मन्त्री नियुक्तिले नाउपामा विवाद, रेशम दम्पती पक्ष-विपक्षमा
सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद बढेको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्व अध्यक्ष रेशम चौधरी पक्ष-विपक्षमा उभिएका छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र सुदूरपश्चिम सरकारमा सहभागितालाई लिएर फेरि विवाद बढेको छ। सुदूरपश्चिम सरकारमा सहभागी हुने कि नहुने भन्ने छलफल चलिरहेकै वेला मन्त्री नियुक्त भएपछि विवाद बढेको हो।
सरकारमा सहभागिताको विषयलाई लिएर नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ छलफलमा छिन्। यस विषयमा केन्द्रीय समितिबाट निर्णय गर्ने श्रेष्ठको तयारी छ।
तर पूर्व अध्यक्ष रेशम चौधरीले सुदूरपश्चिम सरकारमा सहभागिता जनाउन लगाएका छन्। उनकै पहलमा फागुन २५ मा तीन जना मन्त्री बनेका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचेतक खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि भूमिव्यवस्था राज्यमन्त्री नाउपाकै कैलाश चौधरी थिए। नवनियुक्त मन्त्रीले फागुन २५ गते साँझै नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
नाउपा एक केन्द्रीय सदस्यले केही व्यक्तिको स्वार्थका कारण पार्टी गलत ‘ट्र्याक’ मा गइरहेको बताए। “सरकारमा सहभागिताको विषयलाई लिएर कुनै निर्णय भएको छैन,” प्रतिनिधि सभाका सदस्य समेत रहेका नेताले भने, “आफूखुशी मन्त्री भएका व्यक्तिहरूलाई कारबाही गर्ने विषयमा छलफल चलिरहेको छ।”
पूर्व अध्यक्ष रेशम चौधरीका कारण यो विवाद उत्पन्न भएको नाउपा नेताहरूको आरोप छ। “महाधिवेशनले रेशम चौधरीलाई अध्यक्ष बनायो तर निवार्चन आयोगले मानेन। जसको रिस पोख्न रेशमजीले गलत निर्णय लिनुभयो,” अध्यक्ष रञ्जिता श्रेष्ठ निकट एक केन्द्रीय सदस्यले हिमालखबरसँग भने, “पार्टीभित्र अल्पमतको सरकारमा जाने या नजाने भन्नेबारे छलफल भइरहेको थियो, निर्णय नहुँदै रेशमजीको व्यक्तिगत स्वार्थले मन्त्री बनाउनुभयो।”
निर्वाचन आयोगले रेशमलाई नाउपा अध्यक्षको मान्यता दिन अस्वीकार गरेको छ। नाउपाले अभिलेख अद्यावधिक गर्न दिएको निवेदनमाथि छलफल गर्दै आयोगले रेशमलाई अध्यक्षमा वैधानिकता नदिने निर्णय गरेको हो। आयोगले रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहेको उल्लेख गरेको छ।
त्यही झोकमा रेशमले नयाँ गठबन्धनमा सहभागी नभएर कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा मन्त्री पठाएको नाउपा नेताहरूको भनाइ छ। “पार्टी केन्द्रको नीति विपरीत तीन जनाले कांग्रेस नेतृत्वको सरकारमा शपथ ग्रहण गर्नु गलत हो, सरकारबाट फिर्ता हुन अध्यक्ष श्रेष्ठले निर्देशन दिइसक्नुभएको छ,” एक नेताले भने।
उता, रेशम निकट नाउपाका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे। “हामीले सुदूरपश्चिममा सबै सांसदलाई मन्त्री बनाउने सहमतिमा यस्तो निर्णय लिएका हौं। यो निर्णय पार्टीकै हो,” उनले भने।
नाउपाबाट प्रतिनिधि सभाका सदस्य समेत रहेका गंगारामले एक मन्त्री थपिने बताए। “कैलाशजीलाई पनि वन, वातावरण तथा पर्यटनमन्त्री बनाउने सहमति भएको छ,” उनले भने, “मन्त्री बनाउनलाई राज्यमन्त्रीबाट हटाइएको हो।”
सुदूरपश्चिमको भूमिव्यवस्था राज्यमन्त्रीबाट हटाइएका कैलाश चौधरीले भने पार्टीको निर्णय विना सरकारमा सहभागी नहुने बताए। “कुनै व्यक्तिको स्वार्थपूर्तिका लागि म मन्त्री हुँदिनँ,” उनले हिमालखबरसँग भने, “मेरो पनि स्वाभिमान छ, कुनै व्यक्तिले मन्त्री बन भन्दैमा मन्त्री हुँदिनँ।”
नाउपाले आधिकारिक रूपमा जुन निर्णय गर्छ, त्यसलाई मान्न तयार रहेको उनको भनाइ छ।