अटोले आत्मनिर्भर बनेकी जुम्लाकी कल्पना
हातमा सीप भए आत्मनिर्भर र आत्मविश्वासी बन्न सकिने भन्दै कल्पना अहिले महिलालाई अटो चलाउन सिकाउने योजनामा छिन्।
जुम्लाको चन्दननाथ नगरपालिकामा अटो चालकहरूको हुलमा एक जना मात्र महिला छिन्, कल्पना बुढा। शुरूआती दिनमा त एक्ली महिला चालक कल्पनाको धेरैले कुरा काटे। तर अहिले मानिसहरू कल्पनालाई देखेर दंग पर्छन्।
“शुरूमा धेरैले घृणा गर्थे। महिला भएर केटाले गर्ने काम गरी भन्थे। बजारतिरका मान्छेले पनि यस्ती रहिछे र पो श्रीमान्सँग छोडपत्र भएको रहेछसम्म भने,” कल्पना सुनाउँछिन्, “त्यति खेर मान्छेहरू अर्कै सोच राखेर बोल्थे तर आजभोलि सबैले राम्रो काम गर्या छौ भन्छन्।”
अटोले सपारेको जीवन
१३ वर्षकै उमेरमा कल्पनाको विवाह भएको थियो। तर सम्बन्ध लामो समय टिकेन। श्रीमान्ले अर्कै साथी खोजे, सन्तान जन्मेको १७ दिनमै कल्पनाको सम्बन्धविच्छेद भयो। आफू सहित छोराको जिम्मेवारी पनि कल्पनाकै काँधमा आइलाग्यो।
यसपछि उनी माइतमै बस्न थालिन्। बनिबुतोको आधार खोजिरहेकै वेला एक दिन कल्पनालाई भाइ सुवासले अटो चलाउने उपाय सुझाए।
भाइको सुझाव उनलाई मन पर्यो। सुर्खेत गएर अटो सिकिन्। चालक अनुमतिपत्र लिइन्। खोजखाज पारेको रु.तीन लाख र ऋण लिएको रु.तीन लाख जुटाएर अटो किनिन्।
त्यसयता ६ वर्ष भयो, उनले अटो चलाएरै रु.तीन लाख ऋण चुक्ता गरिसकिन्। छोरालाई निजी विद्यालयमा पढाएकी छिन्।
कल्पना अहिले महिलालाई अटो चलाउन सिकाउने योजनामा छिन्। तर सिक्छु भनेर चासो दिने महिला कमै भेटिन्छन्। दुई जनाले चासो दिएकामा पनि एक जना सिक्ने वेला आइनन्, अर्कीले सिक्दासिक्दै बीचमै छाडिन्। “के भयो भन्ने बुझेको त श्रीमान्ले गाली गरे रे,” कल्पना सुनाउँछिन्।
जुम्लामा कम्तीमा तीन/चार जना महिला चालक भएमा महिलाहरू पनि सक्षम हुन्छन् भन्ने सन्देश जाने उनको विश्वास छ। हातमा सीप भए कसैले पनि हन्डर खानुनपर्ने उनको अनुभव छ।
“मान्छेको जिन्दगीमा दुःखकष्ट नआउने कुरा हुन्न। कहिले पनि हार खानु हुँदैन रहेछ। मैले पनि धेरै हन्डर खाएँ तर हार खाइनँ,” उनी भन्छिन्, “कति गल्लीमा गएर रोएँ। कति खोलाको किनारमा गएर रोएँ। यस्तो जिन्दगी के बाँच्नु जस्तो पनि लाग्थ्यो।”
महिला भएकैले आफूले आफूलाई कमजोर ठान्न नहुने उनी बताउँछिन्। “हामीले एउटा लक्ष्य लियौं भने पसल गरेर, ड्राइभिङ गरेर, चटपटे बेचेरै पनि गुजारा गर्न सकिन्छ,” उनी भन्छिन्।
३२ वर्षीया कल्पना अहिले बाआमासँगै चन्दननाथको कालोखोलीमा बस्छिन्। मेसो मिलेमा अर्को अटो पनि किन्ने सुरसार गर्दै छिन्।
आजभोलि उनको दिनको कमाइ रु.५०० जति हुन्छ। तर असोज-कात्तिकमा स्याउको सिजन भएका वेला र जुम्लाको तातोपानी तथा चन्दननाथ मन्दिर जान आन्तरिक पर्यटक आउने वेला उनी दिनकै १५ सयसम्म कमाउँछिन्।
अहिले उल्लेख्य आम्दानी नभए पनि अटोले कम्तीमा आफूलाई आत्मनिर्भर बनाएको र आत्मविश्वास बढाएकोमा उनी खुशी छिन्। यसै कारण पनि उनी महिलाले कुनै न कुनै सीप सिक्न आवश्यक रहेको ठान्छिन्। “हातमा सीप हुँदा कसैसँग माग्नु पर्दैन, कसैसँग झुक्नु पर्दैन,” उनी भन्छिन्।