फाइनलमा नेपालको प्रतिस्पर्धी नेदरल्यान्ड्स
त्रिदेशीय टी-२० शृंखलाको उपाधिका लागि फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्।
समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेदरल्यान्ड्स फाइनलमा पुगेको हो। दुवै टोलीले एक-एक अंक बाँड्दा नेदरल्यान्ड्स पाँच अंक सहित अंकतालिकाको शीर्षस्थानमा पुगेको छ भने नामिबिया तीन अंकसहित तेस्रो स्थानमा रोकिएको छ।
शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले चार अंक जोडेको थियो। अब शीर्षस्थानमा रहेको नेदरल्यान्ड्स र दोस्रो स्थानमा रहेको नेपालबीच फाइनल खेल हुनेछ। फाइनल खेल मंगलबार हुनेछ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नामिबियाले ब्याटिङको निम्तो पाएको थियो। नामिबियाले १५ ओभरमा चार विकेट गुमाएर ९८ रन बनाउँदा पानी परेको थियो। केही समय लगातार पानी परेपछि खेल हुन सकेन। दुवै टोलीले एक-एक अंक बाँडेका छन्।
त्रिदेशीय शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबियाले प्रतिस्पर्धा गरेका थिए। समूह चरणका ६ खेलमध्ये नेदरल्यान्ड्स र नेपालले दुई-दुई खेल जितेका हुन्।
नामिबियाले एक खेलमा नेपाललाई पराजित गरेको थियो। पानी परेपछि नेदरल्यान्ड्स र नामिबियाबीचको एक खेल नतिजाविहीन भएको हो।