फिल्डमा फर्किन आतुर प्रीति राई
घुँडाको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेकी फूटबलर प्रीति राई फिल्डमा फर्किन आतुर छिन्।
साउदी अरबमा सम्पन्न ‘वाफ (पश्चिम एशियाली फूटबल एशोसिएशन) वुमेन्स च्याम्पियनशिपमा पहिलो पटक भाग लिएको नेपाली महिला फूटबल टीम उपविजेता भएर फर्किएको छ। जोर्डनसँगको फाइनल म्याचमा पराजित भए पनि नेपाली महिला फूटबलरहरू दर्शकको मन जितेर चर्चाको विषय बने। साथै, महिला फूटबलप्रतिको आकर्षण पनि बढाइदिए।
चर्चाको त्यही लस्करमा छिन्, प्रीति राई। नेपाली महिला राष्ट्रिय फूटबल टीमकी मिडफिल्डर। आखिर उनकै गोलले त नेपाली टीमलाई सेमिफाइनलबाट फाइनलमा पुर्याएको थियो। लेबनानसँगको खेलमा निर्धारित समय सकिएपछिको पाँच मिनेटको इन्जुरी टाइममा पाएको कर्नर किकमा उनले लङ शट गोल गरेकी थिइन्।
उनी आफैं भने ह्वीलचेयरमा फर्किएकी छन्। फाइनल खेलमा घुँडामा चोट लागेकाले उनको उपचार भइरहेछ। बीएन्डबी अस्पतालमा उपचारका क्रममा रहेकी १९ वर्षीया प्रीतिको घुँडाको शल्यक्रिया भएको छ। फिजियोथेरापी गरेको तीन महीनापछि उनी पुनः मैदान फर्किन सक्छिन्।
शल्यक्रियाका लागि अपरेशन थिएटरमा जानुअघि गरिएको संक्षिप्त कुराकानीमा उनले पूर्णतः स्वस्थ भएपछि पुनः मैदान फर्किने अठोट गरेकी छन्। भन्छिन्, “मैदानमा पुगेपछि ज्यानको माया नगरी खेल्ने भएकाले होला, म घाइते भइरहेकी हुन्छु। तर उपचार गरेर फर्किएपछि कुनै पनि खेल बिगारेकी छैन। अब पनि यस्तै हुन्छ भन्ने अपेक्षा छ।”
त्यसो त घाइते भइरहँदा वेलाबखत निराशाको हदसम्म पनि पुग्ने गरेको बताउँछिन् उनी। तर राष्ट्रिय महिला फूटबल टीमकी फिजियोथेरापिस्ट नवीना श्रेष्ठले आमाले सरह स्याहार गरेर शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने गरेकाले हरेक पटक लड्दा पुनः उठ्ने हिम्मत पलाएको सुनाउँछिन् उनी।
त्यसैले लेबनानसँगको निर्णायक गोल श्रेष्ठलाई समर्पण गरेकी उनले भनिन्, “हामी घाइते भएपछि आमाले जस्तो स्याहारेर फेरि खेल्न सक्ने बनाउनुहुन्छ उहाँले। अहिले पनि घाइते छु। फेरि ठीक बनाउनुस् र अर्को पटक फेरि गोल समर्पण गर्न सकूँ।”
सोलुखुम्बु महाकुलुङ गाउँपालिका स्थायी घर भएकी प्रीति वाफ च्याम्पियनशिपको फाइनल खेललाई अहिलेसम्मको उत्कृष्ट खेल ठान्छिन्। उपविजेतामा सीमित हुन परे पनि उक्त खेलले धेरै थोक सिकाएको उनको अनुभव छ।
उनकी आमा ज्ञानमाया राईका शब्दमा उनी ‘देशकी छोरी’ भएकी छन्। हुन पनि लेबनान विरुद्धको गोलपछि उनलाई नेपालका प्रशंसकहरूले ‘नेपालकी मेस्सी’ भन्न थालेका छन्।