नेपाली नीतीश कुमार
पार्टी सत्तामा होस् वा राज्य सत्तामा टिकिरहन समीकरण परिवर्तन गरिरहने अन्तर्निहित स्वभाव हो, पुष्पकमल दाहालको जसले गठबन्धन परिवर्तनमा बिहारका नीतीश कुमारको झल्को दिन्छ।
यस्ता समाचारको लामो सूची बन्छ, जसमा आमजनता र तिनले दैनिक जीवनमा भोगिरहेका दुःख अटाउँछन्। तर बालुवाटारबाट आउने समाचारमा अर्कै शब्दावली छ, त्यो हो- गठबन्धन परिवर्तन, सत्ता निरन्तरता।
रातारात सत्ता गठबन्धन परिवर्तन गरेर पुष्पकमल दाहालले आफूलाई भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारको नेपाली संस्करणका रूपमा प्रस्तुत गरेका छन्। आधा दर्जन पटक गठबन्धन परिवर्तन गरेर ‘पल्टुराम’ को ख्याति पाएका छन्, नीतीश कुमारले। नेपालमा त्यसैलाई निरन्तरता दिएका छन्, दाहालले।
त्यसो त छविलाल दाहालबाट पुष्पकमल दाहालसम्मको उनको यात्रा नै सत्ताको दौड हो भन्न सकिन्छ। मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (मशाल)ले २०४३ सालमा गरेको असफल सशस्त्र अभ्यासबाट एकाएक पार्टी प्रमुख बन्न पुगेका दाहालको त्यसपछिको यात्रा सत्ता निरन्तरता हो। १० वर्षे सशस्त्र द्वन्द्वकालभरि होस् वा त्यसपछि क्रमशः पार्टी चोइटिंदै जाँदा होस्, पार्टी सत्ताको केन्द्रमा रहिरहन दाहालले सधैंभरि पार्टीभित्रका शक्ति समूहहरूको टकरावलाई उपयोग गरिरहे।
सशस्त्र संघर्षभर मोहन वैद्य नेतृत्वको ‘राष्ट्रवादी’ धार र बाबुराम भट्टराई नेतृत्वको ‘लोकतान्त्रिक’ धारबीचको विवाद उनको पार्टी सत्ता निरन्तरताको अस्त्र बनिरह्यो। कतिसम्म भने, यो मत बाझाबाझको उपयोग गरेर उनी २०५७ सालमा पार्टीको मार्गनिर्देशक सिद्धान्त नै ‘प्रचण्डपथ’ बनाउन सफल भएका थिए। सत्ता निरन्तरताका लागि कुनै समय वैद्यको टेको टेकेर भट्टराईलाई बन्दी समेत बनाएका दाहाल भारतीय भूमिमा बसेर ‘सशस्त्र संघर्ष’ गर्न असहज भएपछि भट्टराईकै सहयोगमा भारतीय आड लिन पुगे।
वैद्य भारतीय जेलमा रहेकै वेला २०६२ असोजमा भट्टराईको ‘लोकतान्त्रिक गणतन्त्र’को लाइन पारित गरेर २०६२-६३ सालको जनआन्दोलनको सफलतासँगै शान्ति प्रक्रियामा आएको माओवादीका लागि सत्तासंघर्ष जति पेचिलो थियो, शायद त्यो भन्दा कठिन थियो दाहालका लागि सत्तामा रहिरहन। शान्ति प्रक्रियामा आएसँगै पाएको सत्ता शक्तिको लत बसिसकेको थियो।
कुनै समय दाहालका राजनीतिक मित्र एवं विश्लेषक श्याम श्रेष्ठको नजरमा शान्ति प्रक्रियामा आएदेखि नै दाहालको अस्थिर चरित्र देखिन थालेको हो। “जता फाइदा भयो उतै कुद्ने उहाँको स्वभाव नै हो,” श्रेष्ठ भन्छन्।
हुन पनि शान्ति प्रक्रियामा आएयता उनी बाहेकको माओवादी सम्मिलित सरकार नगन्दा पनि दाहालले सात पटक गठबन्धन परिवर्तन गरिसकेका छन्। पार्टीको चुनावी घोषणापत्रको अन्तिम गातामा आफूलाई ‘गणतन्त्रको प्रथम राष्ट्रपति’ दाबी गरेर पहिलो संविधानसभाको निर्वाचनमा ठूलो मत ल्याएपछि २०६५ मा उनी प्रधानमन्त्री बने, नेकपा (एमाले)सँगको साझेदारीमा।
तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवालसँगको विवादपछि २०६६ वैशाखमा राजीनामा दिन बाध्य भएका दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्न भने सात वर्ष लाग्यो। यद्यपि त्यसबीच बनेका २०६६ सालको माधवकुमार नेपाल नेतृत्वको र २०७० सालको सुशील कोइराला नेतृत्वको सरकार छोडेर सबैमा नेकपा (माओवादी)को साझेदारी रहिरह्यो।
बाबुराम भट्टराईको प्रधानमन्त्रित्वमा सरकारको नेतृत्व पनि गर्यो। ती समेत गणना गर्ने हो भने, सत्ताका लागि माओवादीले गरेको गठबन्धन परिवर्तनको सूची अझ लामो हुन्छ।
२०७२ सालमा संविधान जारी भएपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि २०७३ सालमा दाहाल नेतृत्वको सरकार बन्यो, नेपाली कांग्रेससँगको सत्ता साझेदारीमा।
त्यसको दुई वर्षपछि आमनिर्वाचन लड्दासम्म भने दाहालको मनस्थिति फेरिइसकेको थियो। एमाले र माओवादी गठबन्धन गरेर चुनाव लडे। प्रत्यक्षतर्फ गठबन्धनले दुईतिहाइ सीट जितेपछि दुई पार्टी एक भए, नेकपाको नामकरण गरेर दुई पाइलट सहितको विमान भएको दाबी गर्दै।
त्यसयताका दिनहरूमा सिंगो संसारले कोभिड-१९ महामारी बेहोर्यो। त्यो महामारीको बीचमा नेपाली जनताले नेकपाका नेताहरू ओली, दाहाल र माधवकुमार नेपालको सत्ता लुछाचुँडी पनि खेपे। दुई-दुई पटकको संसद् विघटन प्रयत्न सर्वोच्च अदालतबाट असंवैधानिक सावित भएपछि ओली सरकार मात्रै अवसान भएन, नेकपा पनि तीन दलमा टुक्रियो, सर्वोच्च अदालतकै अर्को आदेशलाई बहाना बनाउँदै तर पार्टीभित्रको क्लेशलाई स्थापित गर्दै।
ओलीसँगको साझेदारीबाट सत्तारूपी सुख नपाएका दाहाल २०७९ सालमा कांग्रेससँग चुनावी गठबन्धन गर्न पुगे। तर उनको दल ३० सीटमा खुम्चिंदै तेस्रो बन्न पुग्यो। बीचैमा कांग्रेससँगको मनोमालिन्य बढेपछि चुनावी गठबन्धन तोड्दै उनी पुनः ओलीसँग साझेदारी गर्न पुगे। एमालेसँगको साझेदारीमा २०७९ पुस १० मा सरकार बन्यो। संसद्मा अभूतपूर्व विश्वासको मत पनि पाए।
तर त्यो गठबन्धन पनि दुई महीनामै भत्काएर कांग्रेससँग अर्को गठबन्धन बनाउन पुगेका दाहालले एक वर्षपछि त्यो सत्ता सम्बन्ध पनि टुंग्याएका छन्। किन त? “राजनीतिक अवसारवादको पराकाष्ठाका कारण,” राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्।
वाग्लेका अनुसार यो गठबन्धन टुंगिनुका दुई कारण छन्। पहिलो, यसको जग नै षड्यन्त्रमा आधारित थियो। दोस्रो, यसको सैद्धान्तिक आधार थिएन।
वाग्लेले इंगित गरेका ती दुई समस्या त अब बन्ने गठबन्धनमा पनि हुनेछन्। आखिर वामपन्थी गठबन्धन पनि सत्ता बाँडफाँडकै निरन्तरता हो भन्ने नेपाली जनताले देखिसकेका छन्, नेकपा (नेकपा) कार्यकालमै। दाहाल न हुन् जसले सार्वजनिक रूपमै कबोल गरिसकेका छन्, उनी हुँदासम्म देशमा उथलपुथल भइरहनेछ। उनले नभनेको अर्को यथार्थ हो, त्यो उथलपुथलको कारण एउटै हो- उनको सत्तामोह।