पूर्वी नेपालका सार्वजनिक सवारीसाधन एउटै कम्पनीमा
काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन अब एउटै कम्पनीबाट सञ्चालन हुनेछन्।
यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधनलाई ‘पूर्व यातायात व्यवस्थापन प्रालि’ मार्फत सञ्चालन गरिएको हो। पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका थिए।
पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्री श्रेष्ठले पछिल्लो समय धराशायी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आजदेखि एउटै व्यवस्थापन मातहत सञ्चालन गर्न थालिएको बताए। एउटै व्यवस्थापनमा अब काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रंगेली, बुधबारे, बनियानी, गाईघाट, लहान लगायतमा सम्बन्धित क्षेत्रमा टिकट काउन्टर मार्फत सवारीसाधन सञ्चालन हुनेछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत देशभरका ३० भन्दा बढी प्रालि मार्फत छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज हुने भएको छ। हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गूगल, विराट, स्वयम्भू न्याशनल, मेची एअर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिम लगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन्।
संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्न पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाइएको छ। पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्न उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए।