गाजामा जस्तो फेरि नहोस्
अमेरिकी पैसा र भारतीय बेरोजगारको आपूर्तिले संयुक्त रूपमा इजरायलको नरसंहार युद्धयन्त्रमा इन्धनको काम गरिरहेछन्। कस्तो भयानक, अकल्पनीय र लज्जास्पद!
आफूलाई लोकतन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध ठान्ने र त्यसको सुरक्षा गर्छौं भन्ने पश्चिमा विश्वका धनी देशहरूले नै गाजामा नरसंहार गर्न खुलेआम आर्थिक सहयोग गरिरहेछन्। त्यसको समर्थन गरिरहेछन्। अहिले पश्चिम एशियाको गाजापट्टी यातनागृहमा परिणत भएको छ। जो अहिलेसम्म मारिएका छैनन् उनीहरू भोकमरीले मर्दै छन्।
गाजाको सिंगो जनसंख्या नै विस्थापित छ। उनीहरूका घर, अस्पताल, विश्वविद्यालय, संग्रहालय, भौतिक पूर्वाधार सबै भग्नावशेषमा परिणत भएका छन्। तिनका बालबच्चा मारिएका छन्। उनीहरूको विगत नष्ट गरिएको छ। भविष्य धूमिल छ।
संसारको सबैभन्दा उच्च अदालत (इन्टरन्याशनल कोर्ट अफ जस्टिस, आईसीजे)ले नरसंहार भन्न सकिने सबैखाले संकेत पाइएको ठहर गरे पनि इजरायली सेनाले भने ‘विजयप्राप्त गरेको भिडिओ’ सार्वजनिक गर्दै मजाक गर्न छोडेको छैन। त्यस क्रियाकलापलाई दुष्टहरूको उल्लास भन्न सकिन्छ। उनीहरू आफूलाई जिम्मेवार बनाउने शक्ति संसारमै छैन भन्ठान्छन्। तर उनीहरू गलत छन्। ती र तिनका सन्तानलाई आफ्नै कर्तुतले सताउनेछ।
उनीहरू संसारको घृणा खपेर बाँच्नुपर्नेछ। आशा छ, एक दिन यो द्वन्द्वमा युद्धअपराध गर्ने सबै अपराधी कठघरामा उभ्याइनेछन् र दण्डित हुनेछन्। त्यति वेला विभेद एवं बलजफ्तीको प्रतिरोध गर्दा भएको अपराध र दमनकै लागि गरिएको अपराध एकै होइन भन्नेमा पक्कै पनि विचार पुर्याइनेछ।
कुनै पनि नरसंहारको आधारशिला नश्लवाद हो। इजरायलको स्थापना भएदेखि नै इजरायली राज्यका उच्च अधिकारीले प्यालेस्टिनीलाई कीराफट्यांग्रा सरह अमानवीय व्यवहार गर्दै आएका छन्। नाजीहरूले यहुदी विरुद्ध जस्तो व्यवहार गर्थे, उनीहरू त्यही दोहोर्याइरहेछन्। यस्तो लाग्छ- नाजीहरूले रोपेको त्यो विषवृक्ष मरेकै थिएन, बरु त्यो त अर्को रूपमा पुनर्जागृत भइरहेछ। ‘फेरि नहोस्’ भन्ने शक्तिशाली नाराबाट ‘नहोस्’ हटाइएको छ। र, हामीसँग केवल ‘फेरि’ बाँकी रहेको छ।
फेरि नहोस्।
संसारको धनी र सबैभन्दा शक्तिशाली राज्यका प्रमुख अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलका अगाडि निरीह देखिएका छन्, जबकि अमेरिकाको सहयोग विना इजरायल टिक्नै सक्दैन। मानौं, आश्रित नै दातामाथि हावी छ। दृश्यहरूले त्यस्तै देखाउँछन्। जो बाइडेन वृद्ध बच्चा जस्तै गरी आइसक्रिम चाट्दै क्यामेरासामु उभिन्छन् र युद्धविरामबारे नबुझिने शब्दमा भुनभुनाउँछन्। जबकि इजरायली सरकार एवं सैनिक अधिकारीहरू खुलेरै उनको विरोध गर्छन् र आफूहरूले शुरू गरेको काम फत्ते गरेरै छोड्ने उद्घोष गर्छन्।
गाजामा भइरहेको नरसंहारको विरुद्ध उभिएका अमेरिकी युवाहरूलाई थामथुम पार्न र उनीहरूको भोट आफूतिर अड्याइरहन युद्धविरामको कुरा गर्ने जिम्मा उपराष्ट्रपति कमला ह्यारिसलाई दिइएको छ। जबकि यो नरसंहारलाई निरन्तरता दिन अमेरिकाबाट अर्बौं डलर गइरहेछ।
अनि भारतले चाहिं के गरिरहेछ त?
सबैलाई थाहा भएकै तथ्य हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका घनिष्ठ मित्र हुन्। त्यसैले इजरायलप्रति भारतको सदाशयता छ। अब भारत प्यालेस्टाइनको मित्र रहेन। गाजामा इजरायलले बमबारी शुरू गरेपछि मोदीका हजारौं समर्थकले सामाजिक सञ्जालको प्रोफाइलमा इजरायलको झन्डा राखे।
उनीहरूले इजरायल र इजरायली सेना (आईडीएफ)को समर्थनमा भ्रमको प्रचार गर्न सघाए। त्यति हुँदाहुँदै भारत सरकार अहिले तटस्थ बिन्दुतिर ढल्किरहेछ। भारतीय विदेश नीतिको कौशल नै यही हो, यो एकै पटक जता पनि ढल्किन सक्छ। एकै समयमा नरसंहारको समर्थक र विरोधी बन्न सक्छ। जबकि भारत सरकारले प्यालेस्टाइनको समर्थनमा हुने प्रदर्शन रोक्ने सन्देश स्पष्टसँग दिइसकेको छ।
अहिले इजरायलले गरिरहेको नरसंहारलाई सघाउन अमेरिकाले आफूसँग रहेको पर्याप्त स्रोत (हतियार र पैसा) पठाइरहेछ भने भारतले पनि आफूसँग रहेको प्रशस्त स्रोत अर्थात् गरीब बेरोजगारलाई पठाइरहेछ। इजरायलको श्रम बजारबाट प्यालेस्टिनी श्रमिकलाई विस्थापित गर्न भारतीय श्रमिकको उपयोग भइरहेछ। प्यालेस्टिनी श्रमिकले इजरायलमा प्रवेश गर्ने अनुमति पनि गुमाइरहेछन्।
जीविकाका लागि व्याकुल मानिस युद्ध क्षेत्रमा गइरहेछन्। भारतीय विरुद्ध इजरायली नश्लवाद सहन पनि मानिसहरू तयार भइरहेछन्। तपाईंले ध्यान दिनुभयो भने सामाजिक सञ्जालमा यी सबथोक भेट्नुहुनेछ। सारमा, अमेरिकी पैसा र भारतीय गरीबीले संयुक्त रूपमा इजरायलको नरसंहार युद्धयन्त्रमा इन्धनको काम गरिरहेछन्। कस्तो भयानक, अकल्पनीय र लज्जास्पद!
प्यालेस्टिनीहरूलाई संसारका शक्तिशाली भनिएका देशहरूले पनि साथ दिइरहेका छैनन्। उनीहरूका मित्रहरूले पनि एक हिसाबले एक्लै छोडिदिएका छन्। उनीहरूले भोगिरहेको त्रासदी, हत्या र यातनाको कुनै हिसाब छैन। तर उनीहरूले यो युद्ध जितेका छन्। उनीहरू, उनीहरूका पत्रकार, डाक्टर, उद्धार टोली, कवि, प्राज्ञ र ससाना बच्चाहरूले समेत साहस र हिम्मत प्रदर्शन गरेका छन्, जसले बाँकी विश्वलाई प्रेरित गरेको छ।
पश्चिमा जगत्का युवाहरू, खासगरी अमेरिकाका यहुदी युवाहरू प्रोपगान्डा चिन्न सक्ने भएका छन्। उनीहरूले यो नरसंहार र नश्लभेद के हो भनेर चिनेका छन्। पश्चिमा जगत्का शक्तिशाली सरकारहरूले गरिमा र बचेखुचेको सम्मान पनि गुमाएका छन्। फेरि पनि गुमाउनेछन्। तर यूरोप र अमेरिकाका सडकमा यो नरसंहार विरुद्ध उर्लिएका लाखौं मानिस नै सिंगो संसारका आशा हुन्।
एक दिन प्यालेस्टाइन स्वतन्त्र हुनेछ।
(गाजामा भइरहेको नरसंहार विरुद्ध ७ मार्च (२४ फागुन) मा दिल्लीको प्रेस क्लबमा आयोजित कार्यक्रममा प्रसिद्ध लेखक रोयले दिएको मन्तव्य। स्क्रोल डट आइएनमा प्रकाशित मन्तव्यको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)