प्रतिरोधका प्रतिविम्ब
सफलताका कथा सधैं प्रिय हुन्छन्। मानिसहरू यस्ता कथाबाट प्रेरित पनि हुन्छन्। उद्यमी होऊन् वा खेलाडी वा राजनीतिकर्मी, सफलता प्राप्तिपछि सबै उत्साही नै हुन्छौं।
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस। यस अवसरमा लैंगिक समानता, प्रजनन अधिकार, महिला विरुद्धका हिंसा, श्रमिक आन्दोलन लगायत विभिन्न विषयमा विमर्श गरिन्छ जसले यो संसारलाई आजको स्वरूपमा ल्याएको छ।
तर बाँकी विश्वले नारी दिवस मनाइरहँदा देशका विभिन्न भागका महिला सडक संघर्षमा छन्, सूदखोरबाट उन्मुक्तिका लागि।
तिनैमध्येकी एक हुन्- ४५ वर्षीया रामकुमारी भट्टराई। उनी २७ दिनसम्म निरन्तर हिंडेर सुर्खेतबाट काठमाडौं आएकी हुन्, मिटरब्याजी सूदखोरको विरोध गर्न। अनवरत हिंडाइले रामकुमारीका खुट्टामा घाउ बनाएको छ। उनी सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म सुर्खेत नफर्किने बताउँछिन्।
रामकुमारीका अनुसार उनले सूदखोरबाट १८ लाख ऋण लिएकी थिइन्। जसका लागि उनले आफूसँग भएको सुन धितो राखेकी थिइन्। तर उनले पछि मात्रै आफ्नो सुन जफत भएको र सावाँमा पनि अत्यधिक ब्याज लगाइएको थाहा पाइन्। त्यसमाथि कारोबारको कुनै कागजी प्रमाण पनि थिएन।
हरेक महीना तिर्दा पनि सावाँ नघट्ने ऋणको भारीले उनी सहित धेरैलाई हिंसाको मारमा पारेको छ भने ज्यान मार्ने धम्कीसम्म सहनुपरेको छ।
भट्टराई जस्तै हजारौं मिटरब्याज पीडित अहिले देशका विभिन्न स्थानबाट पैदलै काठमाडौं आइपुगेका छन्। मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न उपयुक्त कानून निर्माण गर्नुपर्ने उनीहरूको माग छ।
यीमध्ये अधिकांश महिला छन्। अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा छन्। त्यसैले पनि महिलाहरू नै प्रत्यक्ष रूपमा सूदखोरको यातनाबाट प्रताडित छन्। महिलाहरू नै मुक्तिका लागि आन्दोलनरत छन्।
गाउँघरमा पीडित बनेर काठमाडौं आएका उनीहरूले देशको राजधानीमा पनि पीडा नै खेपिरहेका छन्। गत वर्ष माइतीघर मण्डलमा धर्नामा बसेका उनीहरूलाई यस पटक राज्यले धपाएको छ। निषेधित क्षेत्र घोषणा गरेर त्यहाँ बस्न दिएन।
त्यसपछि उनीहरू खुलामञ्च पुगेका थिए। त्यहाँबाट पनि काठमाडौं महानगरपालिकाले लखेट्यो। केही दिन शान्ति वाटिकामा बिताए। महानगरले त्यहाँ पनि बस्न दिएन।
चारैतिरबाट लखेटिएपछि उनीहरू संघीय संसद् भवन छिरेका थिए। संसद् चलिरहेकै वेलामा संसद् भवन परिसरमा पुगेका उनीहरूले आफ्नो आवाज सुन्न आग्रह गरेका थिए।
त्यति गर्दा पनि उनीहरूको आवाज सरकारले सुन्न सकेको छैन। झन्डै एक वर्षदेखि काठमाडौं आउजाउ गरिरहेका उनीहरू थाकेका छैनन्। पैतालाको छाला निस्केको छ। लामो पैदल यात्राले खुट्टा दुखेका छन्।
त्यसैमाथि प्रहरीको लाठी प्रहारले कसैका हात भाँचिएका छन्, कसैको टाउको फुटेको छ। भोकै, प्यासै काठमाडौंका सडकमा दैनिकजसो प्रदर्शन गरिरहेका छन्।
तैपनि उनीहरूले हिम्मत हारेका छैनन्। आफ्नो समस्या सम्बोधन नभएसम्म काठमाडौंबाट घर नफर्किने बताउँदै आएका छन्।
मिटरब्याजी विरुद्धको आन्दोलनमा यी महिलाहरू प्रतिरोधका प्रतिविम्ब हुन्। यो कुनै सफलताको कथा नभए पनि प्रेरणा र सशक्तीकरणको कथा भने पक्कै हो।