काठमाडौं आइरहेको बस त्रिशूलीमा खस्यो, चार जनाको मृत्यु
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
आज बिहान लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५, घाटबेंसीमा दुर्घटना भएको हो। बस पृथ्वी राजमार्गबाट करीब १०० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए।
प्रहरी उपरीक्षक केसीका अनुसार चार जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको उनले बताए।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारका लागि आइपुगेको उनले बताए।
बसचालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी रहेको केसीले बताए।