कसरी बाँच्लान् नदीहरू?
जलनिधिको प्रयोग/संरक्षणलाई किन सन्तुलनमा राख्न सकिएन? पुर्खाबाट पाएको स्वच्छ-सन्तुलित नदी प्रणाली ५०-६० वर्षमै किन फोहोर बन्न पुगे? यो हाम्रो सामूहिक चेतना एवम् सभ्यताको विचलन हो या प्रचलित विकास यात्राको नियति?
थोरै साहित्य, थोरै जीवन र थोरै प्रकृतिलाई जोडेर भावनाको माला बनाउँछु र कुरा शुरू गर्छु। ‘प्र’ अर्थात् ‘श्रेष्ठ’ र कृति अर्थात् ‘सिर्जना’ को संयोजन हो- प्रकृति। पृथ्वी, अग्नि, गगन, वायु र जल श्रेष्ठ सिर्जनाका आयाम हुन्। तर आज मानवका क्रियाकलापले यी सबै आयाम ह्रास हुने क्रममा छन्।
यसमा पनि जलनिधिको स्थिति त निकै चिन्ताजनक छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले हालसालै भनेका छन्, “मानवजातिले प्रकृतिसित युद्ध छेडेको छ, यो युद्ध हामी जित्न सक्दैनौं।”
नदी लगायत जलनिधिहरू स्वच्छ रहे हामी बाँचौंला, नदी मरे हाम्रो भविष्य अन्धकार हुनेछ। प्रकृति र नदी कसरी बचाउने?
स्वच्छ प्रकृति र नदी सभ्यता निर्माणका आधार हुन्। कवि-साहित्यकारहरूले निरन्तर बग्ने स्वच्छ नदीहरूलाई बिम्ब बनाएर अनेक सिर्जना गरेका छन्। कालिदास, विद्यापति, रवीन्द्रनाथ ठाकुर, अल्फ्रेड टेनिसन, लेखनाथ पौड्याल लगायतका सिर्जनामा नदीका सुन्दर बिम्ब प्रस्तुत छन्।
२०१९ सालको हवाई दुर्घटनामा पिताजी डा. मोहनमणि दीक्षितको निधन हुँदा कवि शिरोमणि लेखनाथ समवेदना दिन तहागल्लीस्थित हाम्रो घरमा आएर लेख्नुभएको रहेछ- डाक्टर मोहनमणिको आकस्मिक यो निधन सुन्दा लोचनदेखि खसेका थामिन्नन् आँशुका बुन्दा।
२०८० असार ५ मा कवि विजय हितानजीले फोन गरेर भन्नुभयो, “१५ गते पर्याकविता विशेष साँझ आयोजना हुँदै छ। आफूलाई मन परेको कविता वाचन गरिदिनुहुन अनुरोध छ।”
म एक छिन पक्क परें। के गर्ने कसो गर्ने भयो तर नाइँ भनिनँ। नयाँ अनुभव हासिल गर्ने लालसाले तान्यो अनि अनुष्ठानमा सहभागी भएँ। त्यस साँझ शिल्पी थिएटर परिसरमा मैले रवीन्द्रनाथ ठाकुरको ‘सोनार तोरी’ (द गोल्डन बोट) अंग्रेजीमा र कविशिरोमणि लेखनाथ पौड्यालको ‘श्री गंगाजीको झाँकी’ वाचन गरेको थिएँ। कविता थियो-
ठाडै कैलासदेखि द्रुततर गतिले गड्गडाएर झर्दी
झर्दा श्रीशङ्करैको गल-गलित ठूलो सर्पझैं सल्ल पर्दी।
लाखौं चट्टान विकट गिरिशिला-कन्दरा चुर्ण गर्दी
बन्दै नाची दगुर्दै, श्रवण विवरणमा नित्य संगीत भर्दी।
आमा भन्दै झरेका सकल गिरिनदी काखमा टप्प धर्दी
छर्दी पीयूष जस्ता जलकण लहरी हस्तले मस्ती पर्दी।
कालो बर्दी सरीको कलिमल मनको ध्वस्त पारेर हर्दी
गंगामा भुक्ति मुक्ति दुई दिदी बहिनी नित्य खेल्छन् कपर्दी।
प्रकृति र नदीको समग्र परिवेश समेटेको कविशिरोमणिको उपरोक्त सिर्जनामा जलविज्ञान पनि प्रतिबिम्बित छ। कैलाश हिमाल अर्थात् नदीको थालनी। भौतिकशास्त्री स्टीफन हकिन्सले आफ्नो पुस्तकमा प्रश्न गरेका छन्- ‘नदी कहाँबाट आउँछ?’ आफैं जवाफ दिन्छन्- ‘पहाडबाट।’
‘गडगडाएर झर्दी’ उपल्लो भेगमा वेगवान् नदीको सन्दर्भ हो। ‘सर्पझैं सल्ल’ नागबेली बग्ने अंग्रेजीमा ‘मियान्डरिङ’ भनिने नदीको स्वरूप हो। ‘कन्दरा चूर्ण गर्दी’ भूक्षय र थिग्रेनीका बिम्ब हुन् भने ‘नित्य संगीत’ कलकल बगेको नदीको प्राकृतिक स्पन्दन हो। ‘झरेका सकल गिरिनदी’ शाखा-प्रशाखा हुन् भने ‘पीयूष जलकण’ अमृत एवम् जलचरको समेत हितको पर्याय हो।
‘भुक्ति मुक्ति दिदी बहिनी’ ले नदीको सांसारिक प्रयोग र औलोकिक सन्दर्भ समेटेका छन्। भनिन्छ, साहित्य भविष्यको परिकल्पनाका लागि प्रेरणा हो। विश्लेषक युभाल नोआ हरारी भन्छन्, ‘इतिहासले भविष्यवाणी गर्दैन तर विगतबाट सिक्न र विकल्पको परिकल्पना गर्न सक्षम पार्छ।”
केही यथार्थ
नेपाल बहुनदी प्रणाली भएको मुलुक हो। नेपालको भूगोल मोटामोटी पूर्व-पश्चिमतर्फ फैलिएको छ भने हाम्रा सबै नदी प्रणालीको पानीढलो उत्तरबाट दक्षिणतर्फ छ। स्वर्गीय डा. हरिमान श्रेष्ठले नेपालमा छ हजार नदी छन् भन्ने आकलन गर्नुभएको हो। उहाँले पुरानो नक्शामा ट्रेसिङ पेपर राखेर संख्या निकालेको वरिष्ठ सिंचाइविज्ञ सोमनाथ पौडेल सम्झनुहुन्छ।
सन् १९७९ मा एफ जोलिंगरले गरेको अध्ययन अनुसार नेपालमा तीन प्रकारका नदी छन्- हिमाली नदी, महाभारत नदी र शिवालिक (चुरे) शृंखलाका नदी। धेरै वर्षपछि सन् २०२० मा नेपाली र अमेरिकी अध्येताहरूको टोलीले क्षेत्रफल (ठूला, मध्यम, साना), भूधरातल (हिमालय, मध्यपहाड, महाभारत लेक, दून उपत्यका, चुरे बेसिन र चुरे), पानीको स्रोत (हिमनदी, हिउँ र वर्षा)का आधारमा नेपालका नदीहरूको थप वर्गीकरण गरेका छन्।
हिमालबाट शुरू भई पग्लेको हिउँ र वर्षाले सिञ्चन गर्ने ठूला नदीहरू कोशी, नारायणी, कर्णाली र महाकाली हुन्। पहाडबाट शुरू भई वर्षाले सिञ्चित गर्ने कन्काई, कमला, बागमती, पश्चिम, राप्ती, बबई मझौला नदीहरू हुन्। वर्षाले सिञ्चन गर्ने साना मौसमी नदीहरू चुरे शृंखलाबाट बग्छन्।
यीमध्ये चुरे शृंखलामा उत्पत्ति हुने नदीहरू कोशी प्रदेशका तीन, मधेश प्रदेशका आठ, लुम्बिनी प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई जिल्ला हुँदै भारतको बिहार र उत्तर प्रदेशतर्फ बग्छन्। चितवन, नवलपरासी पूर्व र दाङ जिल्लामा चुरे पहाडको दक्षिण पानीढलो नेपाल-भारत सिमाना हो। पाखोमा शुरू भएका साना नदीहरू पश्चिमी बिहार र उत्तर प्रदेशतर्फ बग्छन्। चितवन र नवलपरासी पूर्वका चुरे शृंखलाका उत्तरी पाखोमा उत्पत्ति हुने नदीहरू नारायणी र पश्चिम राप्ती नदीमा मिसिन्छन्। अन्यत्र चुरेको उत्तरी पाखोमा उत्पत्ति हुने प्रशाखाहरू महाकाली, कर्णाली र कोशीमा पुग्छन्।
चुरेमा शुरू भएका यी नदीहरू माथिल्लो भेगमा पानी नपरेको समयमा सतहमुनि बग्छन् र माथि सुक्खा देखिन्छ। तल्लो भेग अर्थात् मध्यतराईतिर पुगेपछि भने पानी सतहमा देखिन थाल्छ।
चुरे बेसिनका नदीले सिञ्चन गर्ने नेपालका जिल्लाहरू गंगा मैदानको भूमिगत जलभण्डारको उत्तरी भाग हुन्। माथिल्लो र तल्लो तहमा भूमिगत जलभण्डार छन्। नदी र भूमिगत जलभण्डारबीच अन्योन्याश्रित सम्बन्ध छ। चुरे बेसिन क्षेत्रका नदी र भूमिगत जलभण्डारको जलनिधि यस क्षेत्रका बासिन्दाको खेतीकिसानी, खानेपानी र उद्योगहरूमा आपूर्ति हुन्छ। अर्थात्, यिनीहरूले हाम्रो सभ्यतालाई मात्र जीवन्त बनाउँदैन्, हाम्रो जीवन र जीविकालाई पनि सिञ्चित गर्दछन्।
चुरे बेसिन क्षेत्रका १८ जिल्लामा नेपालको ४५ प्रतिशत जनसंख्या बस्छ। नेपालका दक्षिणी जिल्लाहरूसँग जोडिएका भारतीय क्षेत्रमा झन्डै चार करोड मानिसको आवादी छ। नेपालको चुरे बेसिनका नदी प्रणाली उनीहरूको जीवनको स्रोत हो।
तर आज चुरे बेसिन क्षेत्र लगायत सबैतिरका नदीको गुणस्तरमा व्यापक ह्रास आएको छ। अव्यवस्थित शहरीकरणले खुला क्षेत्र र सिमसार नासिंदै छन्। कंक्रिटमा आधारित विकासको दौडले वर्षातको पानी जमीनभित्र सोसिने मात्रा कम भई भूमिगत जलभण्डारमा पुनर्भरण घट्दो छ। भूमिगत जलभण्डारबाट पानी तान्ने दर भरिने दरको तुलनामा बढी हुँदा पानीको सन्तुलन बिग्रँदो छ।
त्यसैगरी, मलमूत्रका ढल र औद्योगिक फोहोर विना प्रशोधन नदीनालामा मिसिंदो छ। विभिन्न किसिमका फोहोर मात्र नभई प्रयोग गरिएका प्लास्टिक फाल्ने क्रम पनि बढिरहेको छ। यसरी नदी एवम् जमीनको प्रदूषण दिनानुदिन बढ्दा नदीहरू क्रमशः मर्दै गएका छन्। नदीहरूबाट बालुवा-गिट्टी-ढुंगाको दोहन पनि अनियन्त्रित नै छ। दक्षिणी सीमापारि निर्मित विकास पूर्वाधारका कारण वर्षामा नेपालको सीमाक्षेत्रमा डुबान जारी छ।
जलवायुजन्य विपद्का जोखिम बढ्दै छन्। वर्षाको चरित्रमा फेरबदल हुन थालेको छ। सुक्खा याममा आगलागी र हुरीबतास बढ्दै छन् भने खेतीपाती प्रभावित हुन थालेको छ। गर्मी र वर्षामा तापक्रमका साथै आर्द्रता बढिरहेको छ। असार, साउन, भदौ र असोजका दिउँसो र साँझको समय उखरमाउलो हुन थालेको छ।
चुरे नदी क्षेत्र लगायत नेपालको जलवायुमा अनेकौं बदलाव देखिंदैछन्, संकट बढिरहेको छ। वन र चुरे पर्वत शृंखलाको पर्यावरण बिथोलिएको छ। परिणाम- यसले जलाधार, नदी, प्रकृति र मानव सभ्यतालाई सीधै प्रभावित गरिरहेको छ।
विश्व जलवायु परिवर्तनको संकट भन्नु जलसंकट हो। यो यस्तो संकट हो, जसले भविष्यको नभई आजकै हाम्रो संसार बिथोलिरहेको छ। भविष्य अझ सन्त्रासपूर्ण हुने तथ्यहरूले बताइरहेका छन्।
विश्वव्यापी आयाम
नदी प्रणाली अतिक्रमण र जलवायु परिवर्तन कहिलेबाट, कसरी शुरू भयो? यसको विश्वव्यापी आयाम के हो? यो निकै गम्भीर प्रश्न हो। सन् १७७० तिर पश्चिम यूरोपमा प्रथम औद्योगिक क्रान्ति शुरू भयो। औद्योगीकरणका लागि कोइलाको उत्खनन र दहन बढ्यो। ऊर्जाबाट मशिनको क्षमता बढाएर फाइदा लिने काम बढ्दै गयो। त्यसबाट प्रविधिको विकास भयो र जीवन पनि सहज हुँदै गयो।
पश्चिमका बलिया देशहरू औद्योगीकरणसँगै स्रोतको खोजी र बजार विस्तारमा विश्व चहार्न थाले। साम्राज्यवाद, विस्तारवाद प्रभावशाली हुँदै गयो। यसैगरी, स्रोत र सम्पत्तिको लालसाले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मुलुकहरू उपनिवेशमा परे।
बढ्दो कोइलादहनबाट वायुमण्डलमा निरन्तर धूवाँ फैलियो। त्यसबाट प्रकृतिमा हुने हानिको भने लेखाजोखा गरिएन। सय वर्षपछि १८५० तिर संयुक्त राज्य अमेरिकामा खनिज तेल उत्खनन, प्रशोधन र व्यापारिक लेनदेनको सिलसिला शुरू भयो। त्योसँगै विश्व आर्थिक व्यवस्था कोइला र खनिज तेल प्रयोगको संरचनामा बाँधिन थाल्दा धूवाँ निकाल्ने र प्रकृति दोहन गर्ने सिलसिलाको लेखाजोखा नगर्ने प्रवृत्ति कायमै रह्यो। प्रविधि विकासले जीवन थप सहज बनाउँदै लग्यो, गरीबी पनि तुलनात्मक रूपमा घट्दै गयो तर समता भएन। सामाजिक विभेद पनि बढ्यो।
मानव क्रियाकलापले सिर्जना गरेको धूवाँ वायुमण्डलमा २०० वर्षयता अनवरत थपिंदो छ। वायुमण्डलमा कार्बनडाइअक्साइड बढ्नु यसको सीधा परिणाम हो। फलस्वरूप आज वायुमण्डल तातेको छ। यसबाट हातलागी भएको छ- जलवायु परिर्वतन।
आजको वायुमण्डलको औसत तापक्रम औद्योगिक कालको तुलनामा झन्डै १.१ डिग्री बढी छ। यसो सोच्दा १.१ डिग्री त बढी नै हो जस्तो लाग्न सक्छ, तर यो निकै धेरै हो। यसले समुद्र, महादेश, वनजंगल, पहाड, हिमाल, शहर, गाउँबस्तीे सर्वत्र तताएको छ। मानव इतिहासमा २०२३ सबैभन्दा गर्मी वर्ष भएको वैज्ञानिकहरूले बताएका छन्।
भर्खरैको अर्को वैज्ञानिक तथ्य अनुसार जनवरी २०२४ को तापक्रम पनि इतिहासमै सबैभन्दा माथि पुग्यो। तापक्रम बढ्ने दर अन्यत्रको तुलनामा हिमाल, पहाड र उच्च धरातलमा बढी देखिएको छ। नेपाल लगायत हिन्दू-कुश हिमालय क्षेत्रमा यो क्रम प्रत्यक्ष देखिन थालेको छ।
वर्षाको चरित्र बदलिने, हिमनदी, हिमालय र ध्रुवहरूका हिउँ पग्लेर समुद्री सतह बढ्न गई तटीय क्षेत्र डुब्ने र गर्मी बढ्ने घटना बढ्दै गएका छन्। सुन्दा साधारण लाग्ने यी परिघटना साधारण होइनन्, अत्यासलाग्दा संकटहरू हुन्। यी संकटले भन्दै छन्- मान्छेहरू! प्रकृतिसँग खेलबाड नगर।
समाधानको सैद्धान्तिक परिकल्पना
पानी र नदीको संकट समाधान गर्ने नयाँ योजना, रणनीति, ज्ञान र परिकल्पना के हो? अथवा पानी र नदीलाई जोगाउने कसले? प्रधानमन्त्रीले कि राष्ट्रपतिले? धनाढ्यले? चिन्तकहरूले? कि आमनागरिकले? वा पानी र नदीसँग सबभन्दा नजिक को छ, तिनले? यी प्रश्नहरूको जवाफ सजिलो छैन।
पानी र नदीबाट टाढा वा सबभन्दा नजिक कोही छैन, त्यसैले यो सबैको साझा सरोकारको विषय हो। विकास र व्यवस्थापनका प्रचलित विधिले जल र नदीको हित गर्न सकेका छैनन्। भुइँका सन्दर्भले वातावरणीय स्वच्छता, जलचक्रको निरन्तरता, संश्लेषित ज्ञान र सामाजिक समताले जलनिधि व्यवस्थापनमा नयाँ आयाम सिर्जना गर्दछन् भन्छ। यसका लागि नदीलाई माया गर्नेहरूले निम्नानुसार नयाँ संकथन निर्माण गर्न आवश्यक छ। यसमा समाजका सबै पात्रले हातेमालो गर्नु जरुरी छ।
क. जल, ऊर्जा, जलचर र थिग्रेनीको संगम
नदी भन्ने बित्तिकै बग्दै गरेको सङ्लो पानी मात्र हो भनेर बुझ्नु हुँदैन। नदीमा पानी मात्र होइन, ऊर्जा पनि हुन्छ। उर्जाकै कारण नदी बगेको हो। जलचर र थिग्रेनी नदीका अभिन्न अंग हुन्। बालुवा र ढुंगा नदीका ‘फ्लुभियल’ इतिहासका धरोहर हुन्, दोहनका सामग्री मात्र होइनन्।
पूर्वीय शास्त्र अनुसार शक्ति (उर्जा), प्राण र आत्माको मिश्रण हो- नदी। जलचर र थिग्रेनी नदीको प्राण हो भने आत्मा अलौकिक सत्कर्मको प्रतिबिम्ब। आधुनिक विधिले सङ्लो पानीलाई मात्र महत्त्व दिंदा ज्ञानको स्तरमै नदी खण्डित भएको छ। फलस्वरूप जलचर, जैविक विविधता र थिग्रेनी ओझेल परेका छन्। जलको मर्मलाई प्रयोग अगाडि नै खण्डित गरिंदा यसको एकीकृत व्यवस्थापन अवधारणा असफल छ। नदीको यो मर्मलाई खण्डित नपारी उचित ढंगले स्थापित गर्नु आवश्यक छ।
ख. जलनिधिबहुल भूमिका र प्रयोग
पानी पृथ्वीको श्रेष्ठ पदार्थ हो। मानव शरीरमा झन्डै ७० प्रतिशतभन्दा बढी पानी हुन्छ। स्वास्थ्य विज्ञानका अनुसार व्यक्ति स्वस्थ रहन एक दिनमा तीन-चार लिटर पानी खानुपर्छ। पशुपक्षी र वनस्पतिको जीवन पनि पानीमै निर्भर छ। पानी नपाए सबै सुक्छन्। यसका अलावा खेतीबालीका लागि पानी अत्यावश्यक वस्तु हो।
फोहोर फालेर सफासुग्घर रहन पनि पानी आवश्यक हुन्छ। गर्मीमा पानीले शरीर चिसो राख्न सहयोग गर्छ। नदीमा निहित ऊर्जा विद्युत् उत्पादनका लागि प्रयोग गरिन्छ। डुुंगाबाट आवतजावत पनि हुन्छ।
उद्योगको सहयोगी पनि हो पानी। पानी विना सिमेन्ट उत्पादन सम्भव छैन। विना सिमेन्ट पूर्वाधारहरूको विकास गर्न सकिन्न। माछा लगायत जलचर जीवहरू बाँच्ने आधार पानी हो भने राजी, सोनाहा जस्ता समुदायको जीविका नदीमा माछापालन गरेर चल्छ।
जलनिधि संस्कृति र आस्थाको आधार हो। पूजाआजा, मृत्यु कर्म नदीमा हुन्छ। अतः नदीमा बगेको पानीको विविध भूमिका र प्रयोगको मर्म स्विकार्न आवश्यक छ। तदनुरूप जलनिधि, नदी, बालुवा-ढुंगा लगायतको सम्यक् प्रयोग र प्रवर्द्धन हुनुपर्छ।
ग. नियन्त्रण होइन, निकास छाड्ने
वर्षातपछि नदीमा बग्ने पानीको परिमाण बढेर बाढी आउँछ। बाढीको पानी खेत, शहर, बस्ती पसेपछि विपत् निम्तिन्छ। विपत्मा धनजनको क्षति हुन्छ। नदी किनारमा तटबन्ध बनाएर बाढीको विपद् घटाउने काम भए पनि सामाजिक-आर्थिक क्षति बढेकै छ। पूर्व सूचना प्रणालीको विकासले ज्यानको क्षति कम भए पनि नदीको बगरमा शहर बसाउने, कंक्रिटले यत्रतत्र जमीन ढाक्ने, सिमसार-पोखरी मास्ने जस्ता कार्यले बाढी झन् विनाशकारी बन्दै गएको छ। अब बाढीको जोखिम कम गर्न नियन्त्रण हैन, निकास नबिथोल्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्छ।
घ. नदीको पानी खेर जाँदैन
नदीहरू मानवसिर्जित होइनन् प्रकृतिका देन हुन्। जुन लाखौं वर्षदेखि जलचक्रमा अनवरत छन्। विश्वमा उपभोगवाद शुरू भएपछि आर्थिक फाइदा लिन नसकिएको नदीको पानी खेर गएको हो भन्ने भाष्य प्रस्तुत हुन थाले। तदनुरूप बनेका जल योजनाहरूले तल्लो भेग, त्यहाँका समुदाय र जलचर देखेनन्। नदीको पानी ‘खेर’ गएको भाष्यबाट बाहिर निस्कन सक्दा जलचक्रको महत्त्व स्थापित भई सही जलयात्राको थालनी हुनेछ।
सफा-स्वच्छ पानी सहित बगेर मनुष्य, प्राणी र वनस्पतिको आवश्यकता पूर्ति गर्नु नदीको धर्म हो। धेरैतिर उपल्लो भेगमा विद्युत् उत्पादन लगायत प्रयोजनका लागि पानी अन्यत्र मोड्दा या नदी थुन्दा तल्लो खण्ड सुक्खा बनेका छन्। स्थानीय समुदाय र नदीको पारिस्थितिक प्रणालीमा यसको नकारात्मक असर परेको छ। तटबन्ध र कंक्रिटको पर्खालले साँघुरो पारिएका नदीहरू सहज बग्न पाउँदैनन्, बगरबाट ती खण्डित भएका छन्। नदीलाई यसरी खुम्च्याइनु हुँदैन, बग्ने बाटो सुनिश्चित गरिनुपर्छ।
ङ. जलचक्रमा नमिसाई फोहोर व्यवस्थापन
आधुनिक कालखण्ड शुरू भएसँगै मलमूत्रलाई घर-बस्तीबाट टाढा फाल्ने चलन चल्यो। ढल प्रशोधन गर्ने तौरतरीका विकास गरेर प्रयोगमा ल्याइए। सन् १९५० पछि काठमाडौंमा पनि फ्लस ट्वाइलेटको प्रयोग बढ्न थाल्यो। अब त काठमाडौं बाहिर पनि यसको प्रयोग बढ्दो छ।
ट्वाइलेटका मलमूत्र प्रशोधन नगरी नदीनालामा फालिन्छ। औद्योगिक फोहोर पनि सीधै नदीमै मिसाइन्छ। उद्योगका फोहोर औद्योगिक परिसरभित्रै प्रशोधन गर्नु लगानीकर्ताको दायित्व भए पनि ऐन-कानून पालनामा कडाइ नहुँदा मनपरी भइरहेको छ। दक्षिणएशियाका शहरी क्षेत्रमा ढलको उचित व्यवस्थापन दिनानुदिन चुनौती बनिरहेको छ।
अर्कातिर, हाम्रा नदीहरू प्लास्टिकका फोहोरले भरिएका छन्। फोहोरी संस्कारले जरा गाड्दै जाँदा हाम्रो विकासको बाटो नै यही हो भन्ने मान्यता स्थापित हुँदै गएको छ। बगेको पानीमा फोहोर तथा मलमूत्र फाल्ने असभ्यता अब फेर्नुपर्छ।
च. परिधि बदलिएको जलचक्र
जलचक्र जलवायु प्रणालीको अभिन्न अंग हो। जलवायु परिवर्तनको प्रभाव जलचक्र हुँदै पानीको संसारमा आइपुग्छ। गर्मीले हिउँ र हिमताल पग्लिने, विषम वर्षा, खडेरी र वाष्पीकरण बढ्ने जस्ता वर्षाको बदलिंदो चरित्रका कारण जलचक्रका प्रक्रिया बिथोलिन्छन्। यसै पनि डेढ सय वर्षयता प्रायः सबै मुलुकमा विकास एवं अन्य हस्तक्षेपका कारण प्राकृतिक जलचक्रमा परिवर्तन भइसकेको छ।
लामो अन्तरालमा जलचक्र आफ्नो परिधिभित्र स्थिर हुन्छ। जाडो, गर्मी, अधिक वर्षा हुने या वर्षा नहुने प्रक्रिया त्यही परिधिभित्र रहन्छ। जलवायु परिवर्तनले जलचक्र प्रणालीमा विचलन ल्याएको हुँदा जलचक्रको परिधि अस्थिर बन्न पुगेको छ। यसको ज्वलन्त उदाहरण २०२२ अगस्टमा पाकिस्तानमा आएको बाढी हो। जलवायु परिवर्तनले वर्षाको चरित्रलाई विषम बनायो र त्यहाँ ठूलो बाढी आयोे।
विद्यमान प्रणाली र संस्थागत संरचना बाढीसित जुध्न सक्षम छैन। यही कारण पाकिस्तानमा जनधनको ठूलो विनाश भयो। अहिलेको नदी व्यवस्थापन विधि जलवायु र मनसुनी प्रणाली स्थिर रहेको समयमा विकसित र स्थापित भएको हो।
स्थिर परिधिको मान्यतामा गरिएका डिजाइन र व्यवस्थापन विधिहरू अपूरो-अपर्याप्त ठहरिएका छन्। परिवर्तित जलचक्रलाई ध्यानमा राखेर नयाँ विधि विकास, कार्यान्वयन, अनुगमन र परिमार्जनको क्रम जारी राख्नुपर्छ।
छ. प्रकृति-मानव अनुकूल आवास विकास
जलवायु परिवर्तनले तापक्रम मात्र नभएर आर्द्रता पनि बढाउन थालेको छ। फलस्वरूप असार, साउन, भदौ र असोजका दिनहरूमा आर्द्रताका कारण तापक्रम ज्यादा नभए पनि उखरमाउलो गर्मी अनुभव गर्न थालिएको छ। हालकै दरमा वायुमण्डलमा कार्बनडाइअक्साइड फालिने हो भने भविष्य झन् उखरमाउलो हुनेछ।
यो स्थितिसित जुध्न कार्बन उत्सर्जन त व्यापक रूपमा घटाउनै पर्यो। साथै, शहर व्यवस्थाको नयाँ परिकल्पना र कार्यान्वयन अपरिहार्य भइसक्यो। नयाँ शहरी व्यवस्थामा रैथाने रूखबिरुवा, खुला ठाउँ र पानीका प्राकृतिक स्रोतको संरक्षण, नतात्ने घर डिजाइन/निर्माण, उपयुक्त सामग्री प्रयोग, पूर्वाधार निर्माणमा तातो सोस्ने कंक्रिट र अलकत्राको प्रयोगमा कमी, जलवायुमैत्री घर, परिमार्जित कोड, साइकल र यात्रुमैत्री यातायात प्रणाली आदिलाई उखरमाउलो गर्मी कम गर्ने आधार बनाइनुपर्छ।
ज. संयोजित जलशिक्षा
व्यवस्थापनका प्रचलित तौरतरीकाले जलप्रणालीलाई प्राकृतिक विज्ञानको आँखाबाट मात्रै व्याख्या गर्यो। प्राकृतिक विज्ञान आवश्यक तर अपूरो आधार हो। किसानहरूले गर्ने पम्पको प्रयोग, त्यसमा लाग्ने लगानी र खर्च, समूहहरूमा पानीको बाँडफाँड समाजशास्त्रको विषय हो। जल व्यवस्थापनमा प्राकृतिक विज्ञानको साथै जीवविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, लैंगिक सन्दर्भ र कानूनले पनि उत्तिकै महत्व राख्दछन्।
पानी-नदी उपयोग र व्यवस्थापनमा पुर्ख्यौली/स्थानीय ज्ञान प्रयोग हुन्छ, केही हदमा भइरहेका पनि छन्। पुर्ख्यौली/स्थानीय ज्ञानको नियमित अभिलेखीकरण नभए ती हराउँछन्। हाम्रा धेरै पुर्ख्यौली ज्ञान हराई नै सके। प्राकृतिक-सामाजिक विज्ञान, स्थानीय र परम्परागत ज्ञानको समष्टिगत जल शिक्षाको थालनी आवश्यक छ।
अन्त्यमा, हिजोआज हरेक दिन मलाई केही प्रश्नले विचलित पार्छन्। जलनिधिको प्रयोग/संरक्षणलाई किन सन्तुलनमा राख्न सकिएन? पुर्खाबाट पाएको स्वच्छ-सन्तुलित नदी प्रणाली ५०-६० वर्षमै किन फोहोर बन्न पुगे? यो हाम्रो सामूहिक चेतना एवम् सभ्यताको विचलन हो या प्रचलित विकासयात्राको नियति? मेरो पिरलो-परिकल्पना कसले सुन्ला, कसरी सम्बोधन होला?
हालै काठमाडौंमा भएको विश्व सामाजिक मञ्च सम्मेलनमा आएका म्यागसेसे र स्टकहोम वाटर अवार्ड विजेता मित्र राजेन्द्र सिंहसँग ठमेलको एउटा होटलमा जल-विवेकबारे लामै मन्थन भयो। मैले ‘मान्छे जति शिक्षित, नदीहरू त्यति नै खराब’ भन्दा उनले भने, “नदीलाई फोहोरमैला ढुवानी गर्ने मालगाडी सरह बनाइएको छ।”
‘रूपान्तरण कसरी होला?’ भन्ने प्रश्नमा उनले माथि उल्लिखित परिकल्पना सुनाए। यो परिकल्पना सिमानानिरपेक्ष सामाजिक प्रतिबद्धता बन्न सक्ला? सरकार, बजारका पात्र र समुदायका प्रतिनिधिको ध्यान तान्ला? यी प्रश्नका उत्तर हाम्रो जलयात्राको पहिलो पाइला बन्न सक्छन्। हजारौं किमि लामो यात्राको शुरूआत पहिलो पाइलाबाटै हुने त हो नि!
यी संकथन, परिकल्पना र प्रश्नको विमर्श आजको आवश्यकता हो। यी विषयमा मनको आँखा खोलौं र नयाँ भाष्य खोजौं। आखिर नदी र पानी विना न शरीर रहने छ, न त मन।
(सम्पादन : आनन्द राई, भाषा : प्रद्युम्न खनाल)