को को सहभागी हुँदै छन् सरकारमा?
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सहित पाँच दलको समर्थनमा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
एमाले सहितको नयाँ गठबन्धनमा नयाँ अनुहार सहित मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले हिमालखबरलाई बताए। “प्रचण्डको नेतृत्वमा आजै नयाँ मन्त्रिपरिषद् गठन हुन्छ,” गुरुङले भने।
आज एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बाट एक-एक जनालाई मन्त्री बनाउने सहमति भएको जनाइएको छ भने जनमत पार्टीले समर्थन गर्ने भएको छ। आज बिहान बसेको एमाले सचिवालय बैठकले यस सम्बन्धी निर्णय गरेको छ।
पहिलो चरणमा एमालेले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई सरकारमा पठाउने सहमति बनेको जनाइएको छ। माओवादीबाट वर्षमान पुनको नाम अगाडि आएको छ। तर मन्त्रालायको टुंगो लाग्न बाँकी रहेको एक नेताले बताए।
त्यस्तै, रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने तयारीमा छन्। लामिछानेको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ। लामिछानेले गृह मन्त्रालय मागेको छलफलमा सहभागी एक नेताले बताए। अन्य दलले भने गृह र अर्थ बाहेक अन्य मन्त्रालय दिने तयारी गरेका छन्।
यसैगरी, जसपाबाट पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा जाने तयारीमा छन्। पहिलो चरणमा अध्यक्ष यादव नै मन्त्री बन्न लागेको जसपा सांसद प्रदीप यादवले हिमालखबरलाई बताए।
सीके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। यसका लागि सोमबार बिहान एमाले अध्यक्ष ओली र राउतबीच छलफल भएको छ। टुंगो लाग्न भने बाँकी रहेको एक नेताले बताए।
मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री दाहालले सबै मन्त्रीलाई राजीनामा गराउनेछन्।