यी हुन् राष्ट्रिय सभाबाट बिदा हुन लागेका २० सांसद
आज राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिंदै छ भने नयाँ सांसद सोमबार शपथ लिंदै छन्।
संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो। ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जनाको निर्वाचन भएको थियो भने तीन जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनीत भएका थिए।
पहिलो पटक निर्वाचित राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल गोलाप्रथाबाट तय भएको थियो। गोलाप्रथामा ६ वर्ष, चार वर्ष र दुई वर्ष कार्यकाल तोकिएको थियो।
त्यति वेला गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जनाको पदावधि आज सकिन लागेको हो। उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत हुन्।
आज बिदा हुन लागेका सांसदमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नौ जना छन्। राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिएको छ।
पदावधि सकिनेमा एमालेका सांसदमा दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुन्।
त्यस्तै, नेपाली कांग्रेसका चार जना सांसद रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थको पदावधि सकिएको छ।
नेकपा (माओवादी केन्द्र)का विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिएको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)का नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा)का प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि आज सकिंदै छ।
उनीहरूमध्ये १९ जना गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएर आइसकेका छन्। उनीहरूको फागुन २१ गते शपथ ग्रहण तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रपतिबाट एक जना मनोनीत हुन बाँकी छ।