क्लिनिकका लागि सहयोग जुटाउन गाला डिनर हुँदै
अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको संगठन (टीएनएमए)द्वारा सञ्चालनमा रहेको हिमालय हेल्थ क्लिनिक स्तरोन्नतिका लागि स्रोत जुटाउन ‘फन्ड रेजिङ गाला डिनर’ आयोजना गरिने भएको छ।
टेक्सासको ग्रेपवाइनस्थित एम्बेसी सुइटमा आँउदो ६ अप्रिलमा हुने डिनरका लागि कम्तीमा ५०० डलर शुल्क तोकिएको छ। सहयोगीबाट नेपालका आठ वटा उच्च हिमशिखरको नाम दिएर फरक फरक रकम दर तोकी सहयोगको अपेक्षा गरिएको आयोजकले जानकारी दिए।
‘सामुदायिक स्वास्थ्यका लागि हातेमालो’ नारा दिइएको डिनरमा नेपाली कलाकारको प्रस्तुति पनि रहनेछ। टीएनएमएका अध्यक्ष सञ्जीव श्रेष्ठले टेक्सासको युलेसमा पत्रकार सम्मेलन गरी निःशुल्क सेवा दिइरहेको क्लिनिकको मासिक सञ्चालन खर्च कम्तीमा १० हजार अमेरिकी डलर रहेको जानकारी दिए।
हरेक महीनाको पहिलो र तेस्रो आइतबार युलेसस्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रमा क्लिनिक सञ्चालन हुँदै आएको छ। ७ मे २०२३ देखि सञ्चालित क्लिनिकमा चिकित्सक र नर्सहरू समेत २० जना स्वयंसेवकका रूपमा कार्यरत छन्। क्लिनिकमा हाल मेडिकल, दन्त र प्रयोगशाला सेवा चालू रहेको टीएनएमएका निर्देशक लीला श्रेष्ठले बताए।
क्लिनिक बीमा सेवा नलिएका र आफन्त भेट्न छोटो अवधिका लागि नेपालबाट आएकाहरूलाई लक्ष्यित गरी सञ्चालन गरिएको श्रेष्ठले बताए। “क्लिनिकमा प्राविधिक सेवा निःशुल्क भए पनि अमेरिकी मापदण्ड अनुसारका चिकित्सा सामग्री र औषधि जुटाउन र तिनको भण्डारण आदिमा हुने खर्चको जोहो गर्न कठिनाइ भइरहेको छ,” श्रेष्ठले भने।
टेक्सासमा एक लाख १५ हजारभन्दा बढी नेपालीको बसोबास छ। उनीहरूका आफन्त नेपालबाट आइरहने भएकाले पनि क्लिनिकमा बिरामीको चाप बढिरहेको संस्थाले जनाएको छ। पछिल्लो नौ महीनामा क्लिनिकबाट ८०० बिरामीले उपचार पाएका छन्।
टीएनएमएका अनुसार टेक्सासका विभिन्न अस्पतालमा नेपाली ७६ चिकित्सक र ३०० नर्स कार्यरत छन्।