महिला दिवसमा महिला कर्मचारीलाई प्याड वितरण
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर डेज फर गर्ल्स, नेपालले कीर्तिपुरस्थित ‘कम्फर्ट फेल्ट एन्ड क्राफ्ट’ संस्थामा कार्यरत महिला कर्मचारीलाई प्याड वितरण गरेको छ।
‘इन्भेस्ट इन वुमन, एक्सलरेट द प्रोगेस’ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको मूलनारालाई आत्मसात् गर्दै संस्थाले ३७ महिला कर्मचारीलाई महिला स्वास्थ्यको तालीम सहित प्याड वितरण गरेको हो। कामकाजी महिलाका लागि कार्यालयमा महिलामैत्री वातावरणको आवश्यकता बोध गराउन महिलालाई कपडाको पुनःप्रयोग गर्न मिल्ने ‘वासेबल’ प्याड वितरण गरिएको डेज फर गर्ल्स, नेपालकी कार्यकारी निर्देशक माया खाइतूले बताइन्।
बजारमा पाइने प्याडभन्दा पुनःप्रयोग गर्न मिल्ने प्याड संस्थाले वितरण गर्दा खुशी लागेको संस्थाकी ३७ वर्षीया कर्मचारी सुनीता साउदले बताइन्। उनले भनिन्, “यसले हाम्रो पैसा मात्रै होइन, वातावरणलाई पनि जोगाउँदो रहेछ।”
महिलाद्वारा सञ्चालन गरिएको डेज फर गर्ल्स जस्ता संस्थामा महिला र महिनाबारीबारे तालीम दिइनु लाभदायक भएको अर्की कर्मचारी मना अर्यालले बताइन्। उनले भनिन्, “कपडाको प्याडको प्रयोगले साइड इफेक्ट हुँदैन भन्ने सिकें।”
सेनेटरी प्याडकै स्वरूप रहेको वाटरप्रूफ कपडा भएको प्याड पाउँदा कालीकोटकी मीना सहकारीले खुशी जनाइन्। महीनावारी हुँदा अत्यधिक रक्तश्राव हुने भएकाले कपडाको वाटरप्रूफ प्याड पाउँदा ढुक्क महसूस भएको उनको भनाइ छ।
एक जना महिला एक पटक महिनावारी हुँदा औसत तीन वटा सेनेटरी प्याडको प्रयोग गर्ने तथ्यांक छ। यस अनुपातमा जीवनकालमा लगभग १२ हजारभन्दा बढी प्याडको प्रयोग हुने गर्छ। यसले महिलालाई आर्थिक भार बढाउने भएकाले बजारका सेनेटरी प्याडभन्दा वाटरप्रूफ र धोएर पुनःप्रयोग गर्न मिल्ने प्याडको प्रयोग व्यावहारिक हुने कार्यकारी निर्देशक खाइतूको भनाइ छ।
डेज फर गर्ल्स, नेपालले मर्यादित महीनावारी, महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य लगायत विषयमा आठ वर्षदेखि वकालत गर्दै आएको छ। संस्थाले धोएर पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालीम पनि दिंदै आएको छ।