उपचुनावको सरगर्मी शुरू, बझाङमा यस्ता छन् आकांक्षी
निर्वाचन आयोगले आउँदो वैशाख १५ मा उपनिर्वाचन गर्ने मिति घोषणा गरेसँगै चुनावी सरगर्मी शुरू भएको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता तयारीमा जुट्न थालेका छन्।
आयोगले प्रतिनिधि सभा सदस्यका लागि इलाम २ र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’ चुनाव गराउन लागेको छ। २०७९ सालको निर्वाचनमा इलामबाट निर्वाचित सुवास नेम्वाङ र बझाङबाट निर्वाचित पृथ्वीबहादुुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेकाे हाे।
बझाङबाट निर्वाचित सिंहको गत असार २५ मा गाडी दुर्घटनामा परेर ज्यान गएको थियो। उनी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री थिए।
राजनीतिक दलहरू आन्तरिक कार्यक्रम रोकेर चुनावकाे तयारीमा जुटेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उपनिर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला अधिवेशन सारेको छ। एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसी जिल्ला अधिवेशन उपनिर्वाचनपछि मात्रै गर्ने निर्णय भएको बताउँछन्।
२०७९ मा भएको प्रदेश सभा निर्वाचनमा बझाङ १ ‘क’ मा एमालेका उम्मेदवार अफिलाल ओखेडा पराजित भएका थिए। माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासँगको गठबन्धनबाट कांग्रेसका उम्मेदवार सिंह निर्वाचित भएका थिए।
यो उपनिर्वाचनलाई अघिल्लो हार बिर्साउने अवसरका रूपमा लिएको एमाले प्रदेश अध्यक्ष जैसी बताउँछन्। एमालेबाट फेरि ओखेडाको नाम चर्चामा छ। संविधानसभा सदस्य समेत भइसकेका ओखेडा एमालेका केन्द्रीय सदस्य हुन्।
त्यस्तै, एमाले जिल्ला अध्यक्ष दमन भण्डारीको नाम पनि चर्चामा छ। दुवै जनाले टिकटका लागि ‘लबिइङ’ थालेका छन्।
अर्कातिर सत्तारूढ गठबन्धनले पनि तयारी शुरू गरेको छ। कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह यसअघि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले जितेको स्मरण गर्दै पुनः जित्ने गरी तयारी थालिएको बताउँछन्।
अहिले कांग्रेसभित्र दुई जनाको नाम चर्चामा छ। एकथरी नेता तथा कार्यकर्ता पूर्व सांसद पृथ्वीबहादुर सिंहकै छोरा अभिषेक सिंहलाई अगाडि सार्नुपर्ने पक्षमा छन्। उनीहरूले त्यसका लागि लबिइङ पनि थालेका छन्।
अभिषेक पनि राजनीतिमै संलग्न छन्। उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका-५ को वडाध्यक्षमा उम्मेदवार बनेका थिए। उनी स्वतन्त्र उम्मेदवार प्रेमबहादुर थापासँग ७० मतले पराजित भए। उनी अहिले कांग्रेसको जिल्ला कार्य समिति सदस्य छन्।
अर्काथरी नेता तथा कार्यकर्ता कांग्रेसका महासमिति सदस्य जगतप्रसाद जोशीलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा छन्। २०५४ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका जोशी २०७४ सालमा नेपाल तरुण दल क्षेत्र नं. (क) का क्षेत्रीय सभापति भएका थिए।
त्यस्तै, सत्तारूढ गठबन्धनकै माओवादीभित्र पनि छुट्टै उम्मेदवारी दिने चर्चा शुरू भएको छ। स्थानीयसँगै प्रदेशका माओवादी नेता पनि आफ्नै उम्मेदवार बनाउनुपर्ने पक्षमा छन्। माओवादीबाट जनक बुढाको नाम चर्चामा छ। उनी माओवादी सुदूरपश्चिम प्रदेशका सचिव हुन्।
२०७४ सालको निर्वाचनमा एमालेसँग गठबन्धन हुँदा यस क्षेत्रबाट एमालेका अर्जुनबहादुर थापाले टिकट पाएका थिए। थापा प्रदेश सभाको सभामुख पनि भए। २०७९ सालमा कांग्रेससँग माओवादीले गठबन्धन गर्दा कांग्रेसका सिंहले टिकट पाएका थिए। त्यति वेला माओवादीभित्र तीव्र असन्तुष्टि देखिएको थियो।
माओवादी सुदूरपश्चिमका सचिव बुढा पार्टी अस्तित्वका लागि पनि एकल चुनावमा जानुको विकल्प नभएको बताउँछन्। “दुई पटक निर्वाचन भइसक्यो तर हाम्रा मान्छेले हाम्रो चुनाव चिह्नमा तथा उम्मेदवारलाई भोट हाल्नै पाएका छैनन्,” बुढा भन्छन्, “माओवादीको चुनाव चिह्नमा भोट हाल्नै भुलिसकेका छन्। अझै पनि यस्तै हुने हो भने बझाङमा पार्टी विघटन गर्दा फरक पर्नेवाला छैन।”
माओवादीको जस्तै एकीकृत समाजवादीमा पनि आन्तरिक विवाद र बहस शुरू भएको छ। पार्टीको अस्तित्व जोगाउने वा अरूलाई बोकेर जाने भन्ने चर्चा भइरहेको एकीकृत समाजवादीका नेता बताउँछन्।
एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउन दबाब दिन थालेका छन्। केन्द्रीय सदस्य समेत रहेका सिंह बझाङ इन्चार्ज हुन्।
आन्तरिक दबाबबीच पनि एकीकृत समाजवादीका नेता भने गठबन्धन अनुसार जानुपर्ने बताउँछन्। एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष हर्कबहादुर सिंह भन्छन्, “अघिल्लो चुनावमा गठबन्धनकै साझा उम्मेदवारले जितेका थिए, अब पनि साझा उम्मेदवार बनाएरै जानुपर्छ।”
गत निर्वाचनमा निर्वाचित सिंहले १७ हजार ११२ मत पाएका थिए। त्यस्तै, एमालेका ओखेडाले १३ हजार ३३८ मत पाएका थिए। तेस्रो नम्बरमा रहेका राप्रपा नेपालका कर्णबहादुर खड्काको ४२८ र चौथो नम्बरमा रहेका राप्रपाका हरिलाल भट्टराईको ४०४ मत थियो।