बालेनलाई अधिकारकर्मीको खुलापत्र- सडक व्यापारी निर्घात कुटिएको घटनाको अनुसन्धान होस्
महानगर प्रहरीले सडक व्यापारीलाई कुटपिट गरेको घटनाको अनुसन्धान गर्न तथा पीडितसँग माफी माग्न अधिकारकर्मी तथा नागरिक अगुवाले माग गरेका छन्।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई खुलापत्र लेख्दै उनीहरूले यस्तो घटना भविष्यमा नदोहोरिने सुनिश्चित गर्न समेत माग गरेका छन्। फागुन १६ गते महानगर प्रहरीको टोलीले काठमाडौंको सुन्धारा क्षेत्रमा सडक व्यापारीलाई निर्घात कुटपिट गरेको थियो। नगर प्रहरीको कुटपिटबाट केही सडक व्यापारी गम्भीर घाइते भएका थिए।
यस घटनाको छानबिन हुनुपर्ने उनीहरूको माग छ। खुलापत्रमा भनिएको छ, ‘महानगर प्रमुखको हैसियतले उक्त आपराधिक कार्य तथा मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन, त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन एवं अनुसन्धान गरी सो घटनामा जिम्मेवार देखिएकालाई जवाफदेही बनाउने कार्यलाई सहजीकरण गर्न हामी यहाँसमक्ष आह्वान गर्दछौं।’
महानगरले पीडितसँग माफी मागी उनीहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गर्न पनि मेयरलाई सचेत गराएका छन्। नागरिक अगुवाहरूले भनेका छन्, ‘महानगर प्रहरी बलका अधिकारीबाट भएको उक्त ज्यादतीपूर्ण घटनाको श्रव्यदृश्य सामग्री भाइरल भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा फिंजिइसक्दा र सरोकारवालाबाट व्यापक खेद र आलोचनाको विषय बनिसक्दा समेत त्यस घटनाप्रति कुनै पश्चात्तापको भाव तपाईंले दर्शाएको हामीले देख्न पाएका छैनौं।’
खुलापत्रको पूर्ण पाठ :
आदरणीय नगर प्रमुख बालेन्द्र साहज्यू,
स्वरोजगार गरेर जीविकोपार्जन गर्दै आएका सडक व्यापारी नागरिकहरू विरुद्ध तपाईं नेतृत्वको महानगरपालिकाका अधिकारीहरूबाट शृंखलाबद्ध रूपमा हुँदै आएका ज्यादतीका बारेमा हामी तपसिलका मानव अधिकारकर्मीहरूको धारणा सम्प्रेषण गर्न यो खुलापत्र लेखेका छौं।
संघीय राजधानी शहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसम्म हाम्रो सन्देश पुर्याउन यो खुलापत्रको सहारा लिएका छौं।
गरीबीमा बाँचेका जनताको टेको बन्ने र सबैको सहअस्तित्व स्वीकार गरी समावेशी शहर बनाउने सपना बाँडेर तपाईं चुनावमा होमिएको तथ्य कसैका सामु छिपेको छैन। निर्वाचित भएपछि भने तपाईं नेतृत्वको पालिका सरकार काठमाडौंवासी विपन्न नागरिकहरूप्रति निर्दयी बन्दै आएको छ। खास गरी सडक व्यापार मार्फत गरीबीसँग जुध्दै गरेका जनताको जीवनयापनलाई पीडादायी बनाउने गरी संगठित ढंगले लागिपरेको छ।
राज्यको विशेष संरक्षणको हकदार ती विपन्न जनता (खास गरी महिला, अपांगता भएका व्यक्ति, बालबालिका र सीमान्तीकृत समुदायका व्यक्तिहरू)प्रति निरन्तर क्रूर बन्दै गरेको देखिएको छ। यस्तो अनपेक्षित र अकल्पित स्थितिको साक्षी हुनुपर्दा हामीलाई अत्यन्त दुःख लागेको छ। त्यसो त सडक व्यापारलाई मर्यादित बनाउने सन्दर्भमा देखिएको संघीय सरकारको चरम उदासीनताले पनि हामीलाई पिरोलेको छ।
यही फाल्गुन १६ गते साँझपखको समयमा पछिल्लो पटक नगर प्रहरीको एक समूह काठमाडौंको सुन्धारा क्षेत्रका सडक व्यापारीमाथि एक्कासि जाइलाग्यो र उसले सडक व्यापारीको सामान तहसनहस मात्र पारेन, अन्धाधुन्ध लाठी प्रहारद्वारा निर्घात कुटपिट गरी केही सडक व्यापारीलाई गम्भीर घाइते बनायो।
घाइते भएकालाई आफ्नो नियन्त्रणमा लिएर गाडीमा राखिसकेपछि समेत मानसिक यातनाजन्य दुर्व्यवहार र क्रूर, अमानवीय तथा अपमानजन्य व्यवहार गरियो। नगर प्रहरीले ठाडै आफ्नो अधिकारक्षेत्र मिचेर हिंसा मच्चायो। उक्त तथ्य स्पष्ट देखिने गरी श्रव्यदृश्य सामग्री समेत सार्वजनिक भएको तपाईंलाई अवगतै हुनुपर्छ। उक्त आपराधिक तथा हिंसात्मक घटनाको हामी घोर निन्दा गर्दछौं। जानाजान बलको अत्यधिक दुरुपयोग गरी गरिएको उक्त कार्यको कानूनी तथा नैतिक वैधताको कुनै गुन्जायस छैन।
महानगर प्रहरी बलका अधिकारीबाट भएको उक्त ज्यादतीपूर्ण घटनाको श्रव्यदृश्य सामग्री भाइरल भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फिंजिइसक्दा र सरोकारवालाबाट व्यापक खेद र आलोचनाको विषय बनिसक्दा समेत त्यस घटनाप्रति कुनै पश्चात्तापको भाव तपाईंले दर्शाएको हामीले देख्न पाएका छैनौं। त्यस्तो आपराधिक कार्यको छानबिन गर्ने र जिम्मेवार अधिकारीको पहिचान गरी जवाफदेही बनाउने दिशामा तपाईंले कुनै कदम चालेको हाम्रो जानकारीमा आएको छैन।
त्यस घटनाका पीडितप्रति सहानुभूति राख्ने र सार्वजनिक क्षमायाचना गर्ने सदाशयतासम्म पनि तपाईंले देखाएको हामीले अनुभूत गर्न पाएका छैनौं। बरु तपाईं र तपाईं मातहतका अधिकारीहरूबाटै घटनाबारेको सत्यतथ्यलाई तोडमोड गरी दुष्प्रचार गर्ने र आपराधिक कार्यमा संलग्नलाई चोखो देखाउने दुष्प्रयास गरेको देखिएको छ। जननिर्वाचित नयाँ पुस्ताका प्रतिनिधिको यस्तो बिंब्ल्याँटो व्यवहार र प्रवृत्ति हाम्रा लागि आश्चर्यको विषय बनेको छ।
साथै, यी परिस्थितिजन्य तथ्यहरूका आधारमा उक्त उल्लंघनको घटना तपाईंको प्रत्यक्ष वा परोक्ष आदेश वा सहमतिमा भएको थियो र त्यो आदेशको अन्तिम जिम्मेवारी तपाईंले वहन गर्नुपर्नेतर्फ इंगित गरिरहेको आकलन गर्न सकिन्छ।
राज्य अधिकारीबाटै सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरीरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिइसकेपछि जानाजान गरिएको अमानवीय व्यवहारबाट पीडितहरूमाथि नेपालको संविधान (धारा १६ र २२), मुलुकी अपराध संहिता, २०७४ (दफा १६७, १६८, १८३ र १९१), नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अभिसन्धि, १९६६ (धारा ६ र ७), यातना विरुद्धको महासन्धि, १९८४ (धारा १, २, ४, ६) समेत अन्तर्गत वर्जित मानव अधिकारको गम्भीर उल्लंघन (यातना तथा क्रूर, अमानवीय वा अपमानजन्य व्यवहार) भएको स्पष्ट देखिन्छ।
यातनाजन्य कार्य युद्ध वा शान्ति जुनसुकै अवस्थामा सर्वथा निषेधित छ र यो क्षमादान अयोग्य एवं विश्वव्यापी क्षेत्राधिकार समेत आकर्षित हुने गम्भीर अपराध हो भन्ने यहाँलाई अवगतै हुनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ।
अतः महानगर प्रमुखको हैसियतले उक्त आपराधिक कार्य तथा मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन, त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन एवं अनुसन्धान गरी सो घटनामा जिम्मेवार देखिएकालाई जवाफदेही बनाउने कार्यलाई सहजीकरण गर्न हामी यहाँ समक्ष आह्वान गर्दछौं।
साथै, महानगरले पीडितप्रति माफी मागी उनीहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ। विपन्न जनताप्रतिको विभेदकारी (discriminatory) तथा बहिष्करणकारी (exclusionary) नीति परित्याग गर्न, सडक व्यापारी लगायतका विपन्न नागरिकको आत्मसमान, मर्यादा तथा जीविकोपार्जनको अधिकारको सम्मान र संरक्षण गर्न पनि हामी गम्भीर आह्वान गर्दछौं।
समाजवाद र सामाजिक न्याय, सम्मानजनक रूपमा बाँच्न पाउने, व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्ने, रोजगारी, श्रम, सामाजिक सुरक्षा लगायत संवैधानिक प्रत्याभूतिबाट नि:सृत तहगत सरकारका दायित्वहरूको सापेक्षतामा रचनात्मक संवाद र सहकार्यका आधारमा सडक व्यापारको नियमन र व्यवस्थापनको उचित विकल्प खोज्न महानगरलाई हाम्रो सुझाव छ। देशभरिका बाँकी पालिकाहरूका लागि मात्रै होइन संसारका लागि काठमाडौं महानगर उदाहरण बनोस् भन्ने हामी चाहन्छौं। यस सन्दर्भमा तपाईंको साथमा रहेर संघीय सरकारको दायित्व समेत वहन गराउने गरी दबाब सिर्जना गर्न हामी लागिपर्नेछौं।
सडक व्यापारीमाथिको शृंखलाबद्ध ज्यादती दर्शाउने श्रव्यदृश्य सामाग्री विश्वव्यापी रूपमा निरन्तर साझा भइरहँदा हस्पिटेबल सिटी मानिएको काठमाडौंको अन्तर्राष्ट्रिय छविमा कालो पोतिने र पर्यटन व्यवसायमा समेत उल्लेख्य नकारात्मक असर पर्नेतर्फ पनि सचेत हुन त्यतिकै जरुरी छ। त्यसतर्फ पनि तपाईं लगायत महानगर अधिकारीलाई उचित हेक्का राख्न हामी आग्रह गर्दछौं।
सर्वसाधारण जनताप्रति मानव अधिकारमैत्री व्यवहार, समग्र जनसमुदाय र जनहितकारी प्रवृत्ति, सभ्यताका न्यूनतम मापदण्डको पालना समेतका विषयमा नगर प्रहरीलाई विशेष तालीमको खाँचो टड्कारो देखिएको छ। त्यसतर्फ पनि तपाईं लगायत अन्य पालिका प्रमुखहरूको ध्यान जाओस् भन्ने हाम्रो अनुरोध छ। साथै, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको कार्यक्षेत्रको सीमा, अधिकारको दायरा र अन्तर्सम्बन्ध स्पष्ट पार्न संघीय कानून संशोधनका लागि पनि हाम्रो पहल रहने नै छ।
अन्तमा, यहाँले आफ्नो सोच र कार्यशैलीलाई आवश्यक परिमार्जन र समायोजन गरेर तानाशाही, निरंकुश र मानव अधिकार उल्लंघनकर्ताको खराब छवि निर्माणतर्फको बाटो परित्याग गरी कानूनको शासनको मातहतमा चल्ने लोकतान्त्रिक नेताका रूपमा स्थापित हुने बाटोमा अग्रसर हुनतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुहुनेछ भन्ने कामना गर्दछौं।
धन्यवाद!
अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणि दीक्षित, कमल विक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईं, जेबी विश्वकर्मा, दिनेश त्रिपाठी, धनबहादुर मिजार, नितु पोख्रेल, निराजन थपलिया, विदुर सुवेदी, प्रकाश महर्जन, प्रकाशमणि शर्मा, प्रेम सापकोटा, विकास बस्नेत, भक्त विश्वकर्मा, भगवती अधिकारी, भावना भट्ट, मनोग्य शर्मा, मारिसा टेलर, रमेशप्रसाद तिमिल्सिना, राजुप्रसाद चापागाईं, रेनु अधिकारी, लक्ष्मण बस्नेत, शर्मिला श्रेष्ठ, सरोज फुयाँल, सुरेन्द्र सिं, सुशील प्याकुरेल, सोम निरौला, हरि शर्मा।
२० फागुन २०८०