गगन थापाको प्रस्ताव- च्याँखे पार्टीलाई बन्द गर्ने संवैधानिक व्यवस्था गरौं
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘जता मल्कु उता ढल्कु’ हुने च्याँखे पार्टीहरूलाई बन्द गर्ने संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
२०७९ सालमा आफ्नो पार्टीसँग मिलेर ३२ सीट जितेको नेकपा (माओवादी केन्द्र)ले नयाँ गठबन्धन बनाए लगत्तै थापाले च्याँखे पार्टीहरू बन्द गर्नुपर्ने बताएका हुन्। थापाले बुधबार भिडिओ मार्फत आफ्नो धारणा राख्दै भने, “एउटासँग मिलेर अलिकति सीट ल्याउने, अर्कोसँग मिलेर सरकार बनाउन जाने च्याँखे पार्टीहरू छन् नि। यस्ता च्याँखे पार्टीहरूलाई बन्द गर्ने सन्दर्भमा संवैधानिक, कानूनी, राजनीतिक जे जे काम गर्नुपर्छ त्यो पनि गरौं।”
महामन्त्री थापाले च्याँखे थाप्ने दलकै कारण राजनीति अस्थिर र विकृत बनेको बताए। स्थिरताका लागि भनिए पनि चुनावअघिको गठबन्धनले राजनीतिक स्थिरता नभई विकृति दिएको उनको विश्लेषण छ।
“हाम्रो राजनीतिलाई निरन्तर रूपमा अस्थिर बनाएर राख्ने, जहिल्यै च्याँखे थापी राख्ने, जहिल्यै यसलाई फोहोर बनाई राख्ने शक्तिलाई अब ठीक ठाउँमा पुर्याउनुपर्छ,” थापाले भनेका छन्, “यसका लागि उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने, कसरी समझदारी बनाउने भन्नेमा हामी सचेत पनि छौं र काम पनि गरिरहेका छौं।”