स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड
महिलामाथि हुने हिंसाका घटना कम गर्न स्रोतसाधनमा महिलाको पहुँच बढाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार र न्यायिक प्रक्रियाबारे समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताए। घरपरिवार र आफन्तबाटै महिला पीडित हुने गरेका घट्ना बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे। महिलाको क्षमता र दक्षता बढाउन लगानी गर्नुपर्नेमा अध्यक्ष मगरले जोड दिए।
अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आयोजित ‘महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण’ सम्बन्धी अन्तर्क्रियामा बोल्दै मानव अधिकार आयोगकी सदस्य लिली थापाले विभेद अन्त्य गर्न महिलाको हातमा शक्ति पुर्याउनुपर्ने बताइन्।
त्यस्तै, आयोगका सदस्य मनोज दवाडीले साधनस्रोतमा महिलाको पहुँच बढाउनुपर्ने बताए। कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष कुन्दन अर्यालले पीडितको संरक्षणमा संवैधानिक आयोगहरूले ध्यान दिन जरुरी रहेको बताए।