बागमतीमा निर्णायक राप्रपा
केन्द्रमा फेरबदल भएको राजनीतिक समीकरणसँगै बागमती प्रदेशमा भने राप्रपा निर्णायक बनेको छ।
संघीय सरकारका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीच नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकार पनि संकटमा पर्न थालेका छन्। झन् नजिकै रहेको बागमती प्रदेश सरकारमा पनि काठमाडौंको प्रभाव परेको छ।
तथापि प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू कसरी अघि बढ्ने भन्नेमा अलमलमै छन्। केही दल केन्द्रको निर्देशन पर्खिरहेका छन् भने केही अर्को दलले गर्ने निर्णय कुरिरहेका छन्।
अहिले माओवादी नेता शालिकराम जम्कट्टेलले सरकारको नेतृत्व गरिरहेका छन्। यही सरकार जोगाउन नयाँ बनेको गठबन्धनलाई भने सकस हुने देखिन्छ। किनकि गठबन्धनमा रहेका दलसँग सरकार बनाउनका लागि आवश्यक बहुमत पुग्दैन।
गठबन्धनमा सहभागी रास्वपा र जसपाका बागमती प्रदेश सभामा सांसद छैनन्। एमाले र माओवादीसँग बहुमतका लागि पर्याप्त सांसद संख्या पुग्दैन।
११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २७ र माओवादीका २१ गरी ४८ सीट मात्रै हुन्छ। सरकार बनाउन आठ सीट अपुग हुन्छ।
सरकार गठनका लागि गठबन्धनले अन्य दललाई पनि सहभागी गराउनुपर्ने हुन्छ। नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
अर्को विकल्प एमाले र माओवादीले राप्रपालाई सामेल गराउनु हो। बागमतीमा राप्रपाका १३ सांसद छन्। तर संघीय सरकारका लागि राप्रपालाई सामेल नगरिएकाले प्रदेशमा समर्थन पाउन मुश्किल देखिन्छ।
यसअघि कांग्रेस-माओवादी लगायत दलहरूको गठबन्धन थियो। कांग्रेस लगायतका दलको समर्थनमा माओवादीका जम्कट्टेल मुख्यमन्त्री बनेका हुन्। कसरी बहुमत पुर्याउने टुंगो नलागेको भए पनि नयाँ गठबन्धनमा रहेका दुवै दलले सरकारको नेतृत्वका लागि दाबी गर्न थालेका छन्।
एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया केन्द्रकै निर्देशन अनुसार अघि बढ्ने बताउँछन्। मुख्यमन्त्रीमा एमालेको दाबी भए पनि मुख्यमन्त्री लिने वा नलिने केन्द्रमा बन्ने सहमतिमा निर्भर हुने थपलियाको भनाइ छ। “अहिले केन्द्र र प्रदेशमा छलफल जारी छ, टुंगो लाग्न बाँकी छ,” थपलिया भन्छन्।
माओवादी प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल छलफलकै चरणमा रहेको बताउँछन्। “प्रदेशमा एमाले र माओवादीले मात्रै सरकार बन्दैन,” ढकाल भन्छन्, “सरकार बनाउन समर्थनका लागि अन्य दलसँग छलफल गरिरहेका छौं।”
बागमतीमा निर्णायक देखिएको राप्रपाले के गर्ने भन्ने निर्णय लिइसकेको छैन। राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापा केन्द्रको निर्णय नभई बोल्न सक्ने अवस्था नरहेको बताउँछन्। “अहिले हामी पर्ख र हेरकै अवस्थामा छौं,” थापा भन्छन्।
प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ सांसद छन्। माओवादी नेतृत्वको सरकारमा सहभागी कांग्रेसले ६ मन्त्रालय सम्हालिरहेको छ। केन्द्रमा फेरबदल भए पनि बागमतीको सत्ता समीकरण अहिले नै भत्किनसकेको कांग्रेस नेता एवं उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको भनाइ छ। “जति वेला पनि केन्द्रकै चाबीले चल्छ भन्ने हैन, हाम्रो पनि निर्णय हुन सक्छ,” चित्रकार भन्छन्, “नेपाली कांग्रेस संयमित छ, हतारमा निर्णय गर्दैन।”