अहिले राजनीति दूषित भइरहेको छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले राजनीति दूषित भइरहेको बताएका छन्।
धर्मलाई राजनीतिसँग जोड्न थालेकाले सामाजिक सद्भाव खलबलिंदै गएको यादवको भनाइ थियो। “कतिपय ठाउँमा राजनीतिका कारणले समेत सामाजिक सद्भावमा समस्या आएको छ,” उनले थपे, “अहिले त राजनीति समेत दूषित भइरहेको छ। जसकारणले समाजमा समस्या आइरहेको छ।”
उनले धर्मलाई राजनीतिभन्दा अलग राख्नुपर्ने बताए। “अहिले त धर्म राजनीतिको माध्यम बनेको छ। भारतमा राम मन्दिरको निर्माण गरेर निर्वाचनको मुद्दा बनाइएको छ,” उनले भने।
समाजलाई असल मार्गमा लैजाने माध्यम धर्म भएको उनको भनाइ थियो। पूर्व राष्ट्रपति यादवले भने, “धर्म समाजलाई असल मार्गमा लैजाने माध्यमका रूपमा रहेको छ। समाजमा देखिएका समस्यालाई समेत धर्मले दिशानिर्देशन गर्नुपर्छ।”
आइतबार धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट १५ दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमाको विधिवत् शुरूआत गरिएको छ। मिथिला बिहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले धर्मलाई सामाजिक समस्या समाधान गर्ने माध्यम बनाउनुपर्ने बताए। धर्मलाई राजनीतिसँग नभई पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ थियो।
मिथिला परिक्रमामा नेपाल र भारतका हजारौं भक्तजन सहभागी हुन्छन्। यो परिक्रमामा विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ। यसका लागि आइनबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका-८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी कीर्तन सहित भक्तजन प्रस्थान गरेका छन्।
कचुरीको मिथिला बिहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरी र रामजानकी सहित जनकपुरको अन्य डोला हनुमानगढीमा एकत्रित हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश शरणले बताए। फागुन २८ गते बिहानै कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् भने फागुन २९ गते भारतको फूलहरस्थित गिरिजा स्थानमा पुगेर विश्राम गरिनेछ। भारतबाट फर्केर फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने शरणले बताए।
त्यस्तै, चैत १ मा जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने चैत २ मा मडै, चैत ३ मा ध्रुवकुण्ड पुगेर विश्राम गरिनेछ। चैत ४ मा कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार होली मनाइनेछ।
चैत ५ मा धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गरिनेछ भने चैत ६ मा धनुषाधाममा धनुष मन्दिर पुगिनेछ। चैत ७ मा सतोखर, चैत ८ मा औरही र चैत ९ मा पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम गरी चैत १० मा बिसौलमा पुगेर विधिवत् रूपमा मध्यमा परिक्रमा समापन हुनेछ। अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त गरिने शरणले बताए।