‘अरूका स्कूले बच्चाको झोला बोकें, मेरो झोला थिएन’
भगवान् राम कति वर्ष वनवास बसे मलाई ठ्याक्कै थाहा छैन तर कमलरीको वनवासमा मेरो बालापन बित्यो। मलाई मेरो थारू भाषा थाहा छैन। आमालाई थारू भाषामा दाइ भन्ने चलन छ तर म ममी भन्छु। मेरो भाषा पनि गयो। म कमलरी बस्दा अरूको बच्चाको स्कूलको झोला बोकिदिन्थें तर मेरो झोला थिएन।
यो भनाइ हो, उर्मिला चौधरीको। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार पाटनमा आयोजित कार्यक्रममा वक्ता थिइन् चौधरी। उनले आफ्नो मन्तव्य आफ्नै कथाबाट शुरू गरिन्। साढे ११ वर्षसम्म कमलरी भएर बसेको तीतो अनुभवको दर्दनाक कथा सुनाइन्। त्यो सुनाउँदा पनि उनी सकसमा देखिन्थिन्।
२०७० असार १३ मा कमलरीमुक्तिको घोषणा भयो। त्यति वेला १२ हजार ८०० भन्दा बढी बालिका कमलरी भएर बसिरहेका थिए। मुक्तिको घोषणा गरिए पनि उनीहरूलाई जीवनयापन गर्न सजिलो नबनाउँदा अहिले पनि कतिपय बालिका कमलरी बस्न बाध्य छन्।
दाङकी चौधरी अहिले काठमाडौंमा बसेर अध्ययन गरिरहेकी छन्। सानैमा विद्यालय जान नपाएको रहर पूरा गर्न उनले पढ्न शुरू गरिन्। कानून विषय पढिरहेकी चौधरीले भनिन्, “पहिला म सहनशील थिएँ तर अहिले सहन सक्दिनँ। किनकि बल्ल त मैले किताब बुझ्न पाएकी छु, अक्षर देख्न पाएकी छु। अब बुझिसकेपछि मैले कसरी सहनु?”
वर्षौं आफूमाथि भएको दमनले अहिले प्रतिवाद गर्ने बनाएको उनी सुनाउँछिन्। “म त आजभोलि पो विद्रोही भएकी छु।”
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रिता फाउन्डेशनले आयोजना गरेको छलफल कार्यक्रममा उनीसँगै विभिन्न क्षेत्रमा क्रियाशील महिलाले आफ्ना अनुभव सुनाए। उनीहरूले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।
दलित अधिकारकर्मी सरस्वती नेपालीले निर्णायक तहमा महिलाको सहभागिता हुनुपर्ने बताइन्। अझ दलित महिलाको सहभागितामा जोड दिइनुपर्ने नेपालीको भनाइ थियो।
मानवशास्त्री हिमाली दीक्षितले पुरुषसत्तात्मक मानसिकता त्यागेर सबैको समान सहभागिताको बाटोतिर अघि बढ्नुपर्ने बताइन्। “एउटा समुदायको मुद्दा अर्को समुदायबाट छुट्टिंदैन, त्यसैले ऐक्यबद्धताको जरुरी छ,” मानवशास्त्री दीक्षितले भनिन्।
महिला सशक्त हुन राजनीतिमा सहभागिता जरुरी रहेकी विद्यार्थी नेत्री एलिजा ढकालले बताइन्। समावेशिताको अवधारणाले आरक्षणको व्यवस्था गरिए पनि प्रभावकारी हुन नसकेको ढकालको भनाइ थियो।
त्यस्तै, महिलालाई पदमा मात्र राखिने चलनलाई चिर्दै जिम्मेवारी पनि हस्तान्तरण गरिनुपर्नेमा यजस्वी राईले जोड दिइन्।
फाउन्डेशनकी सञ्चालक रिता परियारले शिक्षामा जोड दिइन्। महिला सशक्तीकरणको शुरूआत शिक्षा भएको उनको भनाइ थियो।
कार्यक्रममा सहभागीले आआफ्ना अनुभव सुनाएका थिए। उनीहरूले महिला सशक्तीकरणका लागि चाल्नुपर्ने कदमबारे चर्चा गरेका थिए।