गुणस्तरीय शिक्षाका लागि यूएसएआईडीद्वारा ११ अर्ब सहयोग घोषणा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी)ले गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने घोषणा गरेको छ।
पाँच वर्षको अवधिमा सहयोग गरिने यो रकम सीमान्तीकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थी लक्ष्यित हुनेछ। यो विस्तारले नेपाल र अमेरिकाबीच विद्यमान साझेदारीलाई थप मजबूत बनाएको अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यूएसएआईडीको एशिया ब्यूरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले नेपालको विकासयात्रामा यूएसएआईडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारका रूपमा रहेको र यो सहयोगले नेपालका बालबालिकाका लागि अवसरका ढोका खोल्न मद्दत गर्ने बताए।
यो सहयोग रकमबाट कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन यूएसएआईडीले नेपालका सात वटै प्रदेशका स्थानीय सरकारसँग सहकार्य गर्ने उल्लेख गरिएको छ।
त्यसै गरी सबै प्रदेशमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सहयोग गर्ने संघीय, प्रादेशिक तथा स्थानीय सरकारको क्षमतालाई मजबूत बनाइने, विद्यालय छोडेका बालबालिकालाई फेरि विद्यालयमा भर्ना गर्ने कार्यक्रम अघि सारिने पनि उल्लेख छ।