सगरहवामा शाक्य–संहारबारे भ्रम सिर्जना गर्ने मूर्तिकला
प्राचीन गणराज्य कपिलवस्तुमा भएको शाक्यहरूको नरसंहारबारे हालै कार्यशालामा बनाइएका कलाकृतिहरूले ऐतिहासिकता बोल्नु साटो भ्रमको प्रसार गरेका छन्।
प्राचीन शाक्य गणराज्य कपिलवस्तुको सगरहवा ऐतिहासिक र पुरातात्त्विक स्थल हो। गौतम बुद्धको जीवनको उत्तरार्द्धतिर इपू ४८५ मा कोशल राज्यका नरेश विडुडभले शाक्यहरूको सामूहिक वध गरेको क्षेत्र मानिन्छ यो। गत माघको चौथो साता सगरहवा पुग्दा सोही नरसंहारको झल्को दिन बनाइएका कलाकृतिहरू हेर्ने अवसर मिल्यो। पुरातात्त्विक थलोमा ती कलाकृतिको औचित्यबारे मनन गर्नुपर्ने आवश्यकताबोध पनि भयो।
सर्वप्रथम, ऐतिहासिक घटनाका रूपमा रहेको उक्त नरसंहार कहिले, किन, कसरी भयो र त्यसको प्रभाव कस्तो पर्यो भन्ने सन्दर्भमा पृष्ठभूमि र ऐतिहासिकता केलाउनु उपयुक्त होला।
कोशल नरेश प्रसेनजित गौतम बुद्धलाई अत्यन्तै श्रद्धा गर्थे। यही श्रद्धा स्वरूप शाक्य कन्यासँग विवाह गरेर उनीबाट जन्मेको सन्तानलाई आफ्नो उत्तराधिकारी बनाउने उनको सोच थियो। उनले शाक्य गणराज्य कपिलवस्तुका शाक्यहरूसँग शाक्य कन्यासँग विवाह गर्न इच्छुक रहेको सन्देश पठाए। तर कपिलवस्तुका शाक्यहरू रक्त शुद्धतामा बडो सजग थिए। शाक्य कन्या प्रसेनजितलाई दिंदा रक्त शुद्धता कायम नरहने र शाक्य कुलको गरिमामा आँच आउने उनीहरूको बुझाइ थियो। त्यसैले कन्या दिने उनीहरूको मनस्थिति थिएन, तर कोशल नरेशको प्रस्ताव ठाडै अस्वीकार गर्ने हैसियत पनि कपिलवस्तुसँग थिएन।
तत्कालीन राजनीतिक परिदृश्यमा कपिलवस्तु निरीह थियो। ठूला १६ वटा राज्य १६ महाजनपदका रूपमा थिए भने अन्य ससाना ५० भन्दा बढी राज्य जनपद कहलिन्थे। कपिलवस्तुको हैसियत जनपदको मात्रै थिएन, कोशल महाजनपदको अधीनमा थियो। बौद्ध साहित्यहरूमा कपिलवस्तुलाई अत्यन्त शक्तिशाली राज्यका रूपमा चित्रण गरिए पनि ऐतिहासिक रूपमा त्यसको ठीक उल्टो थियो। त्यहाँको राजकाज कोशल राज्यको तजबिज र कृपामा चल्थ्यो।
प्रसेनजितको प्रस्ताव लत्याएर कोपभाजनमा पर्नुुभन्दा बरु सम्पूर्ण कुरा गोप्य राख्ने गरी शाक्य कन्या भनेर दासी नागमुण्डाकी छोरी वासभ खत्तीयालाई कोशल दरबारमा पठाउने योजनालाई कपिलवस्तु दरबारले साकार पार्यो। उनीबाट जन्मिएका विडुडभलाई राजगद्दीको उत्तराधिकारी पनि बनाइयो।
मामाघर कपिलवस्तु जाँदा विडुडभले आफूभन्दा कान्छो उमेरका सदस्यहरूबाट कहिल्यै ढोगभेट पाउँदैनथे। आफूले मात्रै गर्नुपर्थ्यो। एक पल्ट आफू बसेर खाएको ठाउँ अशुद्ध भयो भनी दूधले पखालेको देखे। यति मात्र नभई आफू शाक्य कन्याबाट जन्मेको होइन भन्ने पनि थाहा पाए।
यो कुरा राजा प्रसेनजितको कानमा पुगेपछि विडुडभको उत्तराधिकारी पद खोसे। तर यस प्रकरणमा गौतम बुद्धले हस्तक्षेप गरी वासभ खत्तीया र विडुडभ दुवैको कुनै दोष नभएको भनी पद थमौती गराइदिए।
कपिलवस्तुका शाक्यहरूबाट भएको जातीय अपमानको ज्वाला विडुडभको मनमा दन्किरहेको थियो। प्रतिशोधस्वरूप शाक्यहरूको रक्तपात गर्ने संकल्प गरे।
त्यसैबीच बेग्लै घटनाको बदला लिन कोशल राज्यका सेनापति दीर्घकारायणले राजा प्रसेनजित विरुद्ध विद्रोह गरी राजगद्दीमा विडुडभलाई राखे। शासन हातमा आएपछि विडुडभ शाक्यहरूको संहार गर्ने उद्देश्यले कपिलवस्तुमाथि आक्रमण गर्न हिंडे। यो थाहा पाएर गौतम बुद्ध बीच बाटोमा आएर एउटा सुकेको रूखमुनि ध्यान गरेर बसे। बुद्धलाई देखेर राजा विडुडभले वरिपरि हरिया रूख र छहारी हुँदाहुँदै सुकेको रूखमुनि बस्नुको कारण सोधे। बुद्धले जस्तोसुकै अवस्थामा पनि बन्धुबान्धवको माया लाग्ने जवाफ दिए।
यसको तात्पर्य गौतम बुद्धले कपिलवस्तुमाथि आक्रमण नहोस् भन्ने चाहेको बुझेर विडुडभ आक्रमण स्थगन गरी फर्किए। तर उनीभित्रको अपमानको ताप शान्त भएको थिएन। दोस्रो र तेस्रो पल्ट आक्रमण गर्न जाँदा पनि गौतम बुद्ध पूर्ववत् बीच बाटोमै रोक्न आउँथे। त्यसपछि भने बुद्धले शाक्यहरूको कर्मको फल भनी फेरि रोक्न प्रयास गरेनन् र ठूलो नरसंहार भयो।
कोशल महाजनपदमा देखिएको शासकीय परिवर्तन मगध राजा अजातशत्रुलाई मन परेको थिएन। अपदस्थ राजा प्रसेनजित नाताले अजातशत्रुका फुपाजु थिए। उनले तत्कालै कोशल महाजनपद विरुद्ध भीषण आक्रमण गरेर आफ्नो राज्यमा विलय गराए। त्यसपछि कपिलवस्तु पनि स्वतः मगध अन्तर्गत पर्न गयो।
विडुडभले कपिलवस्तुमा आक्रमण गर्दा यसको अस्तित्व नामेट नै पारेको कतिपयको बुझाइ छ। तर त्यस्तो होइन। कपिलवस्तुमा शाक्यहरूको बसोबास पछिसम्मै कायम थियो। गौतम बुद्धको महापरिनिर्वाणपछि बुद्धको अस्थिधातु लिन आउनेहरूमा ‘कपिलवस्तुका राजाहरू’ थिए भन्नुको तात्पर्य कपिलवस्तु मगध अन्तर्गत परे पनि शाक्य गणराज्यको संरचना पूर्ववत् छँदै थियो। त्यति वेला कपिलवस्तुमा मात्रै नभई अन्यत्र पनि गणराज्यका गण सदस्यहरूलाई राजा भनिन्थ्यो।
बुद्धको अस्थिधातुको आठ भागमध्ये कपिलवस्तुले एक भाग पाएको थियो र आफ्नो ठाउँमा अस्थिधातु राखेर स्तूप बनाएको थियो। इसापूर्व २४९ मा मगध सम्राट् अशोक कपिलवस्तु आएका थिए। यस्तै, चिनियाँ यात्री फाहियान, ह्वेनसाङ र इचिङको पनि यात्रा वृत्तान्त पाइन्छन्। यी यात्रीहरू आउँदासम्म कपिलवस्तु नगर उजाड भइसकेको भनिए पनि ७०० भिक्षुको उपस्थिति देखाइनुले त्यहाँ सभ्यताको निरन्तरता भई नै रहेको देखाउँछ।
सन् १८९५ मा कपिलवस्तु र १८९६ मा लुम्बिनीको खोजी गर्ने पुरातत्त्वविद् डा. ए. फुहररले सगरहवाको पनि पहिचान गरेका थिए। उनी र उनीपछिका पुरातत्त्वविद्हरूले सगरहवाको उत्खनन गरी स्तूप र अन्य अवशेष भेटेका थिए। अचेल सगरहवाको ऐतिहासिक स्थल भनी लम्बुसागरलाई देखाउने गरिन्छ र यही पोखरीमा शाक्यहरूको वध गरिएको भनिन्छ। तर निश्चित पोखरीमा शाक्यहरूको हजारौंको संख्यामा वध गरिएको भन्नु उपयुक्त देखिंदैन, बरु यस क्षेत्रमा भन्न मिल्छ। लम्बुसागर वरिपरि खोजी र उत्खनन गरे थप ऐतिहासिक तथ्य भेटिने सम्भावना अझै छ।
शाक्यहरूको नरसंहार भएको झलक देखाउने भनी सगरहवामा पुस २३ देखि माघ ८ सम्म लुम्बिनी विकास कोषको आयोजनामा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, मूर्तिकला विभागको संलग्नतामा मूर्ति कार्यशाला सञ्चालन भएको थियो। कला कार्यशालामा बनाइएका सिर्जना लम्बुसागरको दक्षिणतिर राखिएका छन्। तर कुँदिएका आकृतिहरू जानकारी दिनेभन्दा बढी भ्रम सिर्जना गर्ने खालका छन्।
कुनै पनि ऐतिहासिक/पुरातात्त्विक स्थलमा त्यस सम्बन्धी कलाकृति राखिनुको तात्पर्य हो, त्यसले तत्कालीन समाज र परिवेशलाई आधिकारिक रूपमा झल्काउनुपर्छ। तर प्राचीन कपिलवस्तुको सामाजिक, सांस्कृतिक, राजनीतिक र सैन्य पाटोमा गहन अध्ययन नै नभइसकेको अवस्थामा कलाकारले कल्पना अनुसार कुँदेका कलाकृतिहरू यस स्थलमा राखिएका छन्। यसले यो काम उपयुक्त छ त भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
कार्यशालामा सिर्जित मानव आकृति, वेशभूषा, हातहतियार एवं अन्य कुराले ऐतिहासिकता देखाउँदैनन्। कलाकारले सुकेको रूखमुनि गौतम बुद्ध ध्यानमा बसेको देखाउने कोशिश गरेको मूर्तिमा कुनै मौलिकता छैन। बुद्ध मूर्तिमा उर्णा (बुद्धको निधारमा हुने विशेष रौं) नहुनु बुद्ध र बौद्ध कलाबारे सामान्य जानकारी पनि नहुनु हो। साथै, नरसंहार हुँदा बुद्धको उमेर ७८ पुगिसकेको भए पनि मूर्तिमा किशोरवय देखाउनुको अर्थ बुझ्न सकिन्न।
पक्कै पनि कला सिर्जनामा कलाकार स्वतन्त्र हुन्छन्। तर यसो भन्दैमा ऐतिहासिकतामा खेलबाड स्वीकार्य हुँदैन। सगरहवाको कार्यशालामा सिर्जित कलाकृति यस ठाउँमा नभएर ऐतिहासिक घटनामा आधारित कलाकारको स्वतन्त्र सिर्जना भनेर कुनै ग्यालरीमा राख्न सकिन्थ्यो।
ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरूमा तात्कालिक घटना झल्काउने भनी नयाँ सिर्जना राख्ने गरिएको कतै पाइँदैन। उत्खननपछि प्राप्त पुरावस्तुहरूको संरक्षण गरेर सार्वजनिक प्रदर्शनी गर्नु, प्राप्त वस्तुलाई त्यहीं वा अन्यत्रको संग्रहालयमा राख्नु वा तिनको रिप्लिका अन्यत्र बनाउने अभ्यास भने पाइन्छन्। सगरहवाको सन्दर्भमा त्यहाँका पुरावशेषहरूमा कुनै ध्यान नदिनु तर त्यही ठाउँमा नयाँ सिर्जनाहरू राख्दा यस ठाउँको ऐतिहासिक महत्त्वमा नै धक्का पुगेको छ। लुम्बिनी विकास कोषले सगरहवा क्षेत्रको अध्ययन-अनुसन्धान अगाडि बढाउने र प्राप्त ऐतिहासिक वस्तुको संरक्षण गरेर अन्य अनुसन्धाता तथा पर्यटकलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्छ।