धारिलो हतियार प्रहार गरी किशोरीको हत्या
मोरङको पथरी शनिश्चरे नगरपालिका-७ स्थित लामाटोलमा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या गरिएको छ।
लामाटोलमा धारिलो हतियार प्रहार गरी १५ वर्षीया ज्ञानकुमारी राईको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज कार्कीले बताए।
राति शौचालय जाने वेला उनको हत्या भएको हुन सक्ने प्रहरीको आकलन छ। गएराति १० बजे आवाज बाहिर निस्किँदा राईमाथि धारिलो हतियार प्रहार गरेको देखिएको उनका दाइ (मामाका छोरा) विमल राईले प्रहरीले बताएका छन्।
विमलले खबर गरे लगत्तै प्रहरी टोली घटनास्थल पुगेको एसएसपी कार्कीले बताए। धारिलो हतियार प्रहार भएकाले राईको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।
दुई वर्षदेखि उनी पथरी शनिश्चरेस्थित मामाघरमा बस्दै आएकी थिइन्। उनी पथरी शनिश्चरे-१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत थिइन्।
घटनाको प्रकृति गम्भीर रहेको एसएसपी कार्कीले बताए। उनका अनुसार कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन।