बिहानी राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’
सत्ता गठबन्धनका विषयलाई लिएर सोमबार बिहानैदेखि राजनीतिक सरगर्मी बढेको छ।
राजनीतिक खिचातानी बढेपछि सत्तापक्ष र विपक्षी दलका नेताहरूले सोमबार बिहानै आआफ्नो पार्टीमा चर्चा गरेका छन्। सरकारको प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिहान साढे ७ बजे नै पदाधिकारी बैठक बोलाएका थिए।
बैठकमा सत्ता गठबन्धन, संक्रमणकालीन न्याय, राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल भएको जनाएको छ। बैठकमा अध्यक्ष दाहालले एमाले लगायतको नयाँ समीकरणबारे जानकारी दिएको एक पदाधिकारीले बताए।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान ८ बजे केन्द्रीय सचिवालय बैठक बोलाएका थिए। बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको जनाएको छ। अध्यक्ष ओलीले माओवादी लगायत दलसँग सत्ता गठबन्धन गर्ने विषयमा ब्रिफिङ गरेको एक सचिवालयले सदस्यले बताए।
सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढंगले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको नेता प्रदीप ज्ञवालीले बताए। बैठकबारे जानकारी दिंदै नेता ज्ञवालीले भने, “सत्ता गठबन्धन संकटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ। गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौं।”
एमाले बैठकले प्रधानमन्त्री दाहालसँग नयाँ ढंगले छलफल गर्न सकिने निर्णय गरेको ज्ञवालीले बताए।
सचिवालय बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ सरकार बन्ने सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबूक मार्फत आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रिपरिषद् गठन हुने जनाएका छन्।
यहीबीच एमाले सचिवालय बैठक चलिरहेकै वेला जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन्। उनले एमाले अध्यक्ष ओलीसँग सत्ता समीकरणबारे छलफल गरेका छन्।
एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि सचिवालय बैठक बोलाएका थिए। सोमबार बिहान ९ बजे बसेको रास्वपाको सचिवालय बैठकमा सभापति लामिछानेले नयाँ सत्ता समीकरणबारे ब्रिफिङ गरेको रास्वपा उपसभापति डीपी अर्यालले बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अर्यालले सबै निर्णय गर्ने जिम्मेवारी सभापति लामिछानेलाई दिएको बताए।
नयाँ सत्ता समीकरणबारे छलफल हुन थालेपछि सत्तारूढ गठबन्धनको बैठक भने स्थगन भएको छ। प्रधानमन्त्री दाहालले सोमबार बिहान ८ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाएका थिए। नयाँ राजनीतिक समीकरण बन्ने तय भएपछि गठबन्धनको बैठक बस्न सकेन।
एमाले र माओवादी लगायतको नयाँ सत्ता समीकरणबारे छलफल हुन थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आकस्मिक पदाधिकारी बैठक बोलाएका छन्। देउवा निवास बूढानीलकण्ठमा बिहान १० बजे पदाधिकारी बैठक बोलाइएको छ।
त्यस्तै, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले अहिलको गठबन्धन भत्किएर नयाँ समीकरण शुरू भएको जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबूक मार्फत भनेका छन्, ‘गठबन्धन भत्कने पक्का। राजनीतिक नयाँ समीकरण शुरू।’
उनले नयाँ समीकरणबारे छलफल गर्न उन्मुक्ति पार्टीका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बैठक बोलाएका छन्। उन्मुक्ति पार्टीको बैठक आजै काठमाडौंमा बस्ने जनाइएको छ।