फिल्म फेस्टिभलले तताएको राजनीतिक बहस
विश्वस्तरको सिनेमा सम्मेलन हुने फिल्म फेस्टिभलहरू पछिल्ला वर्षहरूमा स्टारहरूको उपस्थितिभन्दा राजनीतिक कारणहरूले बढी चर्चामा रहँदै आएका छन्।
७४औं ‘बर्लिन फिल्म फेस्टिभल’ (बर्लिनाले) जर्मनीको बर्लिन शहरमा १५ देखि २५ फेब्रुअरीमा सम्पन्न भयो। दर्शक सहभागिताका हिसाबले विश्वकै सबभन्दा ठूलो मानिने तथा फ्रान्सको कान्स र इटालीको भेनिस सहित ‘बीग ३’ मा गणना गरिने बर्लिन फेस्टिभलको यो संस्करण झनै चर्चामा आएको छ। कारण हो- फेस्टिभलले जन्माएको राजनीतिक बहस।
त्यसो त यूरोपका चर्चित फिल्म फेस्टिभलहरू राजनीतिक कारणले नै शुरू भएका हुन्। दोस्रो विश्वयुद्धका कारण जनतामा खस्किएको आत्मविश्वासको पुनजार्गरण र ध्वस्त शहरहरूको पुनर्निर्माण गर्ने उद्देश्यले फिल्म फेस्टिभलहरू आयोजना गर्न थालियो। फिल्म फेस्टिभलहरूले कालान्तरमा विश्व सिनेमामा एउटा अलग्गै मानकको निर्माण गरे। यस्ता महोत्सवले कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने मञ्च प्रदान गर्छन् भने कलापारखीहरूलाई नौलो प्रयोगको स्वाद लिने र त्यसको परख गर्ने मौका दिए, दिइरहेछन्। साथै, विश्व सिनेमालाई डोर्याउने नयाँ नयाँ मार्गहरू पत्ता लगाउने, कलामा भएका नयाँ र सिर्जनात्मक कामको चर्चा गर्ने मञ्च प्रदान गरे।
एक हिसाबले यूरोपेली सौन्दर्यशास्त्र र कथावाचनलाई विश्वव्यापी बनाउने काम पनि गरे। किनभने यस्ता महोत्सवले स्थापित गर्ने कला-मान्यतामा उनीहरूको आफ्नो इतिहास-चेत र कला-चेतको ठूलो भूमिका रहने गरेको छ। यस्ता महोत्सवले सुषुप्त रूपमा एक शैलीको कथावाचन र संरचनाको सर्वोच्चता स्थापित गर्ने प्रयास गरिरहेका छन्।
कलाकार, समीक्षक, बजारका प्रतिनिधि एवं कलापारखीहरूको जमघट हुने भएकाले ठूला फिल्म फेस्टिभलहरूलाई विशेष महत्त्वका साथ हेरिन्छ। यूरोपका तीनै ठूला फेस्टिभलहरूको खर्चको ठूलो हिस्सा त्यहाँको सरकारी कोषले बेहोर्छ। सरकारले खर्च दिने भए पनि महोत्सव सञ्चालनका लागि बनाइएको संरचनालाई नै सम्पूर्ण जिम्मा दिने गरिन्छ। फेस्टिभलमा छनोट गरिने फिल्म, दिइने अवार्ड वा बोलाइने अतिथिसम्मको निर्णय फेस्टिभल निर्देशक र आयोजक कमिटी एवं यसले निर्माण गर्ने जुरीले गर्छन्।
दक्षिणपन्थ र गाजाले ल्याएको तरंग
विश्वस्तरको सिनेमा सम्मेलन हुने भएकाले यी फिल्म फेस्टिभलमा विश्व राजनीतिको छाया पर्छ नै। पछिल्ला वर्षमा स्टारको उपस्थितिभन्दा राजनीतिक कारणले बढी चर्चामा रहने गरेका छन्। यस पटकको बर्लिनालेमा राजनीतिक तरंग राम्रैसँग प्रवाह भयो। शुरूमा महोत्सवले जर्मनीको एक अति दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ का दुई सांसदलाई उद्घाटन समारोहमा निम्त्याइएको विषयले गरमागरम बहस सिर्जना गर्यो।
छोटकरीमा ए.फ.डी भनिने ‘अल्टरनेटिभ फर जर्मनी’ यूरोपियन युनियनको अवधारणा र आप्रवासीलाई स्वागत गर्ने नीतिको विरोध गर्ने दल हो। २०० जना फिल्म प्रोफेशनलले यसको विरोधमा महोत्सव आयोजकलाई पत्र समेत लेखे। जर्मन फिल्ममेकरदेखि प्रेससम्मले यसले महोत्सवको उदार छविमा आँच आउने र जर्मनीको राजनीतिको रंगले महोत्सवलाई रंगहीन बनाउने भनेर आलोचना गरेपछि महोत्सव आयोजकले उनीहरूलाई पठाएको निमन्त्रणा नै रद्द गरे। निमन्त्रणा रद्ध गरिएको विषयले पनि राम्रै चर्चा पायो।
महोत्सवको समापन समारोह त पूर्णतः राजनीतिक भाषण र विचारको मञ्चमा परिणत हुन पुग्यो। जर्मनीका सञ्चारमाध्यमले यसको आलोचना गरेको समाचार अन्तर्राष्ट्रिय मिडियाले प्रकाशन गरेका छन्।
हुन पनि अवार्ड विजेता फिल्मभन्दा बढी मञ्चबाट व्यक्त राजनीतिक विचारका कारण महोत्सव समारोहले चर्चा बटुलिरहेको छ। न्यूयोर्क टाइम्स, वाशिङटन पोस्ट’ जस्ता प्रभावशाली अखबारहरूले यसबारे रिपोर्टिङ गरिरहेका छन्। खास गरी गाजामा जारी इजरायलको आक्रमण र युद्धविरामको माग गर्दै इजरायली र प्यालेस्टिनी फिल्ममेकरले बोलेको विषयलाई लिएर विवाद भएका समाचार प्रकाशित भएका छन्।
इन्काउन्टर सेक्सनमा उत्कृष्ट फिल्मको अवार्ड पाएको डकुमेन्ट्री डिरेक्ट एक्सनका एक निर्देशक बेन रसेल स्टेजमा प्यालेस्टिनी स्कार्फ पहिरिएर पुगेका थिए। उनले स्टेजबाट इजरायलले गाजामा ‘जेनोसाइड’ (नरसंहार) चलाएको धारणा राखेका थिए।
अर्को विषय बन्न पुग्यो, डकुमेन्ट्री नो अदर ल्यान्ड जसले युद्धका कारण रिक्त गाउँको कथाका साथै एउटै भूमिमा फरक अवसर र अवस्थामा बाँचेका समकक्षीको कथा भन्छ। महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड पाएपछि २४ फेब्रुअरीको साँझ यसका चार निर्माता/निर्देशकमध्ये इजरायली युवल अब्राहम र प्यालेस्टिनी बासेल आद्रा अवार्ड लिन स्टेजमा उक्लिएका थिए।
सोही क्रममा बासेलले इजरायलले प्यालेस्टाइनमाथि अवैधानिक युद्ध थोपरेको भन्दै विश्व समुदायलाई यसको प्रतिवाद गर्न आह्वान गरे। उनले आफ्नो देशमा इजरायलले दशौं हजारको संहार गरिरहेका वेला आफूलाई यो जितको खुशी मनाउन निकै गाह्रो भइरहेको बताउँदै इजरायललाई हतियार दिने गर्ने कार्य तुरुन्त रोक्न पनि जर्मनीलाई अनुरोध गरे। उनीसँगै उभिएका अब्राहमले पनि तुरुन्त युद्धविरामको आह्वान गरे। उनले भने, ‘दुई दिनमा हामी फेरि त्यस्तो भूमिमा फर्किनेछौं, जहाँ हामी बराबर छैनौं... युद्धविराम अहिलेको आवश्यकता हो।’
जर्मनीका नेताहरूले बासेलको भनाइको प्रतिवाद गरेका छन्। २८ फेब्रुअरीको वाशिङटन पोस्टमा प्रकाशित समाचार अनुसार बर्लिन शहरका मेयर काइ वागनेरले ‘बासेलको भनाइ एकतर्फी र अस्वीकार्य’ भएको टिप्पणी गरेका छन्। उनले बासेलको विचार ‘एन्टिसेमेटिक’ (यहुदी विरोधी) भएको आरोप पनि लगाएका छन्। साथै, त्यस्तो अभिव्यक्तिका लागि मञ्च प्रदान गरेको भनेर बर्लिन महोत्सवका आयोजकको पनि आलोचना गरेका छन्।
बासेलभन्दा पनि चर्को तारोमा परेका छन्, इजरायली निर्देशक अब्राहम। वाशिङटन पोस्टले उनीसँगको टेलिफोन संवादका आधारमा लेखे अनुसार उनलाई ‘युद्ध विरोधी’ भाषणपछि ज्यान मार्ने धम्की आएका छन्। “मलाई एअरपोर्टमै आएर मार्ने धम्कीहरू आएपछि म उडान रद्द गरेर बसेको छु,” वाशिङटन पोस्टले उनलाई उद्धृत गर्दै लेखेको छ। धम्कीपछि इजरायलमा रहेका उनका परिवारका सदस्य पनि घर छोडेर सुरक्षित स्थानमा गएका छन्।
जर्मनीकै मन्त्री क्लाउडिया रुथ पनि आलोचनाको शिकार भएकी छन्। इजरायली र प्यालेस्टिनी निर्देशकहरूको भाषण सुनेर दर्शकदीर्घाबाट ताली बजाएको भन्दै उनको आलोचना भएपछि जर्मनीको ‘संस्कृति र सञ्चार मन्त्रालय’ ले विज्ञप्ति जारी गरेर ‘कमिसनर रुथले यहुदी-इजरायली पत्रकार/फिल्ममेकर युवल अब्राहमले बोलेको राजनीतिक निकास र शान्तिपूर्ण सहअस्तित्वको समर्थनमा ताली बजाएको’ स्पष्टीकरण दिएको छ।
साथै, जर्मन सरकारका प्रवक्ता क्रिस्टियन हफम्यानले ‘७ अक्टोबरमा हमासले गरेको आतंककारी हमलाको कतै उल्लेख नगरी महोत्सवको मञ्चबाट एकतर्फी भनाइ मात्रै सम्प्रेषित गरिएको’ भन्दै यस विषयमा छानबिन गर्ने बताएको समाचार पनि प्रकाशित भएका छन्। आफ्नो प्रतिरक्षा गर्दै महोत्सव व्यवस्थापनले भने समारोहमा व्यक्त विचार आफ्नो धारणा नभई फिल्ममेकरहरूको भएको बताएको छ।
बिदा हुँदै गरेका बर्लिनालेका आर्टिटिस्क निर्देशक कार्लो सात्रियनले समारोहको एक सातापछि राजनीतिक फाइदाका लागि यो विवादलाई चर्काइएको भन्दै आपत्ति पनि प्रकट गरेका छन्। उनले महोत्सवको मञ्चले कलाकारलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्ने भन्दै उनीहरूले व्यक्त गरेका विचारलाई लिएर यति ठूलो बहस हुनुनपर्ने तर्क गरेका छन्।
अर्को सानोतिनो तरंग फेस्टिभलको पानोरमा सेक्सनको इन्स्टाग्राम ह्यान्डल ‘ह्याक’ भएको विषयले पनि ल्यायो। छोटो समयका लागि ह्याक गरेर यसबाट इजरायल विरोधी सामग्री पोस्ट गरिएको भन्दै बर्लिन महोत्सवले यसलाई आपराधिक कार्य भन्दै उजुरी दर्ता गराएको जनाएको छ।
अवार्ड समारोहमा अन्य विजेताहरूले पनि युद्धको विरोध गरेका थिए। इन्काउन्टरमा उत्कृष्ट निर्देशकको सिल्भर बेयर जित्ने ब्राजिलियन युलियाना आयोसले रूस-युक्रेनको कुरा उठाइन्। अवार्ड समारोहको दिन संयोगले युक्रेनमाथि रूसी हमलाको दोस्रो वर्ष पुगेको उल्लेख गर्दै उनले यो युद्ध बन्द गर्न अपील गरिन्। एन ओड टर्नका लागि शर्ट फिल्मको गोल्डन बियर जितेका अर्जेन्टिनी निर्देशक फ्रान्सिस्को लेजामाले त आफ्नो देशमा राष्ट्रपतिले मनपरी शासन चलाएको र कलाकारहरूलाई साह्रै गाह्रो अवस्था भएको भन्दै विश्व समुदायको ध्यान आकृष्ट गरे।
समग्रमा यस पटक फिल्मभन्दा बढी राजनीतिक विषयले नै फेस्टिभललाई चर्चाको केन्द्रमा राखिदियो।
अवार्डमा डकुमेन्ट्रीको वर्चस्व
१२ इयर्स अ स्लेभ, ब्ल्याक प्यान्थर, अस जस्ता फिल्मकी अभिनेत्री लुपिता न्योन्ग्योको अध्यक्षतामा रहेको कम्पिटिशन जुरीले फ्रान्स-सेनेगल-बेनिनको डकुमेन्ट्री डाहोमेलाई उत्कृष्ट फिल्मको गोल्डेन बेयरको हकदार मान्यो। बर्लिन कम्पिटिशनमा पहिलो पटक पुगेको नेपाली फिल्म मीनबहादुर भाम निर्देशित शाम्बालाले भने प्रतिस्पर्धामा नै चित्त बुझाउनुपर्यो।
‘गोल्डेन बेयर’ विजेता डकुुमेन्ट्री डाहोमे औपनिवेशिक कालमा लुटेर ल्याई फ्रान्सका संग्रहालयमा राखिएका २६ वटा कलाकृतिलाई २०२१ मा बेनिन फिर्ता लगिएको विषयमा बनेको छ। १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको बेनिनलाई १९७५ सम्म ‘रिपब्लिक अफ डाहोमे’ भनिन्थ्यो। यसकी निर्देशक माटी डिओपले यसअघि बनाएको फिल्म एटलान्टिक्सले २०१९ मा कान्समा ग्रान्ड प्रिक्स जितेको थियो।
कम्पिटिशन जस्तै इन्काउन्टर सेक्सनमा फ्रान्सको डकुमेन्ट्री डिरेक्ट एक्सनले उत्कृष्ट फिल्मको अवार्ड जित्यो। सन् २०१८ मा एउटा अन्तर्राष्ट्रिय हवाईमैदान निर्माणको विरोध गरेको सानो समूहको आन्दोलनबारे बनेको डकुमेन्ट्री हो यो। रोचक त के छ, भने फेस्टिभलको अघिल्लो संस्करण २०२३ मा पनि एक फ्रान्सेली डकुमेन्ट्री अन द अडामन्टले फेस्टिभलको सर्वोच्च अवार्ड गोल्डन बेयर जितेको थियो। यस वर्ष पनि अर्का फ्रान्सेली निर्देशक ब्रुनो डिमन्टले द एम्पाएरका लागि जुरी अवार्ड पाए।
५० हजार यूरो सहितको ‘फस्ट फिचर’ को अवार्ड भियतनामका निर्देशक फाम नोग्क लानले पहिलो फिचर फिल्म कु ली नेभर क्राइजका लागि पाए। प्रसिद्ध कोरियाली निर्देशक होङ स्याङ सोले आफ्नो नयाँ फिल्म अ ट्राभलर्स नीडका लागि ग्रान्ड जुरी प्राइज, सिल्भर बेयर पाए। फेस्टिभल निर्देशक मारिएट रिजेनवर्ग र आर्टिस्टिक डिरेक्टर कार्लो सात्रियनले नेतृत्व गरेका बर्लिनका पछिल्ला पाँच संस्करणमा होङ स्याङ सोका फिल्मले अवार्ड पाएको यो चौथो पटक हो। २०२० मा उनले द वुमन हु र्यानका लागि उत्कृष्ट निर्देशकको सिल्भर बेयर, २०२१ मा इन्ट्रोडक्शनका लागि उत्कृष्ट पटकथा, २०२२ मा द नोभलिस्ट्स फिल्मका लागि ग्रान्ड जुरी प्राइज पाएका थिए।
उत्कृष्ट निर्देशकको सिल्भर बेयर फिल्म पेपेका लागि डोमेनिक रिपब्लिकका नेल्सन कार्लो डि लोस सान्टोस एरिएसले पाए। पटकथाको सिल्भर बेयर फिल्म डाइङका लागि जर्मन म्याथिएस ग्लास्नरले पाए। यस्तै, द डेभिल्स बाथका सिनेमाटोग्राफर मार्टिन ग्लास्टिजले ‘आउटस्ट्यान्डिङ आर्टिस्टिक कन्ट्रिब्यूशन’ को सिल्भर बेयर पाए।
मुख्य भूमिकामा उत्कृष्ट अभिनय तर्फ अ डिफ्रेन्ट म्यान फिल्मका लागि सेबास्टिन स्टानले सिल्भर बेयर जिते भने सहायक भूमिकाका लागि फिल्म स्मल थिङ्स लाइक दिजका लागि एमिली वाट्सन उत्कृष्ट घोषित भइन्। शर्ट फिल्मतर्फ नेपालका सौरभ घिमिरेको फिल्म सङ्स अफ लभ एन्ड हेटले स्पेशल मेन्सन पायो। मिङ्सो लिम्बू र मीनबहादुर भामले यो फिल्म निर्माण गरेका हुन्।
मार्टिन स्कोरसेजी र स्टारहरू
कोभिड महामारीका कारण दुई वर्ष जति प्रभावित भएपछि २०२३ देखि पुरानै लयमा फर्किएको बर्लिनालेमा ठूला र प्रभावशाली स्टारको उपस्थिति पातलिंदै गएको भनेर आलोचना पनि भएको छ। यस वर्ष उपस्थित सबभन्दा ठूला स्टार थिए- मार्टिन स्कोरसेजी। हलिउडका यी लिजेन्ड निर्देशकलाई यस पालि बर्लिनमा ‘अनररी गोल्डेन बेयर’ प्रदान गरिएको थियो। गत वर्ष यो अवार्ड हलिउडका अर्का खम्बा मानिने स्टिवन स्पिलवर्गलाई प्रदान गरिएको थियो।
त्यस्तै, मार्टिन स्कोरसेजीले उत्कृष्ट निर्देशकको ओस्कर जितेको ज्याक निकोल्सन, लियोनार्डो डिक्याप्रियो र म्याट डेमनको मुख्य भूमिका रहेको फिल्म द डिपार्टेड प्रदर्शन गरिएको थियो। यसको प्रदर्शनमा भाग लिन म्याट डेमन बर्लिन आइपुगेका थिए। डेमनले नै अर्का स्टार बेन एफ्लेकसँग मिलेर निर्माण गरेको किलियन मर्फी अभिनीत स्मल थिङ्स लाइक दिज फेस्टिभलको ओपनिङ फिल्म थियो।
स्कोरसेजीले अवार्ड प्राप्त गरेको भोलि पल्ट पत्रकारहरूका अघि आफू भारतीय निर्देशक सत्यजित रेबाट अत्यन्त प्रभावित रहेको भन्दै आफ्नो मन्तव्य शुरू गरेका थिए। ट्याक्सी ड्राइभर, रेजिङ बुल, ग्याङ्स अफ न्यूयोर्क, आइरिसम्यान र यस वर्षकै किलर अफ दी फ्ल्वार मूनका निर्देशक स्कोरसेजीले सिनेमालाई व्यक्तिको अभिव्यक्तिको माध्यमका रूपमा पत्रकार सम्मेलनमा चित्रण गरे। ८१ वर्षीय यी निर्देशकले हरेक व्यक्तिले आफ्नो विचार व्यक्त गर्न चाहने भन्दै जसले त्यसलाई व्यक्त गर्ने विधा पहिल्याउन सक्छ, त्यो नै कलाकार हुने तर्क गरे। उनले एउटा राम्रो कलाबारे धेरै मानिसलाई बुझाउन र यसको चर्चा धेरै मानिससम्म पुर्याउन मिडिया र समीक्षकको ठूलो भूमिका हुने धारणा राखे।
नयाँ माध्यमहरूको विकासले गर्दा के सिनेमा मर्दै छ? भन्ने प्रश्नमा मार्टिनले भने- ‘जसरी कला कहिल्यै मर्दैन, त्यसै गरी सिनेमा पनि कहिल्यै मर्दैन।’ सिनेमाले जसरी मानिसको संवेदनालाई छुने, हल्लाउने र उद्वेलित बनाउने शक्तिशाली अर्को माध्यम नभएको दाबी गर्दै उनले प्रविधिको विकाससँगै यसमा परिवर्तन आए पनि नयाँ नयाँ रूपमा जीवित रहिरहने बताए।
हलिउडका दुई अभिनेताहरू किलियन मर्फी र एडम स्यान्डलर पनि बर्लिनालेमा आआफ्ना नयाँ फिल्मको प्रिमियरमा उपस्थित थिए। मर्फी ओपनिङ फिल्म स्मल थिङ्स लाइक दिजका लागि आएका थिए भने स्यान्डलरको मूख्य भूमिका रहेको स्पेसम्यान बर्लिनाले स्पेशलमा अप्रतिस्पर्धी फिल्मका रूपमा देखाइएको थियो। लामो समयदेखि अन्तरिक्षमा रहेको खगोलशास्त्रीको मनोवैज्ञानिक अवस्था चित्रण गर्ने यो फिल्मले खासै गतिलो समीक्षा भने प्राप्त गर्न सकेन।
गत वर्ष बर्लिनमा ‘इन्टरन्याशनल कम्पिटिशन जुरी’ की प्रमुख हलिउड अभिनेत्री क्रिस्टिन स्टुअर्ट यस वर्ष आफ्नो नयाँ फिल्म लभ लाइज ब्लीडिङको प्रिमियरमा सहभागी भइन्।
आफ्नो पुष्पा शृंखलाको मार्केटिङका लागि यसका स्टार अलु अर्जुन पनि आइपुगेका थिए। अर्का भारतीय अभिनेता मनोज बाजपेयी पनि आफ्नो फिल्म द फेबलको प्रिमियरका लागि बर्लिन पुगेका थिए। इन्काउन्टर सेक्सनमा छनोट भएको यो फिल्म ३० वर्षको अवधिमा बर्लिनमा अवार्डको प्रतिस्पर्धामा छनोट भएको पहिलो भारतीय फिल्म थियो। भारतका अन्य दुई फिल्म हिन्दी भाषाको इन द बेली अफ अ टाइगर र तमिल भाषाको कोत्तुकालीको पनि प्रदर्शन गरिएको थियो।
कोरियाली स्टार दोङ ली पनि बर्लिनालेमा उपस्थित थिए। उनको फिल्म राउन्डअपः पनिशमेन्टको यहाँ प्रिमियर गरिएको थियो। यो फिल्म प्रतिस्पर्धामा भने थिएन।
फेस्टिभलमा हेर्ने मौका पाएका र उल्लेखनीय लागेका शाम्बाला, दि डेभिल्स बाथ, ग्लोरिया, स्ट्रेन्जर्स केस, फरेन ल्याङग्वेज, अबिडिङ नोथिङ, द फेबल, इन द बेली अफ अ टाइगर लगायतका केही नयाँ फिल्मबारे चर्चा त गर्नै बाँकी छ।