सुनको भाउ बढेको बढ्यै, पाँच वर्षमै दोब्बर
सुनको मूल्य लगातार बढिरहेको छ भने बिहीबार नेपाली बजारमा प्रतितोला एक लाख २५ हजार रुपैयाँ हाराहारीमा किनबेच भइरहेको छ।
सुन अहिलेसम्मकै महँगो भएको छ। एक महीनाको अवधिमा सुनको मूल्य प्रतितोला करीब सात हजार रुपैयाँले बढिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढेर जाने अनुमान गरिएको छ। तर कतिसम्म बढ्छ भन्ने जवाफ कसैसँग छैन। दुर्लभ पहेलो धातुको मूल्य विश्व बजारमा यसको मागमा निर्भर हुने गर्छ। किनभने यसको आपूर्ति सीमित छ। बितेको पाँच वर्षकै बीचमा सुनको मूल्य दोब्बर भइसकेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पाँच वर्ष पहिले २०७५ चैतमा सुनको मूल्य अधिकतम ६० हजार ६०० रुपैयाँ थियो। त्यसयताका हरेक वर्ष सुनको मूल्य तीव्र गतिमा बढिरहेको छ।
बेलायती अखबार द गार्जियनले मध्यपूर्वमा जारी तनाव र अमेरिकाको केन्द्रीय ब्यांकले ब्याजदर घटाउने अनुमानले गर्दा सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेको बताएको छ। खासगरी वित्तीय र राजनीतिक अनिश्चितताबीच लगानीका लागि सुन सबैभन्दा सुरक्षित मानिन्छ।
बजारको चर्को मूल्य नियन्त्रण गर्न ब्याजदर बढाएका संसारभरिका केन्द्रीय ब्यांकहरूले सुनको माग बढाएपछि यसको भाउ बढ्न सहयोग गरेको थियो। सन् २०२२ मा केन्द्रीय ब्यांकहरूले ऐतिहासिक रूपमा धेरै सुनको खरीद गरेका थिए। केन्द्रीय ब्यांकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि मुख्य सम्पत्तिका रूपमा सुनको मौज्दात बढाउने गर्छन्। विश्व अर्थतन्त्रको अनिश्चयका कारण सुनको माग थप बढेको र यसले मूल्य अझै बढाउँदै लैजाने विश्लेषण गरिएको छ।
लगानीकर्ताका लागि पनि सुन प्रतिफलका हिसाबले आकर्षक र सुरक्षित मानिन्छ। जस्तै- डेढ दशकअघि प्रतितोला २७ हजार हाराहारी रहेको सुनको भाउ अहिले एक लाख २५ हजार रुपैयाँ पुगिसकेको छ। यसले ३६३ प्रतिशतको वृद्धि देखाउँछ।
नेपालमा घरजग्गाको मूल्य उच्च बिन्दुमा पुगिसकेका कारण लगानी सुरक्षित नहुने तथा शेयर बजार अनिश्चित भएका कारण सुन सबैभन्दा सुरक्षित र प्रतिफल दिने लगानीको माध्यम मानिएको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार यस आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महीनामा नेपालले ११ अर्ब ८७ करोड रुपैयाँको सुन आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ५९ प्रतिशत थोरै हो। सुनको मूल्य अचाक्ली बढेका कारण माग घटेको व्यवसायीको अनुमान छ।
सुनको मूल्य पछिल्ला दशकहरूमा जस्तो चर्कोसँग यसअघि बढेको थिएन। करीब दुई शताब्दीअघि सन् १८०० तिर सुनको मूल्य प्रतिआउन्स करीब २० अमेरिकी डलरको हाराहारी मात्रै थियो। ५० वर्षअघि सन् १९७२ तिर पुग्दा ६४ डलर हाराहारी मात्रै पुगेको थियो। तर त्यसयता सुनको मूल्य अविश्वसनीय ढंगमा बढ्यो।
सन् १९७३ तिर प्रतिआउन्स १०० डलर नाघेको सुनको मूल्य त्यो दशकको अन्त्यतिर पुग्दा ५९० आउन्सको हाराहारी पुगिसकेको थियो। सन् १९९० को दशकभरि मूल्य घटे पनि पछिल्ला दुई दशकमा भने सुनको भाउ अभूतपूर्व गतिमा बढेको छ। एक दशकअघि सन् २०१३ तिर एक हजार २०० डलर प्रतिआउन्स जति रहेको सुनको मूल्य अहिले दुई हजार १३५ डलर प्रतिआउन्सको छेउछाउ पुगेको छ।
देख्नमा चित्ताकर्षक यो धातुको लोकप्रियतामा कहिल्यै कमी आएको छैन। मुद्राको प्रचलन आउनुअघि कारोबारको मौद्रिक माध्यमका रूपमा यो धातु प्रयोग हुन्थ्यो। मौद्रिक हरहिसाबका लागि नोट र अरू माध्यम प्रयोगमा आए पनि सुनको स्वीकार्यता र साख अविछिन्न कायम रह्यो। लगानीका लागि मात्रै होइन, गरगहना तथा केही विद्युतीय र चिकित्सा उपकरणमा पनि सुन प्रयोग हुन्छ। सानो टुक्रालाई पनि तन्काएर लामो बनाउन सकिने सुनले नखिइने, जीर्ण नहुने र नाश भएर नजाने गुण बोकेको हुन्छ।
मूल्यमा लगातार बढोत्तरीले न्यून क्रय क्षमता भएका आमनागरिकका लागि भने सुन अझै दुर्लभ बन्दै जानेछ।