अमेरिका लैजाने ‘दलाल चिट्ठा’
तस्कर गिरोह पछ्याउँदै जंगलको बाटो महीनौं कष्ट खेपेर अमेरिका पुग्ने नेपालीमध्ये त्यहाँ बस्न पाउनेभन्दा निकालामा पर्नेको संख्या तेब्बर बढी छ।
काठमाडौंको गोंगबुस्थित बीजी मललाई दाहिने पार्दै चक्रपथभित्र छिरेपछि मित्रनगरको बाग्लुङ सुपर गेस्ट हाउस पुगिन्छ। त्यसैका सञ्चालक नरबहादुर बोहरा थापालाई फागुन १० गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट फोन आयो, “यहाँ तपाईंको चिनजानका मानिसलाई ल्याइएको छ, आइहाल्नुस्।” उनी हतारहतार प्रहरी कार्यालय पुगे। नभन्दै उनकै चिनजानका दाङका एक व्यक्ति त्यहाँ थिए। “जापानमा रहेका ती भाइ उतैबाट अमेरिका गएको सुनेको थिएँ। यहाँ प्रहरीमा देख्दा छक्क परें,” थापा सुनाउँछन्।
अमेरिकाले अवैध रूपमा प्रवेश गरेको भन्दै भर्खरै आठ नेपालीलाई नेपाल फर्काएर प्रहरीको जिम्मा लगाएको थियो। प्रहरीले तीमध्ये दाङका ती व्यक्ति सहित ६ जनालाई थापाकै गेस्ट हाउसमा पठायो। यसो गर्दा थापाकै सम्पर्कबाट उनीहरूसँग भोलि पल्ट पनि भेटेर अवैध बाटो अमेरिका पठाउने गिरोहसम्म पुग्ने प्रहरीको योजना थियो। “तर पछि सबै जना हाम्रो सम्पर्कमा आएनन्। आएकाहरूले पनि कसले त्यसरी लग्यो भन्ने खोलेनन्,” ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयाँल भन्छन्।
दलालबारे मुख खोल्न नचाहेकाहरू थातथलो फर्कन समेत हिचकिचाइरहेका थिए। त्यसैले रुकुम पश्चिम, दाङ र बाग्लुङका तीन जना छैटौं दिन पनि होटलमै थिए। अरू तीन जना अघिल्लो दिन मात्र हिंडेका रहेछन्। “बाबाले यहाँ आएको कुरा कसैलाई नभन्नू भन्नुभएको छ,” रुकुम पश्चिमका २३ वर्षे युवकले भने, “मैतीदेवीमा कोठा भए पनि गएको छुइनँ। बाबाले भनेपछि मात्रै जान्छु।”
दलालबाट धोका, फेरि दलालकै भर
“अमेरिका जान्छस्?”
२०७९ भदौको एक दिन बुबाले सोध्न नपाउँदै अल्लारे उमेरका छोराले फुरुंग हुँदै भनिहाले, “हुन्छ।” थुप्रै नातेदार र छरछिमेक अमेरिका पुगेर सुखी जीवन बिताइरहेको उनले किशोरवयदेखि नै सुन्दै आएका थिए। अनि परिवारले उनलाई अमेरिकाको सपना देखाएको यो पहिलो पटक थिएन। १९ वर्षको उमेरभन्दा पहिल्यै अमेरिका छिर्न सके हिरासत बस्न नपर्ने, काम र अस्थायी बसोबासको सुविधा पनि छिटै पाइने सुनेपछि बुबाले १८ वर्षमै पठाउन खोजेका थिए। “तर एजेन्टले पासपोर्ट हराइदिएपछि रोकिएको थियो,” सोफामा गोडा दोबारेर बसेका उनले सुनाए, “बाबाले नै फेरि जा भनेपछि अवसर किन खेर फाल्नु जस्तो लाग्यो।”
चार वर्षपछि यो परिवारलाई फेरि सुर्याएका थिए, दाङका देमलाल भण्डारीले। ती युवकका अनुसार भण्डारीले जम्मा ४० लाख रुपैयाँ लाग्ने, १० लाख रुपैयाँ अग्रिम दिनुपर्ने मौखिक हिसाब निकाले। त्यसमा तीन महादेशका दर्जनौं मुलुक पार गर्दा आइपर्ने हैरानी, माफिया नियन्त्रित दक्षिण अमेरिकी भूभागमा हुने असुरक्षाको पाटो भने खुलाइएको थिएन।
राहदानी बुझेको एक सातामै भण्डारीले नयाँ दिल्ली हुँदै बोलिभिया पुग्ने टिकट देखाउँदै भने, “एक हप्तामा उड्नुपर्छ। ठिक्क परेर बस्नू।” दिल्ली पुगेको दुई-तीन सातासम्म पनि उडान भएन, बरु भण्डारी नै सम्पर्कविहीन भइदिए। “भण्डारी दिल्लीको एउटा कन्सल्टेन्सीमा काम गर्ने रहेछ,” युवक सुनाउँछन्, “बाबाले त्यो अफिस पत्तो लगाएर पासपोर्ट निकाल्नुभयो, पैसा भने फिर्ता पाइएन।”
शुरूआती बिन्दुमै धोका पाए पनि उनीहरू रोकिएनन्, अमेरिका पुर्याउने अर्को दलालको खोजीमा लागे। सबै तारतम्य बुबाले मिलाइदिएकाले आफूलाई दलालको नाम थाहा नभएको युवक बताउँछन्। २०७९ कात्तिकमा उनी भिजिट भिसामा दुबई पुगे। त्यहाँ दलालले सिंगै घर भाडामा लिएर अमेरिका छिर्न चाहने अरू नेपालीलाई पनि राखेका रहेछन्। तीन महीनापछि उनी सहित १० जनालाई उडाएर ब्राजिल पुर्याइयो।
अब थियो, जमीनै-जमीनको यात्रा। कहीं गाडीमा त कहीं डुंगामा। पैदलै घना जंगल पनि छिचोले। बोलिभिया, पेरु, इक्वेडर, कोलम्बियासम्म लामो बसयात्रा भयो। “हरेक देशको बोर्डर पुगेपछि झर्नुपर्थ्यो,” उनी सम्झन्छन्, “सबैका आआफ्ना स्थानीय एजेन्ट लिन आउँथे। जसलाई लिन आएको हो, उसको फोटो सहित।”
कोलम्बियाबाट एक घण्टा डुंगा चढाएर पानामा पुर्याइयो। त्यहाँबाट घना जंगल पार गर्नुपर्छ जसलाई ‘डारियन ग्याप’ भनिन्छ। विषालु सर्प र हतियारधारी समूहका कारण संसारकै भयानकमध्ये पर्ने यस रूटमा यात्रा थाल्नुअघि दलालले वर्षादी, पाल, जुत्ता, खानेकुरा, भाँडाकुँडा आदि बन्दोबस्तीका सामान पनि थमाउँछ। २०-२५ केजीको झोला बोकेर कम्तीमा एक साता जंगलकै वास र हिंडाइ हुन्छ। अनि बल्ल पानामाको क्याम्प १ पुगिन्छ जहाँ सुरक्षाकर्मी तैनाथ हुन्छन्।
तिनले अमेरिका ताकेर कष्टकर यात्रा गर्नेहरूको लगत राख्छन्, २५ अमेरिकी डलर तिरेपछि आफैं डुंगा चढाइदिएर क्याम्प २ पठाइदिन्छन्। क्याम्प २ बाट बसमा प्रतियात्रु ४० अमेरिकी डलर तिराएर क्याम्प ३ सम्म र त्यहाँबाट ५ डलरमा कोस्टारिका सीमासम्म पुर्याइन्छ। त्यहाँबाट उनीहरूलाई बस चढाएर १८ घण्टामा निकारागुआ र थप २०-२२ घण्टामा होन्डुरस पुर्याइयो। होन्डुरसबाट बसमै ग्वाटेमाला हुँदै मेक्सिको अनि त्यहाँबाट महीनादिनपछि अमेरिकी सीमावर्ती क्षेत्र सोनारा लगियो।
हिरासतमा स्वागत
नेपालबाट हिंडेको नौ महीनापछि उनीहरूले संयुक्त राज्य अमेरिका टेके, २०८० साउन ८ गते। “अमेरिकामा यहाँलाई स्वागत छ,” मेक्सिको–अमेरिका सीमामा खटिएका सुरक्षाकर्मीले पानीको बोतल थमाउँदै सत्कार देखाए। युवकलाई लाग्यो– अब नौ महीनादेखिको शारीरिक, मानसिक र आर्थिक हैरानी पनि सकियो।
सुरक्षाकर्मीले उनलाई गाडीमा चढाए तर सोझै हिरासत कक्ष लगे। यो रूटबाट छिर्नेले राहदानी सहितका कागजात पहिल्यै मिल्काइसकेका हुन्छन् ताकि अमेरिकी सरकारबाट शरणार्थीका रूपमा संरक्षण पाइयोस्। उनले पनि त्यसै गरे। तर अमेरिकी अध्यागमनले उनको याचना स्विकारेन। हिरासतमै राखेर अध्यागमनको निर्णय विरुद्ध कानूनी प्रतिरक्षा गर्ने सुविधा दिइयो। सात महीनापछि अदालतले पनि अध्यागमनकै निर्णय सदर गरिदियो। परिणाम- नेपाल आइपुग्दा उनको थाप्लोमा लाखौं रुपैयाँको ऋण र पीडाको बोझ छ। “६-७ महीना लगाएर अमेरिका त पुगियो तर दिमागले काम नै गर्न छोड्दो रहेछ,” उनी सम्झन्छन्।
युवकका अनुसार अमेरिकाकै हिरासत कक्षमा भेटिएका काभ्रेका सुवास श्रेष्ठ यति विक्षिप्त थिए कि आत्महत्या नै गरे। “हाँसिरहन्थे। घरीघरी आफूलाई त ज्योतिषीले अमेरिका पुगे पनि सफल नभई फर्केर आउँछस् भन्थे। फर्किने भइयो। छोराछोरी, बच्चाबच्चीको बिचल्ली हुने भयो भन्दै चिन्तित हुन्थे,” उनले सुनाए, “नभन्दै तन्नाको पासो लगाएछन्।”
अमेरिकी अध्यागमन कार्यालयले भने गत भदौ १६ गते अवैध बाटो अमेरिका छिरेका ३४ वर्षीय श्रेष्ठको कात्तिक २७ गते मृत्यु भएको सूचना जारी गरेको छ। “शुरूमा मलाई श्रेष्ठ बसेको फ्ल्याटमै राखिएको थियो,” युवक भन्छन्, “डिपोर्टका लागि ट्राभल डकुमेन्ट बनाउन हिरासत बाहिर लगेर फर्काइएपछि भने तल्लो तलामा सारिएको थियो। घटना थाहा पाएर हेर्न जाँदा घाँटीमा डाम थियो।”
अमेरिका पुग्दा ६५ लाख रुपैयाँ खर्च भएको पनि उनले सुनाए। “दुई भाइको पढाइ र ऋण निखन्दा परिवारमा ठूलो बोझ आइलागेको थियो,” १२ कक्षा पढेका उनी भन्छन्, “अमेरिका पुग्ने सपनाले झन् डुबायो।” उनका बुबा बीमा कम्पनीका एजेन्ट हुन्।
विदेशमै रहेकाको पनि उही दाउ
नेपालमै रहेका मात्र होइन, अन्य विकसित मुलुकमा बसेर राम्रै कमाइ गरिरहेका नेपाली समेत अमेरिका पुग्न मरिहत्ते गरिरहेछन्। उदाहरण हुन्– अमेरिकाबाट निकालिएर फागुन १० गते स्वदेश ओर्लिएका दाङका तिनै ३५ वर्षीय व्यक्ति। उनी सात वर्षअघि पत्नी सहित जापान पुगेका थिए, दम्पतीको बचत मासिक तीन लाख रुपैयाँसम्म थियो। “तर जापानमा बसोबास लगायत दीर्घकालीन सुविधा नभएकाले अमेरिका जाने योजना बनायौं,” उनी भन्छन्, “बच्चाबच्ची नेपालमा, हामी उता हुँदा रमाइलो भइरहेको थिएन।”
हस्त गौतम नामका व्यक्तिले उनलाई २० हजार डलरमा जापानदेखि बोलिभिया हुँदै अमेरिका छिराइदिने आश्वासन दिए। १५ लाख रुपैयाँ दिएपछि मे २०२३ मा पर्यटन भिसामा बोलिभिया पनि पुगे। त्यहाँको विमानस्थलमा दिल्ली हुँदै पुगेका नौ नेपाली भेटिए। तर त्यहाँको अध्यागमनले उनलाई उनीहरूसँगै मिसाएर फिर्ता पठाइदियो। “फेरि जापान गएर गौतमसँग कुरा गर्दा उसले थप पैसा माग्यो,” उनी भन्छन्, “मैले पहिलेको पैसा मागेपछि कुरा मिलेन।”
तब उनी बोलिभिया जाँदा सम्पर्क भएका त्यहींका पाकिस्तानी मूलका दलाल समातेर जसरी पनि अमेरिका पस्ने प्रयासमा लागे। जापानबाट सोझो हवाई गन्तव्य थियो, अमेरिकासँग साँध जोडिएको मेक्सिको। जापानको भिसा अवधि बाँकी नै भएकाले मेक्सिकोमा सोझै छिर्न पाइने उनको आस थियो। तर मेक्सिकोले पनि अनुमति नदिएपछि उनले दलालकै सल्लाहमा ब्राजिल हुँदै नेपाल फर्कने हवाई टिकट काटे। जापानको भिसाधारीलाई ब्राजिलमा ‘अन अराइभल’ भिसाको सुविधा हुन्छ।
साओ पाओलो विमानस्थल झरेपछि उनलाई अध्यागमनले केही दिन बस्न अनुमति दियो। ब्राजिलदेखि अमेरिकासम्म ११ हजार अमेरिकी डलरमा पुर्याइदिने गरी दलालसँग मोलमोलाइ भयो। त्यहाँबाट बसमा ३६ घण्टामा बोलिभिया पुगेका उनी अमेरिका ताकेर हिंड्नेका लागि परिचित रूट पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुआ, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको छिरे। “एजेन्ट इमानदार भए यहाँ धेरै दुःख नपाइने रहेछ,” उनी भन्छन्।
उनका अनुसार कोलम्बियामा प्रहरीले समाते पनि एजेन्टले मागेको थप दुई हजार अमेरिकी डलर दिएपछि छोडिहाल्यो। हरेक देशको सीमामा स्थानीय बिचौलियाले आवश्यक खर्च र सिमकार्ड दिन्थ्यो।
२०८० असार २२ मा उनी पनि मेक्सिकोसँग सीमा जोडिएको अमेरिकाको एरिजोना टेके। अवैध रूपमा छिरेको आरोप लगाएर उनलाई पनि अमेरिकी सुरक्षाकर्मीले नियन्त्रणमा लिए। अनि शुरू भयो, शरणार्थीको दर्जा पाउने उही संघर्ष। अध्यागमनदेखि अदालतसम्मको अस्वीकृतिपछि उनी पनि निष्कासनमा परे र एउटै टोलीमा नेपाल फर्काइए।
अमेरिका पस्ने लालसा यति गहिरो रहेछ कि यो अवधिमा पाएको हैरानी र आर्थिक क्षतिप्रति भन्दा बढी मनखत उनलाई त्यहाँ बस्न नपाएकोमा छ। “अब कसैले बढी कमाउन गएको थिइस्, भेटिस् भन्ला कि भन्ने मात्र छ,” हाँस्दै सुनाउँछन्, “यस्तो हो, भए पास नभए अभ्यास हुने रहेछ। मिहिनेतको पैसा गएकाले मन खिन्न त हुन्छ। तर अब कम्तीमा फेरि अमेरिका पुग्ने सपनाले पछ्याउनेछैन।”
निकालामा पर्ने धेरै
अमेरिकाबाट निकालिएका यी १० व्यक्तिको भोगाइले भन्छ– शुरूमा त दलालले पैसा मात्र खाइदिने जोखिम रहन्छ। पुर्याइहाले पनि त्यहीं बस्न पाउने कुरा चिट्ठा जस्तै छ, अनिश्चित। अझ पछिल्लो आँकडाले त प्रतिचार जनामा तीन जनालाई हिरासतबाटै नेपाल पठाइने गरेको देखाउँछ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको दशकयताको तथ्यांक केलाउँदा शरणार्थीको मान्यता पाई त्यहाँ बस्नेभन्दा निष्कासनमा पर्ने नेपालीको संख्या तेब्बरभन्दा बढी छ।
सोही निकायले सन् २०२३ मा प्रकाशन गरेको आप्रवासन वर्ष किताबमा उल्लेख भए अनुसार अवैध बाटो अमेरिका छिरेकामध्ये सन् २०२२ मा साढे १७ सय नेपालीलाई निष्कासन गरिएको छ भने शरणार्थीको मान्यता पाउने जम्मा ५०१ जना छन्। जबकि सन् २०१३ मा ५२९ जना निष्कासनमा पर्दा शरणार्थीको मान्यता पाउने साढे ८०० थिए।
नेपालको अध्यागमन विभागले देखाउने आँकडा भने निकै कम छ। विभागका अनुसार सन् २०१८ देखि हालसम्म अमेरिकाबाट ८६ जना मात्र निष्कासनमा परेका छन्। अमेरिका छिर्ने रूटका मेक्सिको, क्युबा, बोलिभियाबाट फर्काइएका नेपालीको संख्या पनि ३३ जना मात्र छ।
विभागका प्रवक्ता प्रेमप्रसाद दाहाल अमेरिकाले निष्कासन गरेकाहरू बीचमा ‘ट्रान्जिट’ उडानबाट अन्तै मोडिंदा आँकडा फरक परेको हुन सक्ने बताउँछन्। “यहाँको विमानस्थलमा ओर्लनेहरूको तथ्यांक हामीसँग हुन्छ। कतिपय भारत हुँदै आएका पनि हुन सक्छन्,” दाहाल भन्छन्, “दुबई, थाइल्यान्ड ट्रान्जिट बनाएर फेरि अमेरिका छिर्नेहरू पनि हुन्छन्।”
निष्कासनमा परेर आएकाहरू आफूलाई पठाउने गिरोहबारे चाहिं किन मुख खोल्दैनन् त? यसमा तिनै दलाल समातेर फेरि पनि अमेरिका छिर्न प्रयास गर्ने तिनको मनसाय हुन सक्ने आशंका प्रहरीले गरेको छ। “हामी हाम्रो खुशीले गएका हौं,” निष्कासितहरूको भनाइ उद्धृत गर्दै ब्यूरोका एसपी ज्ञानेन्द्र फुयाँल भन्छन्, “खाडी मुलुक, मलेशिया गएकाहरूले भने जस्तो काम नभए प्रायः एजेन्टबारे रिपोर्ट गर्छन्। अमेरिकाबाट फर्कनेहरू मान्दैनन्। यो अचम्मलाग्दो छ।” यो चुनौती छिचोलेर मानव तस्करीको सञ्जाल तोड्न प्रहरीलाई मुश्किल परिरहेको उनको भनाइ छ।