नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय टी-२० शृंखलाको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
टिम भानले पाँच बलमा २१ रन प्रहार गर्दै नेदरल्यान्ड्सलाई उपाधि दिलाएका हुन्। उनले दुई चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेदरल्यान्ड्सका लागि मिचेल लेभिटले ५४, सिब्रान्ड इंगेलब्रिचले ४८, विक्रमजित सिंहले २९ र म्याक्स उडले २२ रन बनाए। नेपालका लागि कुशल मल्लले चार, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १८४ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५, कुशल भुर्तेलले २०, करण केसीले नौ, सोमपाल कामी र प्रतिश जीसीले ६-६ रन बनाए।
नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान, मिचेल लेभिट र सिब्रान्ड इंगेलब्रिचले दुई-दुई विकेट लिए।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलामा नामिबिया समूह चरणबाट बाहिरिएको थियो। अंकतालिकाको शीर्षस्थानमा रहेका नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका थिए।