जेसुकै परिवर्तन भए पनि ‘मिसन २०८४’ छाड्दैनौं : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जेसुकै परिवर्तन भए ‘मिसन २०८४’ नछोड्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नयाँ गठबन्धनका लागि सहमति गरेर नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न पुगेका अध्यक्ष ओलीले राजनीतिमा केही परिवर्तन हुन लागेको बताए। “अहिलेको भताभुंग अवस्थाबाट मुलुकमा आंशिक रूपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जेसुकै परिवर्तन भए पनि हामी ‘मिसन २०८४’ छाड्दैनौं,” ओलीले भने।
उनले आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताए। ओलीले भने, “अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रूपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रूपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ।”
राष्ट्रियताको रक्षाका लागि पनि एमालेले जित्नुपर्ने उनको भनाइ थियो। “हामी एमालेलाई निर्णायक तहमा स्थापित गर्दै छौं। त्यसको मापन के हो भने निर्वाचनबाट मात्रै हुन्छ। कति भोट कति सीट भन्ने कुराले कहाँनेर छ भन्ने कुरा निर्धारण गर्छ,” ओलीले भने, “त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा गर्छ। यथास्थितिवादी र प्रतिगामी शक्तिहरू निर्णायक हुँदै गए भने देश अप्ठ्यारोमा पर्छ।”