यो सरकार फतक्क कुहिएर झर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार आफ्नै भारीले थिचिएर समाप्त हुने बताएका छन्।
बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, “यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिंड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ।”
महामन्त्री थापाले गठबन्धन टुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने जस्तो कोशीको निर्वाचन, कांग्रेस महासमितिको दस्तावेज लगायतका विषय जिम्मेवार नभएको बताए। “यि सबै बहानाबाजी हुन्, ल कांग्रेससँग त समस्या थियो रे, सहमति अनुसार माधव नेपाल प्रधानमन्त्री बन्नु अघि नै गठबन्धन कि टुटाइयो त?“
२०७९ को चुनाव नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरेर लडेकाले २०८४ सम्म माओवादीसँगको गठबन्धनलाई कांग्रेसले कायम राख्न चाहेको थापाको भनाइ छ।