प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरेको कांग्रेसको ठहर
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको नेपाली कांग्रेसले ठहर गरेको छ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो ठहर गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो। यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छौं।”
प्रधानमन्त्री दाहालले गठबन्धन भत्काएर देशलाई अस्थिरतातिर धकेलेको कांग्रेसको आरोप छ। “अविश्वसनीय ढंगले गठबन्धन भत्काउनुभयो। गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल, अनिश्चिततातर्फ लैजाने काम गर्नुभयो,” लेखकले भने।
यससँगै कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
त्यसकै आधारमा संसदीय दलले पनि निर्णय गरेको उनले बताए। यस विषयमा आजै सभामुखलाई जानकारी गराइने लेखकले बताए।