमा खुशी लागेको बताए।
“केही वर्षअघि मात्र करफोक छेवैको फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना अझै ताजा छ," अमृत भन्छन्, “त्यहाँ पुरानो सिनेमाहलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्यमा मग्न आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मीठो लाग्छ।"
इलामको कन्सर्ट त्यहींको न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ हुन लागेको हो। इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष सहित तीनतले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङ कन्सर्टले एकातिर धार्मिक धरोहरको निम्ति कोषको व्यवस्था गर्ने र अर्कोतर्फ संगीतको माध्यमबाट इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास लिएको बताए। कन्सर्टको आयोजना ‘इलाम गुरुङ समाज’ ले गर्न लागेको हो।
विदेशका ठूला शहरहरूमा आयोजना गरिने कन्सर्टको गुणस्तरलाई नेपालका साना गाउँबस्तीमा पनि एकरूपता दिने गरी करफोकमा प्राविधिक पक्षमा उत्तिकै ध्यान दिइने नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अर्पण शर्मा बताउँछन्।
करफोक कन्सर्टमा टिकटको मूल्य एक हजार १०० रुपैयाँ राखिएको छ। पूर्वी नेपालका विभिन्न शहरमा टिकटको बिक्रीवितरण शुरू भइसकेको र अनलाइनमा नेपथ्यको वेबसाइटबाट पनि टिकट किन्न सकिने शर्माले जानकारी दिए।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र कीबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।