अल्गोरिदमले सिर्जना गरेको जोखिम
अल्गोरिदमहरू ‘खराब आधारमा’ बनेका छन् जसले ‘खराब प्रलोभन’ देखाउँछन् र ‘खराब मानिस’ लाई बलियो बनाउँछन्।
फेसबूक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको सञ्चालक मेटा कम्पनी विरुद्ध दायर भएको पछिल्लो मुद्दामा संयुक्त राज्य अमेरिकाका ४१ वटा राज्य र कोलम्बिया जिल्लाले डिजिटल प्लेटफर्म लत लगाउने प्रकृतिका साथै बालबालिकाको स्वास्थ्यलाई असर पार्ने खालका भएको तर्क गरेका छन्। हानिकारक सामग्री देखाएर र स्क्रीनमै टाँसिने गरी लत लगाउने बनाएर मेटाले ‘नाफाका लागि नौजवानहरूको शोषण गरिरहेको’ आरोप लगाइएको छ।
अमेरिकामा हालै गरिएको एउटा सर्वेक्षण अनुसार १७ वर्षका किशोरकिशोरी हरेक दिन ५.८ घण्टा सामाजिक सञ्जालमा बिताउँछन्। यस्तो कसरी भयो त? एक शब्दमा दिन सकिने जवाफ हो, ‘लत’।
शेयरधनीहरूको मूल्य बढाउन यस्ता प्रविधि कम्पनीले अपनाउने एउटै तरीका हो, प्रयोगकर्तालाई लत लाग्ने खालको अल्गोरिदमको उपयोग। यसले सामाजिक स्वास्थ्यमा पार्ने असरको त कुरै नगरौं। डेटा वैज्ञानिक ग्रेग लिन्डेनले भने जस्तै अल्गोरिदमहरू ‘खराब आधारमा’ बनेका छन् जसले ‘खराब प्रलोभन’ देखाउँछन् र ‘खराब मानिस’ लाई बलियो बनाउँछन्।
इन्टरनेट मार्फत साथीहरू र परिचित व्यक्तिसँग जोडिइरहने मञ्च उपलब्ध गराउने उद्देश्यले फेसबूकको शुरूआत भएको थियो। तर बिस्तारै यसलाई प्रयोगकर्ताको आवश्यकता र रुचि पूरा गर्ने खालको नभई अन्य डिजिटल प्लेटफर्मबाट अलग्याएर आफूमै अडाइराख्ने गरी विकास गरियो। यो उद्देश्य पूरा गर्न कम्पनीले उपभोक्ताको रुचि, तिनले हेर्ने सामग्री, गोप्यता र डेटा शेयरिङ जस्ता विषयलाई बेवास्ता गरिरहेका छन्।
शीघ्र नाफा कमाउनैका लागि प्रयोगकर्ताको ‘क्लिक’ मा जोड दिइन्छ जसले अत्यन्त छुद्रा र अतिरञ्जित सामग्रीलाई बढावा दिन्छन्। यस्तो नाफालाई हामी ‘अल्गोरिदमिक एटेन्सन रेन्ट’ (अल्गोरिदम मार्फत उठाइएको कूत) भन्छौं। यो नाफा उपभोक्ताको आवश्यकता पूरा गर्ने औद्योगिक उत्पादनबाट नभई निष्क्रिय स्वामित्वबाट प्राप्त भएको हो, जमीनदारहरूले किसानबाट कूत उठाए जसरी नै।
यस्तो कूतको मापन गर्न प्रभुत्वशाली अनलाइन प्लेटफर्महरूले अल्गोरिदम मार्फत कसरी आफ्ना प्रयोगकर्तालाई नियन्त्रण गरिरहेछन् भन्ने बुझ्नुपर्छ। आफूले प्रवर्द्धन गर्ने सामग्रीको गुणस्तर खस्किरहँदा अल्गोरिदमले एकातिर प्रयोगकर्ताको विश्वासको दोहन गरिरहेको हुन्छ भने अर्कातिर सञ्जालमा प्रभुत्वशाली स्थान सुदृढ पारिरहेको छ।
त्यसैले नै फेसबूक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू विज्ञापन र ‘सिफारिश गरिएको’ जस्ता लत लगाउने सामग्रीले भरिपूर्ण छन्। प्रविधिका क्षेत्रमा कलम चलाउने लेखक कोरी डक्टोरोले बडो राम्रोसँग व्याख्या गरेका छन्, ‘अल्गोरिदमबाटै अनलाइन प्लेटफर्महरूको गुणस्तरमा ह्रास (इनसिटिफिकेशन) हुन्छ।’
मेटा विरुद्धको जाहेरी मूलतः यसले गरिरहेको अल्गोरिदमको अभ्यास विरुद्ध हो। प्रयोगकर्तालाई थप कमेन्ट, लाइक र रिपोस्ट गर्न उक्साएर लामो समयसम्म प्लेटफर्ममा अड्याइरहन निकै सावधानीपूर्वक अल्गोरिदम तयार पारिएको हुन्छ। यसका लागि प्रायः हानिकारक र गैरकानूनी हुन सक्ने खालका सामग्री देखाइन्छ। साथै, ‘स्क्रोल’, ‘नोटिफिकेशन’ र ‘अलर्ट’ जस्ता माध्यमबाट प्लेटफर्ममा अल्झाइराखिन्छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकतामा भएको विकासले अल्गोरिदमलाई बलियो बनाइदिएको छ। एक पटक कुनै सामग्री हेरेपछि त्यस्तै प्रकृतिका सामग्रीहरू सामाजिक सञ्जालमा आफैं आउने गरी भएको अल्गोरिदमको विकासले झनै लत लाग्ने बनाइदिएको छ।
त्यसैले आममानिसको हितका लागि यी सबैलाई नियमन गर्न सक्ने नयाँ खालको शासन पद्धतिको आवश्यकता भइसकेको छ। त्यसका लागि व्यवसायी, सरकार र नागरिक समाजबीच साझेदारी आवश्यक छ। आममानिसको हित हुने गरी बजारको आकार तय गर्ने शक्ति नीतिनिर्मातामा छ। उनीहरूले केही महत्त्वपूर्ण कदम चाल्नुपर्छ।
पहिलो, अनलाइन प्लेटफर्महरूले उपभोक्ता र ‘डेभलपर’ हरूलाई नियन्त्रणमा नराखून् भन्ने सुनिश्चित गर्न नीतिनिर्माताले प्राविधिक उपायहरू प्रयोग गर्नुपर्छ, प्रतिस्पर्धा र उपभोक्ता हक सम्बन्धी कानूनमा मात्रै भर परेर हुँदैन। निश्चित सामाजिक सञ्जाललाई ‘पर्खालयुक्त बगैंचा’ बन्नबाट रोक्ने एउटा उपाय हो, विभिन्न डिजिटल प्लेटफर्मबीच सजिलोसँग डेटा आदानप्रदान गर्न सक्ने बनाउने। त्यसो गर्दा प्रयोगकर्ताहरू सजिलोसँग चाहेको डिजिटल प्लेटफर्मको उपयोग गर्न सक्छन्।
दोस्रो, कर्पोरेटहरूको कार्यप्रणालीमा पनि पुन:संरचना आवश्यक छ। शेयरधनीको मूल्य बढाउनकै लागि प्रयोगकर्तालाई अल्गोरिदम मार्फत शोषण गरिन्छ। जति क्लिक बढ्यो त्यति शेयर मूल्य बढ्ने प्रणालीका कारण भ्रम, गलत सूचना र राजनीतिक रूपमा ध्रुवीकृत गर्ने सामग्री प्रसारित भइरहेछन्। त्यसैले यस्तो खालको बिजनेश मोडलमा सुधार ल्याउन जरुरी छ।
स्वस्थ व्यवसायको आधार खडा गर्ने पहिलो कदम यस्ता डिजिटल प्लेटफर्मलाई उनीहरूले तयार पारेको अल्गोरिदम केका लागि लक्ष्यित छ र प्रयोगकर्ता कसरी ‘मनिटाइज’ हुन्छन् भन्ने सार्वजनिक गर्न लगाउनु हो। हरेक वर्ष यस्ता डिजिटल कम्पनीका प्रमुखहरू विश्व आर्थिक मञ्चमा ‘उद्देश्य’ को चर्चा गर्छन्। उनीहरूलाई त्यसको अर्थ के हो भनेर खुलासा गर्न लगाउनुपर्छ। यस्तो खुलासाले मात्रै नीतिनिर्माता, नियामक र लगानीकर्ताले नाफा कमाउनु र कूत नउठाउनुबीचको फरक छुट्याउन सघाउनेछ।
तेस्रो, कुन चाहिं अल्गोरिदमलाई प्राथमिकता दिने भन्ने छनोटको अवसर प्रयोगकर्तालाई दिनुपर्छ। प्रयोगकर्ताको रुचिलाई बेवास्ता गर्दा अहिले भइरहे जस्तै अल्गोरिदमले नै सामग्री छनोट गर्ने अभ्यास बढिरहन्छ। यसले एकातिर प्रयोगकर्तालाई गलत तरीकाले यो महत्त्वपूर्ण हो र यो होइन भन्ने भ्रम सिर्जना गरिदिन्छ।
चौथो, कम्पनीहरूले गर्ने प्रभाव परीक्षणको पुनर्मूल्यांकन गर्न जरुरी छ। त्रुटिपूर्ण डेटा साइन्सले अल्गोरिदमको प्रभाव अल्पकालीन हुन्छ भन्ने निष्कर्ष निकालिरहेको छ। उदाहरणका लागि सामाजिक सञ्जालमा दिइने विज्ञापनले प्रयोगकर्तालाई खासै असर नपुर्याई अल्पकालीन नाफा कमाउन सघाउँछ भनिन्छ। तर समाचार खपतकर्तालाई पनि पार्ने प्रभावलाई बेवास्ता गरिन्छ। दीर्घकालीन असरको त कुरै नगरौं।
पाँचौं, अल्गोरिदमिक उत्पादनहरू खासगरी विज्ञापनहरूको गुणस्तर परीक्षण गर्न सार्वजनिक एआई प्रयोग गर्नुपर्छ। सामाजिक सञ्जालहरूमा प्रसारण गरिने विज्ञापनहरू गुणस्तरहीन हुँदा पुर्याउने हानिबारे ध्यान दिंदै अहिले बेलायतमा एआई मार्फत नियमन गर्न थालिएको छ। यसरी एआई मार्फत गरिने परीक्षण गर्ने प्रबन्ध हरेक डिजिटल प्लेटफर्मको फिचर हुनुपर्छ।
नवप्रवर्तन मार्फत मूल्य सिर्जना गर्नेलाई पुरस्कृत गर्ने र कूत उठाउनेलाई (खासगरी डिजिटल मार्केटमा) दण्डित गर्ने डिजिटल वातावरणको सिर्जना हाम्रो समयको आधारभूत आर्थिक चुनौती हो। फेसबूक, इन्स्टाग्राम, ट्वीटर जस्ता ठूला डिजिटल प्लेटफर्मका प्रयोगकर्ता र सिंगो डिजिटल प्रणालीलाई स्वस्थ राख्ने हो भने शेयरधनीहरूले तुरुन्तै नाफा कमाउने विषयमा ध्यान दिन हुँदैन। व्यवसायीहरू साँच्चै नै शेयरधनीको मूल्यबारे चिन्तित छन् भने उनीहरूले माथि उल्लेख गरिएका पाँच वटा सुझावलाई ध्यानमा राखेर भिन्दै तरीका खोज्न जरुरी छ।
मेटामाथिको नयाँ मुद्दाले विगतका गल्ती सच्याउन सक्दैन। तर भविष्यका एआई उत्पादनका लागि तयार छौं भने हामीले अल्गोरिदमलाई निगरानीमा राख्नैपर्छ। एआईको आड पाएका अल्गोरिदमहरूले केवल हामीले गर्ने उपभोगलाई मात्र प्रभाव पारिरहेका छैनन्, बरु हामीले गर्ने उत्पादन र सिर्जनालाई पनि नियन्त्रण गरिरहेका छन्। हामी के चुन्छौं भन्ने मात्र होइन, कसरी सोच्छौं भन्ने पनि निर्धारण गरिरहेछन्। यो खराबीलाई हामीले स्वीकार गर्नु हुँदैन।
(‘युनिभर्सिटी कलेज लन्डन’ मा नवप्रवर्तन र सार्वजनिक मूल्यको अर्थशास्त्रकी प्राध्यापक म्यारियाना म्याजुकाटो ‘द भ्यालु अफ एभ्रिथिङः मेकिङ एन्ड टेकिङ इन द ग्लोबल इकोनोमिक्स’, ‘मिसन इकोनोमी’ र ‘द बिग कोन’जस्ता पुस्तककी लेखक हुन्। इलान स्ट्राउस भने ‘युुनिभर्सिटी अफ जोहानेसबर्ग’ का सहप्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)