प्रधानाध्यापक हुँदै मन्त्री बनेका बलराम
१७ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय अधिकारी लामो समय शिक्षण पेशामा पनि आबद्ध थिए।
बुधबार भएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा नेकपा (एमाले)बाट आठ जना सरकारमा सहभागी भए। तिनैमध्ये एक हुन्- बलराम अधिकारी।
कपिलवस्तुको वाणगंगा नगरपालिका-८, चप्परगाउँ निवासी अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री नियुक्त भएका हुन्। पछिल्लो समय थुप्रै सहकारी संस्था समस्याग्रस्त भएको, बचतकर्ताको रकम हिनामिना गरेर सहकारी सञ्चालक फरार भएको परिप्रेक्ष्यमा अधिकारीको कार्यकाल चुनौती र अवसर दुवैले घेरिएको देखिन्छ। यस्तै, भूमिसँग जोडिएका स्वर्गद्वारी गुठीपीडित किसानहरूको लामो समयदेखिको आन्दोलनलाई सम्बोधन गर्ने जिम्मा पनि नवनियुक्त मन्त्री अधिकारीमाथि छ।
यस्तो छ राजनीतिक पृष्ठभूमि
अधिकारी २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कपिलवस्तु १ बाट निर्वाचित भएका थिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनका साझा उम्मेदवार माओवादीका चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले पराजित गर्दै अधिकारी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
अधिकारीले ३६ हजार ६१९ मत प्राप्त गर्दा खनालले १८ हजार १९० मत मात्र पाएका थिए।
अधिकारीको संसदीय निर्वाचन यात्रा भने २०५६ सालबाटै शुरू भएको थियो। २०५६ सालमा कपिलवस्तु ३ बाट उम्मेदवार भए पनि उनले हार बेहोरेका थिए। यस्तै, २०६४ सालको संविधानसभा निर्वाचनमा कपिलवस्तु १ बाट प्रतिस्पर्धा गरेका उनी त्यस वेला पनि पराजित नै भए।
तेस्रो प्रयासमा भने २०७० को संविधानसभा सदस्य निर्वाचनमा कपिलवस्तु १ बाट उनी विजयी भए। त्यसयता चर्चामा आएका अधिकारी २०७९ को निर्वाचनमा त दोब्बर मतले निर्वाचित भए।
निरन्तर दोस्रो पटक जित हासिल गरेपछि अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक बनाउने प्रस्ताव समेत राखेका थिए। यद्यपि उनले त्यो जिम्मेवारी पाएनन्।
निर्वाचनपछि गत पुस १० मा बनेको एमाले र माओवादी सहितका दलहरूको गठबन्धनमा पहिलो पटक अधिकारी मन्त्री बन्ने चर्चा भएको थियो। तर अन्तिम समयमा उनको नाम फिर्ता भएको थियो। अहिले १४ महीनापछि भने अन्ततः अधिकारी मन्त्री बन्न सफल भए।
मादी गाउँपालिका, गोर्दे, कास्की निवासी बुबा रुद्रनाथ अधिकारी र आमा सरस्वती अधिकारीको कोखबाट २०१७ साउन ४ गते जन्मिएका उनी १७ वर्षकै उमेरदेखि सक्रिय राजनीतिमा लागेका थिए। २०४३ सालमा कास्कीबाट कपिलवस्तु बसाइँ सरेपछि अधिकारीकै नेतृत्वमा नेकपा माले पार्टी सम्पर्क कमिटी गठन भएको थियो।
२०४७ सालमा एमाले गठन भएपछि जिल्ला सचिवालय सदस्य र संगठन विभाग प्रमुख भएका अधिकारी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अहिले पनि उनी पार्टीको कपिलवस्तु इन्चार्जको जिम्मेवारीमा छन्। उनले दुई वर्ष लुम्बिनी प्रदेश समितिको कार्यालय सचिव भएर समेत काम गरेका छन्।
अधिकारी लामो समयसम्म शिक्षण पेशामा पनि आबद्ध थिए। उनी सुन्दरी डाँडा माध्यमिक विद्यालय, शिवगढीमा प्रधानाध्यापकको जिम्मेवारीमा थिए। पछि पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाउने भएपछि उनले प्रधानाध्यापकबाट राजीनामा दिएका थिए।
हिमालखबरसँगको संक्षिप्त कुराकानीमा मन्त्री अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधारका लागि अधितकम प्रयास गर्ने पनि बताए।