कश्मीरमा प्रहरी र सयौँ प्रदर्शनकारीबीच झडप
भारत प्रशासित कश्मीरमा सयौँको संख्यामा भेला भएका स्थानीय र प्रहरी बीच झडप भएको छ । सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको हो ।
भारतले कश्मीरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका बेला शुक्रबार कश्मीरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ ।
झडपमा प्रहरी तथा प्रदर्शनकारी के–कति घाइते भए भन्ने बारे प्रशासनको धरपकडका कारण सूचना पाउन कठिन भएको जनाइएको छ ।
श्रीनगरमा हजारौँको संख्यामा सरकारको निर्णयको विरोधमा प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका कश्मीरस्थित संवाददाताले बताएका छन् ।
सरकारले कश्मीरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि कश्मीर क्षेत्रमा विगत १२ दिनदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाको समस्या देखाउँदै कश्मीरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ ।
कश्मीरमा अहिले दशौं हजार थप सुरक्षाकर्मी खटाइएको छ । पाँच लाखभन्दा बढी सुरक्षाकर्मी यसअघि नै त्यहाँ रहेका थिए ।
हिन्दुहरुको बाहुल्य रहेको जम्मु भने तुलनात्मक रुपमा शान्त रहेको अधिकारीहरुले जनाएका छन् ।