फसलसँगै फक्रिएका सपना
घर बाहिर निस्किनै मुश्किल हुने झापाको अर्जुनधाराका महिला पछिल्लो समय भने एकजुट भई कृषिलाई व्यावसायिक बनाएर बारीमा तरकारीसँगै आफ्ना सपना पनि फक्राइरहेका छन्।
दुई दशक अघिसम्म झापाको अर्जुनधारा नगरपालिका-४ की राधिका जबेगूले आफ्ना लागि के गर्ने, के नगर्ने भन्ने भेउ पाएकी थिइनन्। परिवारको खुशी बाहेक उनको छुट्टै कुनै सपना थिएन। सपना र रहर भनेकै दुई सन्तान र श्रीमान्को खुशी नै थियो।
सन्तान हुर्काउँदै घरको काममा व्यस्त रहेकी जबेगूले २०६३ असोजमा थोरै फुर्सद निकालिन्। त्यो समय सम्झिंदै उनी भन्छिन्, “खुदुनाबारीबाट प्रेम गिरी दाइ महिला समूह बनाउने भन्दै हाम्रो गाउँ आउनुभएको थियो, त्यही समूहमा म पनि बसें।”
एसएलसीसम्म अध्ययन गरेकी उनी गाउँको सूर्योदय महिला समूहको नेतृत्व गर्न पुगिन्। “अरूभन्दा दुई-चार अक्षर पढेको भएर म अध्यक्ष भएँ, बोल्न त के जान्नु!” उनी पुराना स्मृति सुनाउँछिन्।
गाउँमा दुई-चार अक्षर पढेका महिला त थिए तर घरबाट निस्किएर हिंड्ने आँट गर्न सकेका थिएनन्। “जान पनि कहाँ जानु?” उनी आफैंलाई प्रश्न गर्छिन्, “जाने भनेको कि मावल थियो कि त माइत, त्यहाँभन्दा टाढा हाम्रो कुनै रहर नै थिएन अनि जाने ठाउँ पनि।”
बल्लतल्ल घरबाट निस्किएर गाउँका महिलाहरू एकै ठाउँमा भेला हुने मेसो मिलेको थियो। समूहको बैठक बसेका वेला नै हो, उनीहरूले आफ्नो नाउँ भन्न जानेको। बैठकमा १५ जनाका अगाडि आफ्नो नाम उच्चारण गर्दा थरर काँपेको जबेगूलाई अहिल्यै जस्तै लाग्छ। “बोल्न खोज्दा बोली नै रोकिए जस्तो हुन्थ्यो, शब्दको अनिकाल लागे जस्तै,” उनी हाँस्दै भन्छिन्, “अहिले बोली निस्कन्छ, शब्द आफैं फुर्छन्।”
यो डेढ दशकमा जबेगूको जीवनमा धेरै परिवर्तन आएको छ। समूहको नेतृत्व गरिन्। गाउँका अन्य महिलालाई पनि समूहमा आबद्ध हुन हौस्याइन्। अहिले त मञ्चमा उभिएर भाषण पनि गर्छिन्। “सबै कुरा त सिकाइ रहेछ, मान्छेसँगको जानपहिचान रहेछ। महिलाले बोल्न नजान्ने, गर्न नसक्ने भन्ने त होइन रहेछ,” उनको अनुभव भन्छ।
२०६७ सालमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालीम लिन पहिलो पटक घर छाडेकी थिइन्। जन्मघर पाँचथर छोडेर झापा झरेपछि उनले घर छोडेर हिंडेको त्यो नै पहिलो रात थियो।
३५ दिनसम्म चितवनमा तालीम लिएर गाउँ फर्कदा जबेगूसँग उत्साह र डर बराबर थियो। गाउँमा कुखुरालाई जुकाको औषधि खुवाउने चलन नै थिएन। गाईबस्तुलाई नाम्ले र जुकाको औषधि खुवाउनुपर्छ भन्ने चेतना पनि थिएन। पीपीआर खोप लगाउनुपर्छ भनेर गाउँ गाउँ जाँदा किसानलाई बुझाउन निकै गाह्रो भएको उनी सम्झिन्छिन्।
तालीममा सिकेर आएको काम गर्न निकै गाह्रो भयो। गाउँलेले सहयोग गरेनन्। “बोकालाई खसी पार्ने काम सिकेर आएकी थिएँ,” उनी भन्छिन्, “तर महिलाले खसी पारेको राम्रो हुँदैन भनेर गाउँलेहरू मलाई बोलाउँदैनथे।”
यद्यपि उनले हिम्मत हारिनन्। सूर्योदय महिला समूहको साथ थियो। त्यही समूहका दिदीबहिनीले उनीमाथि विश्वास गरे, आफ्नो घरमा पालेका बोकालाई खसी पार्न बोलाए। बिस्तारै उनले गाउँमा आफ्नो पहिचान बनाइन्, गाईबस्तुकी डाक्टर।
अहिले उनी अर्जुनधारा नगरपालिका-१, मदनपुरमा रहेको हाम्रो स्वावलम्बी सामाजिक उद्यम महिला सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष हुन्। ३९ जना बचत सदस्यबाट खुलेको सहकारी आफ्नो स्थापनाको १३ वर्षमै दुई हजार २३ सदस्य बनाउन सफल भएको छ।
सूर्योदय महिला समूहकै आडमा उनी विभिन्न तालीममा सहभागी भइन्। क्षमता विकास गरिन्। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा त अर्जुनधारा नगरपालिका-४ बाट वडा सदस्यमा निर्वाचित पनि भइन्। “हेफरले गरेको सानो लगानीले यो भेगका धेरै महिला आज नेतृत्वमा पुगेका छन्,” जबेगू भन्छिन्, “मान्छेका अगाडि बोल्न सक्ने हुनु, आफ्ना कुरा राख्न सक्ने हुनु र अधिकारका लागि लड्न सक्ने हुनुमा संस्थाकै हात छ।”
सामाजिक संघसंस्थाको सानो सहयोगबाट आफ्नो जीवनमा ठूलो परिवर्तन गरेका महिला धेरै छन्। तिनैमध्ये एक हुन्- कृषि तथा पशुपन्छी फर्मकी सञ्चालक तुलसादेवी ढकाल। ४२ वर्षीया ढकाल अहिले आफ्नै १० कट्ठा जमीनमा तरकारीखेती गरिरहेकी छन्।
दशकअघि आफूलाई खान पुग्ने गरी करेसाबारीमा थोरै तरकारी रोप्थिन्। घरखर्च चलाउन खोरमा दुई वटा बाख्रा पालेकी थिइन्। तर बाख्रा र गाईबस्तु नै आयस्रोत र आयस्तर उकास्ने बाटो हुन्छन् भन्ने थाहा थिएन।
गाउँमै बनेको समूहमा बाख्राको खोर बनाउन र बाख्रा खरीदका लागि १० हजार रुपैयाँ पाएकी थिइन्। तीन वर्षलाई विना ब्याजमा पाइएको थियो। त्यसपछि उनले बाख्राका पाठा पाल्न थालिन्। “बाख्रालाई अलि हावा छिर्ने खोर बनाउन पर्दो रहेछ,” ढकाल भन्छिन्, “हामीले बाख्रालाई सजिलो हुने खोर बनाएर २० माउसम्म पाल्यौं।”
उनले वर्षमा पाँच लाख रुपैयाँसम्मको बाख्राका पाठा बेचेको सुनाइन्। तर बाख्राका पाठाभन्दा तरकारीखेतीमा मन गयो। गाउँमै रहेको महिला स्वावलम्बी सहकारी संस्थाबाट तरकारीखेतीका लागि ऋण निकालिन्।
पछिल्ला दुई वर्षयता ढकाल बाख्रापालनसँगै तरकारीखेती गरिरहेकी छन्। मौसम अनुसारको तरकारी लगाउने गरेकी छन्। अहिले उनको खेतमा बोडी र करेलाका बिरुवा हुर्किंदै छन्।
उनको छिमेकमै निर्मला फुयाँलको घर छ। ४० वर्षीया फुयाँल पनि अहिले कृषि पेशालाई नै आफ्नो आम्दानीको मुख्य स्रोत बनाइरहेकी छन्। फुयाँलका श्रीमान् विदेशमा छन्।
पछिल्लो तीन वर्षयता उनले चार गाई र एक भैंसी पालेर दूध बिक्री गर्दै आएकी छन्। दैनिक ४० लिटरसम्म दूध बेच्ने गरेको उनी बताउँछिन्। “कुनै कुनै महीना त दूध बेचेरै ७५ हजार रुपैयाँसम्म हातमा लिएकी छु,” ढकाल सुनाउँछिन्।
आफूलाई आवश्यक सरसामान किन्न श्रीमान्ले पठाउने पैसा पर्खिनु पर्दैन। घरखर्च पनि आफ्नै कमाइले चलाउने गरेकी छन्। “आत्मनिर्भर हुनु बेग्लै कुरा रहेछ,” फुयाँल थप्छिन्, “मैले समूहमा जान थालेपछि नै आफ्नो हातमा पैसा हुनुको महत्त्व बुझें।”
मदनपुरमा रहेको हाम्रो स्वावलम्बी सामाजिक उद्यम महिला सहकारी संस्था स्थानीय महिलाको अगुवाइमा खुलेको सहकारी हो। यो सहकारीले धेरै महिलालाई स्वावलम्बी बनाएको अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुली बताउँछिन्। देशभरका धेरै सहकारीले बदनामी कमाइरहेका वेला यो सहकारी संस्थामा भने बचतकर्ताको विश्वास बढ्दै गएको छ।
ससाना व्यवसायमा लगानी गर्ने र आफैं क्रियाशील हुने भएकाले सहकारीमा कुनै समस्या नआएको सदस्यहरू बताउँछन्। उपमेयर पराजुली पनि सबैले मिलेर सहकारीलाई जोगाइराखेको बताउँछिन्। “हामीले बाख्रा पालेर, बाख्रा बेचेर त्यसबाट बचाएर बचत गरेको संस्था हो स्वावलम्बी,” पराजुली भन्छिन्, “यस भेगका धेरै महिलालाई स्वावलम्बी बन्ने प्रेरणा दिएको छ।”
यो सहकारीमा अहिले दुई हजार २३ जना महिला सदस्य छन्। संस्थालाई स्वावलम्बी बनाउन हेफर इन्टरन्याशनलले २०६३ सालदेखि सघाउँदै आएको छ। संस्थाकी कार्यवाहक अध्यक्ष जबेगू सबैलाई आत्मनिर्भर बनाउन लागिरहेको बताउँछिन्।
आफू आत्मनिर्भर भएपछि संस्थामा आबद्ध सबैलाई आत्मनिर्भर बनाउने अभियान चलाइरहेको उनको भनाइ छ। “म त आत्मनिर्भर भएँ, आफ्नै कमाइमा बाँचेकी छु,” कार्यवाहक अध्यक्ष जबेगू भन्छिन्, “अहिले संस्थामा आबद्ध महिलालाई आत्मनिर्भर बनाउन सबै जना दिनरात खटिरहेका छौं।”