गठबन्धन फेर्ने यस्ता छन् दाहालले दिएका सात कारण
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन फेर्नुपर्ने सात करण संसद्मा सुनाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा नयाँ राजनीतिक घटनाक्रमबारे बोल्दै प्रधानमन्त्री दाहालले शुरूमै ११ महीनाको साथ-समर्थनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र नेताहरूप्रति आभार प्रकट गरे। उनले सत्ता समीकरण फेरिए पनि व्यक्तिगत सम्बन्ध उस्तै रहेको सुनाए।
दाहालले कांग्रेससँगको गठबन्धनबाट कुनै अप्ठ्यारो नभएको उल्लेख गरे। “म कुनै अप्ठ्यारोमा थिइनँ,” दाहालले भने, “व्यक्तिगत अविश्वास केही थिएन।”
किन गठबन्धन फेरबदल गरे त? प्रधानमन्त्री दाहालले २०७९ सालको चुनावकै वेला गठबन्धनमा रहेका दलको क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेका थिए। २०७९ सालमा आमनिर्वाचनमा माओवादी, कांग्रेस लगायत ६ दलले गठबन्धन गरेका थिए।
चुनावमा कांग्रेसले माओवादीका उम्मेदवारलाई नसघाएको आरोप लगाए। “जुन तहमा माओवादीले सघायो, त्यही तहमा सहयोग पाइएन भन्ने मनोविज्ञान देशभर थियो,” दाहालले भने।
दोस्रो कारणमा उनले कोशी प्रदेशको सत्ता समीकरणलाई लिए। “कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले माओवादी विरुद्ध विद्रोह गर्यो। दण्डित हुनुपर्थ्यो, पुरस्कृत गरियो,” दाहालले भने।
सत्ता गठबन्धनबीच कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेतालाई सघाउने सहमति भएको थियो। तर कांग्रेसको डा. शेखर कोइराला समूहले एमालेसँग मिलेर सरकार गठन गरेको थियो। कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन्।
प्रधानमन्त्री दाहालले तेस्रो कारणमा राष्ट्रिय सभाको निर्वाचनलाई उल्लेख गरे। “मुख्यमन्त्रीमा विद्रोह गरेको समूहले नै राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित गरायो,” उनले भने।
गत माघमा भएको निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए भने माओवादीका उम्मेदवार पराजित भएका थिए।
गठबन्धन भत्काउनुपर्ने चौथो कारणमा कांग्रेस महासमिति बैठकको निर्णय भएको दाहालले उल्लेख गरेका छन्। “कांग्रेस महासमिति बैठकमा पनि त्यस्तै छलफल भयो, गठबन्धन विरुद्ध,” उनले भने, “निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारको मानमर्दन गरियो।”
कांग्रेस महासमिति बैठकमा भएका अन्य गतिविधिलाई पनि दाहालले गठबन्धन भत्काउनुपर्ने कारणमा उल्लेख गरेका छन्। उनले पाँचौं कारणमा महासमिति बैठकमा स्टल नै राखेर धर्मनिरपेक्षता विरुद्ध हस्ताक्षर संकलन गरिएको जिकिर गरे।
छैटौं कारणमा माओवादी सशस्त्र विद्रोहबारे कांग्रेस महासमिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा पनि दाहालले असन्तुष्टि जाहेर गरे। “कांग्रेस महासमिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा जनयुद्धको विद्रूपीकरण गरियो,” दाहालले भने, “मिलिसकेका वैचारिक विषयमा पनि शंका र अविश्वासको वातावरण बन्यो।”
यससँगै प्रधानमन्त्री दाहालले कांग्रेसका मन्त्रीले सहयोग नगरेको भन्दै सातौं कारणका रूपमा उल्लेख गरेका छन्। “साथीहरूले व्यक्तिगत रूपमा माया गर्नुभयो तर कामकाजका रूपमा न्याय गर्नुभएन,” दाहालले भने।
आफ्नो पद जोखिममा नभए पनि यिनै कारणले गठबन्धन भत्काउनुपरेको दाहालको भनाइ थियो। “म सरकारको गतिसँग असन्तुष्ट थिइनँ। औसत र तदर्थ सरकारका चलाएर पद जोगाउने कि पदको जोखिम उठाएर देश परिवर्तनमा लाग्ने, मैले दोस्रो रोजें,” प्रधानमन्त्री दाहालले भने।