पाठेघरको मुखको क्यान्सरबारे सचेतना अभियान घोषणा
एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा मेरी स्टोप्स इन्टरन्याशनल नेपालले संयुक्त रुपमा बिहीबार पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।
यसको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लामा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्याउने रहेको जनाइएको छ। पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्छ। सन् २०२२ मा मात्रै दुई हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने एक हजार ३१३ जनाको ज्यान गएको तथ्यांक छ।
यो अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक सञ्जाल र मेरी स्टोप्स इन्टरन्याशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिने जनाएको छ। यस बाहेक अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारबारे जानकारी दिने भएको छ।
अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालक्ष्यित विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछन्। आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने; पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचार सम्बन्धी जानकारीलाई लक्ष्यित समूहसम्म प्रभावकारी ढंगले पुर्याउन विभिन्न सरकारी निकाय तथा संघसंस्थासँग सहकार्य तथा साझेदारी गर्ने; टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम (टक शो) सञ्चालन गरिने भएको छ।
यस बाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरन्याशनल नेपालले ५० जना सेवाग्राहीलाई निःशुल्क स्क्रीनिङ सेवा प्रदान गर्ने भएको छ।