सत्ता समीकरणमा फेरबदलले शेयर बजारमा उत्साह
सत्ता समीकरण फेरिने पक्का भएसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन्।
सरकारमा नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टीको सहभागिता हुने निश्चित भएपछि शेयर बजार सोमबार ६ प्रतिशतले बढेको हो। बिहान ११ बजे कारोबार शुरू भएको बजार १२ः४ बजे नै तेस्रो सर्किट लागेपछि सोमबारका लागि कारोबार बन्द भएको छ।
पछिल्लो समयमा शेयर बजारमा लगातार शिथिलता आइरहेको छ। आइतबार पनि बजार घटेको थियो।
अर्थतन्त्रको स्थिति तथा बजारलाई प्रभावित पार्ने अन्य कारणहरू परिवर्तन नभए पनि सरकार फेरिने खबरले एकाएक बजार उचालिन पुगेको थियो। विश्लेषकहरू यस्तो स्थिति टिकाउ हुनेमा भने आशंका जनाउने गर्छन्।
कारोबार शुरू भएको पहिलो घण्टा ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्छ। त्यसपछि पनि थप दुई पटक सर्किट ब्रेक लागे त्यो दिनका लागि कारोबार रोकिन्छ। एकै दिन बजारमा ठूलो उतारचढाव आउन नदिन सर्किट ब्रेक लगाउने अभ्यास छ।
सोमबार नेप्से परिसूचक ११७.७ अंकले बढेर दुई हजार ७८ बिन्दु पार गरेको छ। सोमबार कारोबार भएका २३० कम्पनीको मूल्य बढेको छ भने दुई वटा कम्पनीको मूल्य घटेको छ। ४१ वटा कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार ३७ करोड ५२ लाख मूल्य बराबरकाे शेयर कारोबार भयो।