प्रधानमन्त्री दाहालका नयाँ सारथि
नयाँ सत्ता समीकरणका आधारमा पुष्पकमल दाहाल नेतृत्वको सरकार पुनर्गठन भएको छ।
दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्।
प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी छ। एमालेबाट मन्त्री हुने अन्यमा पदम गिरी (कानून, न्याय तथा संसदीय मामिलामन्त्री), हरि उप्रेती (रक्षामन्त्री), भगवती चौधरी (महिला, बालबालिका तथा समाज कल्याणमन्त्री), राजेन्द्र राई (खानेपानी तथा सरसफाइमन्त्री), दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री), ज्वालाकुमारी साह (कृषि तथा पशुपन्छी विकासमन्त्री) र बलराम अधिकारी (भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री) छन्।
रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। यस्तै डीपी अर्याल (श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री), विराजभक्त श्रेष्ठ (युवा तथा खेलकूदमन्त्री) र सुमना श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री) रास्वपाबाट सरकारमा सहभागी छन्।
यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका छन्। उनी यसअघि उपप्रधान तथा गृहमन्त्री थिए। यसैगरी वर्षमान पुन (अर्थमन्त्री), शक्ति बस्नेत (ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री), रेखा शर्मा (सञ्चार तथा सूचना प्रविधिमन्त्री) र हितबहादुर तामाङ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) माओवादीबाट सरकारमा सहभागी छन्।
यीमध्ये माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डीपी अर्यालले सोमबारै शपथ लिइसकेका थिए। अन्य मन्त्रीले आज शितलनिवासमा आयोजित समारोहमा शपथ ग्रहण गरेका छन्।
यस्तै एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुढाले शहरी विकास मन्त्रालय पाएका छन्।
नयाँ सत्ता समीकरण बनाउने क्रममा सोमबार एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)बीच आठबुँदे सहमति भएको थियो। तर यस पटकको मन्त्रिपरिषद् गठनमा जसपाले मन्त्री चयन गरेको छैन।