गठबन्धनमा सहभागी हुन सबैलाई दललाई एमालेको आह्वान
नेकपा (एमाले)ले नयाँ बनेको गठबन्धनमा सहभागी हुन सबै दललाई आह्वान गरेको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले अन्य दललाई पनि गठबन्धनमा सहभागी हुन अनुरोध गर्ने निर्णय गरेको हो। “देशमा व्याप्त निराशालाई चिर्ने, देशभित्रै केही हुँदै छ भन्ने सकारात्मक भावना जागृत गर्नुपर्नेछ,” बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, “त्यसैले गठबन्धनमा सहभागी हुन अन्य दलहरूलाई पनि अनुरोध गर्ने निर्णय गरेका छौं।”
अहिले गठबन्धनमा एमालेसँगै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्। अन्य साना दललाई पनि गठबन्धनमा सहभागी गराउने प्रयास भइरहेको छ।
एमाले सचिवालय बैठकले नयाँ सत्ता समीकरणलाई सकारात्मक रूपमा ग्रहण गरेको महासचिव पोखरेलले बताए। “नयाँ सहकार्य फलदायी बनाउनुपर्छ,” पोखरेलले भने। नयाँ गठबन्धन बनेपछि पहिलो पटक एमाले सचिवालय बैठक बसेको हो।
यससँगै एमाले सचिवालयको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ। आउँदो वैशाख ८ र ९ गते काठमाडौंमा प्रतिनिधि परिषद्को बैठक बस्नेछ।
त्यसको भोलिपल्ट वैशाख १० गते पार्टी स्थापना दिवसलाई विशेष रूपमा मनाउने एमाले सचिवालय बैैठकले निर्णय गरेको छ। काठमाडौंमा विशेष समारोह आयोजना गरिने महासचिव पोखरेलले बताए।