खेलकूदमन्त्री श्रेष्ठले भेटे प्रीति राई, उपचारमा सघाउने प्रतिबद्धता
युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले फूटबलर प्रीति राईलाई भेटेर उपचारमा सघाउने प्रतिबद्धता जनाएका छन्।
वाफ महिला च्याम्पियनशिपको फाइनल खेलमा घाइते भएकी राईको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। उनको घुँडाको शल्यक्रिया गरिएको छ। अहिले उनी अस्पतालमै उपचाररत छिन्।
मन्त्री श्रेष्ठले अस्पताल पुगेर राईलाई भेटेका हुन्। राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अखिल नेपाल फूटबल संघ (एन्फा)का महासचिव किरण राईले बताए।
मन्त्री श्रेष्ठले उपचारमा सघाउने प्रतिबद्धता गरेको महासचिव राईले बताए। “उपचारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ। त्यसका लागि कुनै नीतिगत निर्णय गर्नुपरेमा गर्ने बताउनुभएको छ,” महासचिव राईले भने।
यससँगै मन्त्री श्रेष्ठले स्वास्थ्यलाभको कामना गरेका छन्। फूटबलर राईलाई हौसला दिंदै मन्त्री श्रेष्ठले भने, “चाँडो मैदानमा फर्किनुहोस्, शुभकामना छ। एन्फासँग मिलेर आवश्यक सहयोग गरौंला।”
जोर्डनसँगको फाइनल खेलमा राई घाइते भएकी थिइन्। उनको उपचार जारी छ। उनलाई मैदानमा फर्किन केही समय लाग्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
यो पनि पढ्नुहोस् : फिल्डमा फर्किन आतुर प्रीति राई