नेपाल र हङकङको खेल अवरुद्ध, दुवै टोलीले अंक बाँडे
टी-२० शृंखलाको पहिलो खेलमा नेपाल र हङकङले एक-एक अंक बाँडेका छन्।
पानी परेपछि नेपाल र हङकङको खेल अनिर्णीत भएको हो। जसले गर्दा दुवै टोलीले एक-एक अंक बाँडेका हुन्।
हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले राम्रो शुरूआत गरेको थियो। पाँच ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको अवस्थामा पानी परेको थियो।
केही बेर पानी रोकिएपछि खेल शुरू भएको थियो। थप तीन ओभरको खेल हुँदा फेरि पानी पर्न शुरू भयो। पानी नरोकिएपछि खेल हुन सकेन।
त्यति वेला हङकङले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको थियो। नेपालका लागि करण केसी र गुल्सन झाले एक–एक विकेट लिएका थिए।
यो शृंखला अन्तर्गत मंगलबार दोस्रो खेलमा नेपाल र पपुवा न्यूगिनी प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, तेस्रो खेलमा हङकङ र पपुवा न्यूगिनी प्रतिस्पर्धा गर्नेछन्।