सशस्त्रका डीएसपी बस्याल मृत भेटिए
मोरङको धनपालथान गाउँपालिकाको सोराभागस्थित गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल सोमबार मृत फेला परेका छन्।
झुन्डिएको अवस्थामा फेला परेकाले डीएसपी बस्यालले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गुल्मको भान्साघरसँगै रहेको स्टोरको पंखामा डोरीको पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
स्टोरभित्रबाट लगाएको ढोकाको चुकुल समेत प्रहरीले खोलेको छैन। बस्यालको परिवारका सदस्य पाल्पाबाट आएपछि मात्रै शव निकाल्ने दाहालले बताए।
उनी सशस्त्र प्रहरी सेवा प्रवेश गरेको १८ वर्ष पुगेको छ। २०६२ फागुन २१ गते सशस्त्र प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए।
उनीसँगै सेवा प्रवेश गरेका अन्य अधिकृतहरूले वार्षिकोत्सव मनाउने तयारी गरिरहेका वेला यो घटना बाहिर आएको हो। “आज खुशीको दिन भएकाले बेलुका रमाइलो गर्ने कार्यक्रम थियो, यस्तो दुःखद खबर आयो,” उनका एक साथीले भने।
पाल्पाको तान्सेन घर भएका उनी पाँच महीनाअघि प्रस्तावित गुल्ममा खटिएका थिए। यसअघि बोर्डर आउटपोस्ट रहेको कार्यालयलाई सशस्त्रले गुल्ममा विकसित गर्ने उद्देश्यले बस्याललाई प्रमुख बनाएर खटाएको थियो।