उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै
त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा आज बिहान ११:३० बजे फाइनल खेल शुरू हुनेछ। फाइनल खेलका सबै टिकेट बिक्री भएको नेपाल क्रिकेट संघले जनाएको छ। दर्शकको प्रवेशका लागि बिहान ८ बजे मैदानको गेट खुल्ने भएको छ।
नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। समूह चरणमा नेपालले शुरूआती दुवै खेल हारेको थियो भने पछिल्ला दुई खेल जितेर फाइनल यात्रा तय गरेको थियो।
नेदरल्यान्ड्स अंकतालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। नेदरल्यान्ड्सले दुई खेल जितेको थियो भने अन्तिम खेल पानी परेर रोकिंदा नामिबियासँग एक-एक अंक बाँडेको थियो।
नेपाल र नेदरल्यान्ड्सबीच भएका पछिल्ला पाँच खेलमा नेपाल नै बलियो देखिएको छ। नेपालले तीन खेल जितेको छ भने नेदरल्यान्ड्सले दुई खेलमा जित हासिल गरेको छ।
दुवै देशले खेलेका छुट्टाछुट्टै खेलमा भने नेदरल्यान्ड्सको रेकर्ड राम्रो छ। पछिल्ला पाँच खेलमा नेदरल्यान्ड्सले तीन खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो। एक खेल नतीजाविहीन भएको थियो।
नेपालले भने पछिल्ला पाँचमध्ये दुई खेल जितेको थियो। दुई खेलमा हार बेहोरेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो।